दक्षिण सुडान: राष्ट्रपति-उपराष्ट्रपतिका फौजबीच लडाइ

दक्षिण सुडानमा राष्ट्रपति र उपराष्ट्रपति समर्थक फौजहरुबीच भीडन्त भएको छ
तस्बिरको क्याप्शन, दक्षिण सुडानमा राष्ट्रपति र उपराष्ट्रपति समर्थक फौजहरुबीच भीडन्त भएको छ

दक्षिण सुडानका उप राष्ट्रपति रियक मचारका सैन्य प्रवक्ताले राष्ट्रपति साल्भा कीर समर्थक फौजसँग आफ्ना फौजको पुन: लडाइ शुरु भएको बताएका छन्।

कर्णेल विलियम गटीयाथले बीबीसीलाई भने – उपराष्ट्रपति मचारको राजधानी जुबास्थित निवास र मुख्य सैनिक कार्यालयमा आक्रमण गरिएको छ।

उनले दुवै पक्षका सयौं सैनिक मारिएका बताए। सरकारका प्रवक्ता माइकल मकुएइले परिस्थिति नियन्त्रणमा ल्याइएको बताए।

विहिबार शुरु भएको झडप मचारका फौजले आइतबार बिहान आफ्नो ब्यारेकमाथि आक्रमण भएको बताएपछि उत्कर्षमा पुगेको थियो।

आलोचना

संयुक्त राष्ट्र संघले गृहयुद्ध अन्त्य गर्न गरिएको शान्ति सहमति कार्यान्वयन गर्न दुवै पक्ष प्रतिबद्ध नरहेको देखिएको भन्दै आलोचना गरेको छ।

संयुक्त राष्ट्र संघीय प्रतिनिधिहरुले जुबाको जेबेल क्षेत्रको बाहिरी भेगमा रहेको उनीहरुको मुख्यालयमा भीषण गोली हानाहानको आवाज सुनिएको बताएका छन्।

राष्ट्रपति साल्भा कीर र उप राष्ट्रपति रियक मचारका समर्थकबीच केहि दिन यता लडाइ भइरहेको बेला यो झडपको खबर आएको छ।

विश्वको सबभन्दा नयाँ राष्ट्र सुडानमा शनिबार पाँचौ स्वतन्त्रता दिवस मनाइएन
तस्बिरको क्याप्शन, विश्वको सबभन्दा नयाँ राष्ट्र सुडानमा शनिबार पाँचौ स्वतन्त्रता दिवस मनाइएन

सन २०१५ गरिएको शान्ति सहमति पूर्ण कार्यान्वयन हुन नसक्दा हिंसाले पुन अस्थिरता हुने हो कि भन्ने त्रास बढाएको छ।

भीषण गोलाबारी

आइतबार जुबाको गुडेले र जेबेल भेगमा भीषण गोली हानाहान भएको खबर प्राप्त भएका छन्।

जुबामा रहेका एकजना सहायताकर्मीले समाचार संस्था रोयटर्सलाई भने- "जेबेल क्षेत्रमा हामीले करिब ३०-४० मिनेट भीषण गोलाबारी भएको सुन्यौं।"

बीबीसीकी विश्व सेवा अफ्रिका सम्पादक मेरी हार्परको विश्लेषण छ: दक्षिण सुडानमा डिसेम्बर २०१३ मा गृहयुद्ध शुरु हुनु अघिका दिनको जस्तै परिस्थिति छ। गृहयुद्धमा दशौं हजार मारिएका थिए र बीस लाख मानिस विस्थापित भएका थिए।

जुबामा गोलीका आवाजहरु सुनिदै गर्दा र टाउकोमाथि हेलिकप्टरका आवाजहरु गुञ्जिँदै गर्दा परिस्थिति साम्य पार्न र झडपहरु नफैलिउन् भनेर भित्रभित्रै प्रयत्नहरु भइरहेका छन्।

तर कियर र मचार तथा उनीहरुका फौजहरुबीच ठूलो अविश्वास कायम छ। नेताहरु आफ्ना फौज नियन्त्रण गर्ने संघर्षमा पनि हुन सक्छन्।

थुप्रै पटक शान्ति सहमति गरिएका छन् तर कसैले पनि अहिलेसम्म स्थायी स्थिरता दिन सकेका छैनन्।