एन्टार्कटिकामा विशाल समुद्री जीव आरक्ष

पेन्गुइन चरा तथा अन्य सामुद्रिक जीवको संरक्षण गर्ने आरक्षको लक्ष्य छ
तस्बिरको क्याप्शन, पेन्गुइन चरा तथा अन्य सामुद्रिक जीवको संरक्षण गर्ने आरक्षको लक्ष्य छ

वर्षौं लामो अन्तर्राष्ट्रिय वार्तापश्चात २४ देश तथा यूरोपेली युनियनका प्रतिनिधि बीच एन्टार्कटिकाको रस समुद्री क्षेत्रमा विश्वकै सबभन्दा विशाल सामुद्रिक जीव आरक्ष बनाउने सहमति भएको हो।

उक्त इलाकाको क्षेत्रफल साढे पन्ध्र लाख वर्ग किलोमिटर बराबर छ र अब त्यहाँ ३५ वर्षका निम्ति जथाभावी माछा मार्न पाइने छैन।

उक्त स्थानको सुरक्षा प्रशासनको जिम्मा अमेरिका र न्यूजील्याण्डलाई दिइएको छ।

यसअघि रुसले सहमति जनाएको थिएन।

तर न्यूजील्याण्डका विदेशमन्त्री मुर्रे मक्कल्लीले २४ सहभागी राष्ट्रहरुमाझ दिगो ढंगले माछा मार्ने तथा वैज्ञानिक अनुसन्धान गर्ने विषय र सामुद्रिक जीव संरक्षणलाई सन्तुलन मिलाउने गरी अब सहमति भएको बताए।

प्रशंसा

वातावरणवादीहरुले उक्त सहमतिको प्रशंसा गर्दै त्यसले पृथ्वीको सबैभन्दा सुन्दर सामुद्रिक जैविक विविधताको संरक्षण हुने बताएका छन्।

उनीहरुले अन्तर्राष्ट्रिय जल क्षेत्रमा थप यस्ता आरक्ष पनि अब बन्ने विश्वास व्यक्त गरेका छन्।

अष्ट्रेलियाको होबार्टमा भएको सहमतिमा एकमतले रस समुद्रलाई मराइन प्रोटेक्टेड एरिया घोषणा गरिएको छ।

हुन त रस समुद्रले दक्षिणी महासागरको केवल दुई प्रतिशतमात्र ओगट्छ, तर त्यहाँ विश्वभरका एडिली प्रजातिका पेन्गुइन मध्ये ३८ प्रतिशतको वासस्थान छ।

सो आरक्षको प्रस्ताव न्यूजिल्याण्ड तथा अमेरिकाले गरेका थिए।

यस सहमति अन्तर्गत अब सो ठाउँबाट कुनै पनि सामुद्रिक जीव तथा खनिज लैजाने पाइने छैन।

तर अनुसन्धानका निम्ति भने केही विशेष स्थलबाट विशेष खालका माछा लग्न पाइनेछ।