द्रूतमार्ग नेपाल आफैले बनाउने: प्रधानमन्त्री

तस्बिर स्रोत, .
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बहुचर्चित निजगढ-काठमाण्डू फास्ट ट्र्याक (द्रूतमार्ग) बनाउने जिम्मा भारतीय कम्पनीलाई नदिने बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री विमलेन्द्र निधि भारतीय कम्पनीलाई दिने पक्षमा रहेको समाचार आइरहेका बेला प्रधानमन्त्रीले नेपालले नै बनाउने पूर्वनिर्णयबाट पछि नहट्ने प्रतिवद्धता दोह-याएका हुन्।
प्रधानमन्त्री दुई सातापछि भारत भ्रमणमा जाने अनौपचारिक तयारीका माझ विभिन्न क्षेत्रका विज्ञ सहितको टोली उनको ध्यानाकर्षण गराउन गएको थियो।
दुविधा

समग्र विकास आयोजना निर्माणबारे चासो देखाएको समूहले विकास पूर्वाधार निर्माणमा भारत वा भारतीय कम्पनी त्यति भरपर्दो नभएको आशय प्रधानमन्त्री समक्ष राखेको थियो।
निजगढ-काठमाण्डू द्रूतमार्ग नेपाल आफैले बनाउनु पर्ने सुझाव उसले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रको पहिलो बुँदामै राखिएको छ।
उक्त समूहका संयोजक तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार प्रधानमन्त्रीले पूर्ववर्ती सरकारलाई नेपाल आफैले बनाउने निर्णयमा पुग्न आफूहरुको निर्णायक राय रहेको बताएका थिए।
प्रधानमन्त्रीलाई उद्धृत गर्दै क्षेत्रीले भने, "द्रूतमार्ग नेपाल आफैले बनाउने कुरा मैले सार्वजनिक रुपमै भनिसकेको छु, यसमा दुविधा नरहोस भन्ने प्रधानमन्त्रीको भनाइ थियो।"
माथिल्लो कर्णाली
उक्त समूहले भारतीय कम्पनीलाई निर्माण जिम्मा दिइसकिएको माथिल्लो कर्णाली जलविद्युत आयोजनाबारे पनि प्रधानमन्त्री समक्ष कुरा उठाएको थियो।
क्षमता अभिवृद्धि गरेर करीब ४ हजार मेगावाट विद्युत उत्पादन गर्ने सम्भावना नौ सय मेगावाट उत्पादनको जिम्मेवारी दिने निर्णयका कारण कुण्ठित हुन पुगेको एकथरीको मत छ।
त्यस्तै मत राख्ने संयोजक क्षेत्रीले भने, "४१८० मेगावाट बिजुली उत्पादनको सम्भावना खोज्ने कि ९ सय मेगावाटमा चित्त बुझाएर पर्खेर बस्ने भन्ने छनौट नेपाल र नेपाली जनतालाई दिनु पर्ने कुरा राख्यौं।"
तर प्राकृतिक श्रोतको उपयोगमा नेपाल र नेपाली जनता नठगिउन् भन्नेमा सजग रहेको बताए पनि प्रधानमन्त्रीले उक्त विषयमा प्रष्ट जवाफ नदिएको क्षेत्रीको भनाइ थियो।







