थाइहरुलाई दिवंगत राजाको दर्शन गराइने

युवराज महा वजिरालङकर्नले कहिले राज्यभिषेक गर्नेछन् भन्ने सार्वजनिक गरिएको छैन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, युवराज महा वजिरालङकर्नले कहिले राज्यभिषेक गर्नेछन् भन्ने सार्वजनिक गरिएको छैन

हजारौं शोकाकुललाई ब्यांकको ग्र्याण्ड प्यालेसस्थित राजा पुमिपोन अदुन्यदेतको शव राखिएको राज सिंहासन हलमा प्रवेश गर्न अनुमति दिइएको छ।

दुइ हप्ताअघि राजाको निधन भएयता दरबारबाहिर मानिसहरुको भीड लागेको छ तर उनको शवपेटिका हेर्न अनुमति दिइएको यो पहिलोपटक हो।

अधिकारीहरुले राज्यभिषेक हलमा हरेक दिन १० हजार शोकाकुललाई प्रवेश गर्न दिइने बताए।

राजाको निधनमा एक वर्ष औपचारिक शोक चल्नेछ।

हातमा तस्वीर

८४ वर्षका समन डाओरुआङले भने, "म राति १ बजेदेखि यहाँ पर्खिरहेको छु।"

उनी दरबारबाहिरको लामो लाइनमा दिवंगत राजाको तस्वीर हातमा लिएर बसेका छन्।

उनले भने, "म रातभर सुत्न सकिनँ किनभने यहाँ आउन पाउँदा म असाध्यै रोमाञ्चित र गौरवान्वित भएको छु ।"

अर्की शोकाकुलले भनिन्, "म राजालाई सम्मान गर्न जान लागिरहेकी छु किनभने शोक व्यक्त गर्ने यो हाम्रो अन्तिम अवसर हो।"

दरबारबाट बाहिरिँदा कैयौं शोकाकुलले आँशु पुछेका थिए।

८८ वर्षमा दिवंगत राजा पुमिपोन थाइल्याण्डभर सम्मानित थिए र धेरैले उनलाई ईश्वरीय अंश ठान्थे।

युवराज महा वजिरालङकर्नको औपचारिक रुपमा कहिले राज्यभिषेक हुनेछ भन्नेबारे केही बताइएको छैन।

उनले आफ्ना पिताको निधनमा शोक मनाउन समय चाहेको सरकारले बताएको छ।

ब्यांककबाट बीबीसीका जोनाथन हेड भन्छन्आ, "आज बिहान कालो लुगा लगाएका थुप्रै मानिसहरुको बाक्लो भीड दरबारभन्दा केही परको बगैँचासम्म फैलिएको थियो।

अधिकारीहरुले दैनिक १० हजारलाई मात्र राजाको भव्य अस्थि पात्र हेर्न दिने बताएका छन्।

उक्त अस्थि पात्रमा पहिले राजाको अस्तु राखिन्थ्यो तर राजा पुमिपोनले आफूलाई शवपेटिकामा राख्न अनुरोध गरेका थिए।

उक्त शवपेटिकालाई भव्य अस्थी पात्रको पछाडि छिपाएर राखिएको छ।

चुनौती

थुप्रै मानिसहरु राजाको अन्तिम दर्शन गर्न आउने ठानिएको छ।

दरबारबाहिर हतार-हतार नयाँ शौचालयहरु बनाइँदैछ र फोहोर व्यवस्थापन चुनौतीका रुपमा देखिएको छ।

शहरका सबैतिर दिवंगत राजाका तस्वीर टाँगिएका छन्।

ट्रेन स्टेशन र शपिङ मलहरुमा उनले काम गरिरहेका दृष्यहरु देखाइरहेका छन्।

औपचारिक शोकको पहिलो चरण आगामी दुई हप्तामा अन्त्य हुनेछ, त्यसपछि जनजीवन सामान्य स्थितिमा फर्कने ठानिएको छ।

भावी राजाको औपचारिक चयन भइनसकेकाले मुलुकमा पुराना राजाको सम्झना र शोकमा डुबेको छ।

उनको समाधि कम्तीमा एकवर्ष सम्म गरिनेछैन।"