सोलमा प्रदर्शन-राष्ट्रपतिको राजीनामा माग

तस्बिर स्रोत, Reuters
दक्षिण कोरियाको राजधानी सोलमा हजारौं मानिसहरु सडकमा उत्रेर एउटा भ्रष्टाचार विवादमा मुछिएकी राष्ट्रपति पाक गुन हेको राजीनामा मागेका छन्।
राष्ट्रपतिकी एकजना पुरानी मित्र तथा एक समुदायको नेताकी छोरीले राष्ट्रपतिमाथि अनुचित प्रभाव जमाएको आरोप लगाइएको छ।
राष्ट्रपतिकी मित्र चोय सुन शीलमाथि उनको नियन्त्रणमा रहेको संस्थालाई दशौं लाख डलर दिन व्यवसायीहरुलाई बाध्य पारेको, राष्ट्रपतिका सहयोगी रोज्नदेखि राष्ट्रपतिका पोशाक चयन गर्ने गरेको आरोप छ।
राष्ट्रपति पाकले शुक्रबार टेलिभिजनमा क्षमायाचना गरेकी थिइन्।
आरोप
राष्ट्रका नाममा सम्बोधन गर्दा उनले झण्डै आँशु झारेकी थिइन् र उनकी विश्वाशप्राप्त चोय संलग्न काण्डहरुलाई राष्ट्रपतिले 'मेरै गल्ती' भनेकी थिइन्।
राष्ट्रपतिले आफ्ना भाषणहरु सम्पादन गर्न चोयलाई दिएको स्वीकार गरेकी थिइन्।
चोयलाई बिहीबार गिरफ्तार गरिएको छ र उनीमाथि शक्तिको दुरुपयोग र धोखाधडी गरेको आरोप लगाइएको छ।
करिब ४० हजार प्रदर्शनकारीहरुमध्ये सोलमा आयोजना हुने विरोध प्रदर्शनमा सहभागी हुने अपेक्षा राखिएको छ।
तिनको रखवारी गर्न बीस हजार प्रहरी तैनाथ गरिएको छ।

तस्बिर स्रोत, AP
पानीका फोहोराहरु राजधानीका सडकमा राखिएका छन्।
आयोजकहरुले विरोध प्रदर्शनमा एकलाख जति सहभागी हुने बताएका छन्।
समर्थन
राष्ट्रपतिको औपचारिक निवासतर्फ जान खोज्ने प्रदर्शनकारीलाई रोक्न दर्जनौं प्रहरी बसहरु सीटी हल र राष्ट्रपतिको निवास रहेको ब्लु हाउस जाने चोक नजिकै पार्क गरिएका छन्।
पछिल्ला साताहरुमा हरेक दिनहुँजसो राष्ट्रपतिले राजीनामा गर्नुपर्ने माग राख्दै स-साना प्रदर्शनहरु भइरहेका छन्।
मिडियाहरुले अनुमान गरेको जस्तो राष्ट्रपतिले ब्लु हाउसमा कुनै जादुइ कर्मकाण्ड गरेको भन्ने अस्वीकार गरेकी छन् र उनका गतिविधिमाथि गरिने अनुसन्धान स्वीकार गर्ने बताएकी छन्।
यो काण्डपछि राष्ट्रपति पाकप्रति जम्मा पाँच प्रतिशत मात्र समर्थन बाँकी रहेको बताइएको छ जुन दक्षिण कोरियाका बहालवाला राष्ट्रपतिलाई प्राप्त भएको सबभन्दा कम समर्थन हो।
विपक्षीले उनले राजीनामा दिनुपर्ने या संसद्ले रोजेको प्रधानमन्त्रीलाई उनीपछिको दोश्रो व्यक्तिको रुपमा स्वीकार गर्नुपर्ने माग राखेको छ।








