'प्रहरीबाटै ट्राफिक नियम उल्लंघन'

तस्बिर स्रोत, .
- Author, हरिदेवी रोकाया
- Role, बीबीसी नेपाली सेवा
कानुन नै संशोधन गर्दे केही महिना अघिदेखि ट्राफिक प्रहरीले ट्राफिक नियममा निकै कडाइ गरिरहेको बेला प्रहरी स्वयमले नै ठाउँ, ठाउँमा ट्राफिक नियम उल्लंघन गरिरहेको पाइएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन्।
खासगरी राजधानी काठमाण्डुमा ट्राफिक जामको समयमा एकतर्फी बाटोमा कतिपय प्रहरीले गाडी गुडाउने, निषेधित क्षेत्रमा पार्किङ गर्ने र जहाँ पायो त्यहिी गाडी रोक्ने गरेको उनीहरुको भनाइ छ।
तर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेको पाइए प्रहरीलाई पनि नछाड्ने बतायो।

तस्बिर स्रोत, .
सडकमा पैदल हिड्ने वा स्कुटर चलाउने क्रममा प्रहरी आफैले ट्राफिक नियमको उल्लंघन गरेको मैले कैयौं पटक देखेकी छु।
पालो
केही दिनअघिको घटना हो -- म र अन्य कैयौं सवारी चालक निकै लामो जाममा फसिरहेका थियौं र अघि बढ्न पालो कुरिरहेका थियौं।
तर एउटा ट्राफिक प्रहरीको भ्यान सडकको गलत साइडबाट लेन नियम मिचेर हुइँकियो।
नजिकैको ट्राफिक प्रहरीले नियम मिच्ने प्रहरीको भ्यानलाई कारवाही गर्नु त परैको कुरा, चेतावनीमूलक सिठ्ठी समेत बजाएन।
सामान्यतया आपत्कालिन काममा खटिने एम्बुलेन्स, वारुणयन्त्र जस्ता सवारीसाधनलाई साइरन वा विशेष बत्ती बालेर सवारी चलाउन पाउने नियम छ।
तर कतिपय प्रहरी अधिकारीले जरुरी नपर्दा पनि जाम छल्ने, लेन मिच्ने वा निषेधित एकतर्फी बाटो प्रयोग गर्ने गरेको सर्वसाधारण बताउँछन्।
नियम पालना
ट्राफिक नियम पालना गर्न रुचाउने काठमाण्डुका एक मोटरसाइकल चालक अजय श्रेष्ठले गुनासो गर्दै भने, “ठूलठूला पदका सरकारी मान्छेले जे गर्दा पनि हुन्छ। सबै दुःख हामी जस्तालाई त हो नि। ‘वान वे’ मा हामीलाइ कारवाही हुन्छ उनीहरु मज्जाले जान्छन्। आवश्यक काम परे त उनीहरुलाइ छुट हुन्छ, तर काम बिना पनि ‘वान वे’मा जान्छन्। मन लागे बीच चोकमै रोकेर बस्दिन्छन्। नो पार्किङमा उनीहरुकै गाडी हुन्छ। उनीहरु त मनमर्जी भैहाल्यो नि, जहाँ जे गर्दा नि हुन्छ।“

तस्बिर स्रोत, .
सरकारले केही महिना अघि मात्र सवारी तथा यातायात व्यवस्था ऐनलाई संशोधन गर्दे नियम उल्लंघन गर्ने सवारीचालकले तिर्नुपर्ने जरीवाना शुल्क पनि बढाएको थियो।
उक्त संशोधनमार्फत ट्राफिक संकेत उल्लंघन गर्ने, गलत साइडबाट सवारी चलाउने र अवस्था ठीक नभएको सवारी साधन चलाउने लगायतका २० कसुरमा चालकविरुद्ध कडा कारवाही गर्न सकिने व्यवस्था गरिएको छ।
तर कानुनको रक्षक भनिने प्रहरीहरुले यी नियमको उल्लंघन गरिरहेको गुनासो गर्छन् एक पैदलयात्रु शम्भु श्रेष्ठ।
“जनतालाइ नै पालना गर भनेपछि आफू पनि पालना गरेर हिँड्नुपर्यो। आफूले पनि ध्यान दिनु पर्यो। नियम कानुन भनेको सबैलाइ लाग्नु पर्छ,” श्रेष्ठले भने।
गुनासो
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालको भनाइमा प्रहरी स्वयंले ट्राफिक नियम उल्लंघन गर्ने गरेको गुनासो उनीकहाँ समेत आउने गरेको छ।
“जसले ट्राफिक नियमको उल्लंघन गर्छ त्यो कारवाहीको दायरामा आउँछ, त्यो प्रहरी कर्मचारी नै किन नहोस। एउटा घटना मलाइ थाहा छ, प्रहरी कर्मचारीले चलाएको मोटरसाइकलमा तीनजना बसेको। ट्राफिक जरीवाना जति लाग्नु पर्ने थियो त्यो हिसाबले हामीले चालकलाई कारवाही गर्यौं। त्यसैगरी गलत ठाँउमा पार्किङ गरेको प्रहरी गाडी थियो त्यसलाई हामीले कारवाही गर्यौं। चाहे त्यो कुनै पनि निकायको होस्, प्रहरीहरु कारवाहीमा परेका छन्,“ अर्यालले भने।
ट्राफिक प्रहरीका अनुसार नेपालमा औसतमा दैनिक पाँच जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन्।
दुर्घटनाको मुख्य कारण सडक यात्रालाई सुरक्षित तुल्याउन बनाइएका ट्राफिक नियमहरुको उल्लंघन नै हो।
तर उल्लंघनको आरोपबाट प्रहरी पनि अछुतो रहेन।








