यूकेका राजकुमारदेखि प्रधानमन्त्रीसम्ममा 'विस्मय' जगाउने ट्रम्पको त्यो भनाइ

तस्बिर स्रोत, AFP via Getty Images
- Author, टमस म्याकिन्टोस
ब्रिटिश राजकुमार ह्यारीले अफगानिस्तानमा तैनाथ नेटो सेनाले गरेको बलिदानबारे "सत्यता र सम्मानका साथ" कुरा गरिनुपर्ने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा सहयोगी देशहरू अग्रपङ्क्तिबाट "थोरै पछि" बसेको दाबी गरेपछि ड्यूक अफ सक्सिसले यस्तो प्रतिक्रिया दिएका हुन्।
अफगानिस्तानमा दुई पटक खटिएका ह्यारीले शुक्रवार भने, "मैले त्यहाँ सेवा गरेको छु। मैले त्यहाँ जीवनपर्यन्तका साथीहरू बनाउनुका साथै आफ्ना साथीहरू गुमाएको पनि छु।"
सङ्घर्षका क्रममा ज्यान गुमाएका नेटो सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले यस्तो बताएका हुन्। उक्त सङ्घर्षमा ज्यान गुमाउनेमा ४५७ जना ब्रिटिश सैनिक पनि छन्।
राजकुमार ह्यारीले बिहीवार एक अन्तर्वार्तामा डोनल्ड ट्रम्पले दिएका विवादास्पद अभिव्यक्तिप्रति प्रतिक्रिया जनाएका हुन्।
ट्रम्पको उक्त भनाइबारे अन्तर्राष्ट्रिय सहयोगी राष्ट्रहरूबाट कडा निन्दा भइरहेको छ।
यूकेका प्रधानमन्त्री सर कीअर स्टार्मरले उक्त टिप्पणीलाई "अपमानजनक र विश्मयकारी" भनेका छन्।
नेटोको भूमिका

तस्बिर स्रोत, PA Media
सन् २००१ को सेप्टेम्बर ११ को घटनापछि नेटोको सामूहिक सुरक्षा प्रावधान लागू भएसँगै यूकेसहित अन्य राष्ट्रहरूले अमेरिकासँगै अफगानिस्तानमा सहभागिता जनाए।
राजकुमार ह्यारीले भने, "सन् २००१ मा नेटोले इतिहासमै पहिलो र अहिलेसम्मको एक पटकमात्र 'अनुच्छेद ५' लागू गरेको थियो। यसको अर्थ साझा सुरक्षाको उद्देश्यमा प्रत्येक सहयोगी राष्ट्र अमेरिकासँग उभिन बाध्य थियो। सहयोगी राष्ट्रहरूले उक्त आह्वान स्वीकार गरे।"
उनले थपे, "हजारौँको जीवन सधैँका लागि परिवर्तन भयो। आमाबाबुले आफ्ना छोराछोरी गुमाए। कतिपय बालबालिका बिना आमाबाबु हुर्किन बाध्य भए। परिवारजनले आज पनि त्यसको मूल्य भोगिरहेका छन्।"
"यी बलिदानहरूबारे सत्य र सम्मानका साथ कुरा गरिनुपर्छ किनभने हामी सबै कूटनीति र शान्तिको रक्षा गर्न अझै पनि एकजुट र निष्ठावान् छौँ।"
ट्रम्पले के भनेका थिए

तस्बिर स्रोत, Reuters
ट्रम्पले 'फक्स न्यूज'लाई दिएको अन्तर्वार्तामा अफगानिस्तानमा तैथान नेटो सेनाबारे टिप्पणी गरेका थिए। त्यसमा ट्रम्पले भनेका थिए : "हामीलाई उनीहरूको कहिल्यै खाँचो परेन। वास्तवमा उनीहरूसँग हामीले कहिल्यै केही मागेनौँ पनि। उनीहरूले केही सैनिक अफगानिस्तान पठायौँ भन्ने छन्… र पठाए पनि तर उनीहरू अलिक पछि बसे, अग्रपङ्क्तिबाट केही टाढा बसे।"
साथै ट्रम्पले अमेरिकालाई "खाँचो परेका बेला" उक्त सैन्य गठबन्धन अमेरिकाका निम्ति उपस्थित हुनेबारे आफूलाई "यकिन नभएको" पनि बताए।
ब्रिटेनका सबैजसो राजनीतिक दलहरूले ट्रम्पको उक्त भनाइको निन्दा गरेका छन्। ह्यारीको प्रतिक्रिया आउनुअघि स्टार्मरले आफूले "त्यस किसिमले गलत बोलेको भए अवश्य माफी माग्ने थिएँ" भनेका थिए।
स्टार्मरले भने : "म उनीहरूको साहस, बहादुरी र आफ्नो देशका लागि उनीहरूले गरेका बलिदान कहिल्यै भुल्ने छैन।"
"धेरैजना घाइते पनि भए, केही जीवन नै बदलिने किसिमले चोटग्रस्त भए।"
"म राष्ट्रपति ट्रम्पका टिप्पणीहरू अपमानजनक र साँच्चै स्तब्ध पार्ने किसिमका मान्दछु र मलाई आश्चर्य छैन कि ती टिप्पणहरूले मारिएका वा घाइते भएकाका प्रियजनहरूलाई कस्तो पीडा दिएको छ।"
यूकेबाहेक अन्यत्रका सरकारका मन्त्रीहरूले पनि ट्रम्पको टिप्पणीको आलोचना गरेका छन्। अफगानिस्तानमा अग्रमोर्चामा रहेर सेवा गर्ने ३३,००० पोलिश सैनिकमध्ये रहेका पोल्यान्डका विदेशमन्त्री रडोस्लाव सिकोर्स्कीले भने : "हाम्रा सैनिकहरूको सेवाको उपहास गर्न कसैलाई अधिकार छैन।"
क्यानाडाका राष्ट्रिय रक्षामन्त्री डेभिड जे म्याकजिन्टीले भने : "क्यानाडाका पुरुष र महिला सुरूवातदेखि नै मैदानमा थिए। हामीलाई त्यसो गर्नुपरेकाले होइन तर किनभने यो सही कुरा थियो।"
उनले आफ्ना १५८ सैनिकहरूले कान्दाहार प्रान्तमा बलिदान गरेको बताए।
अफगानिस्तान युद्धका समयका नेटो प्रमुख यप डे हप स्केफरले बीबीसी वर्ल्ड सर्भिससँग भने : "कुनै पनि अमेरिकी राष्ट्रपतिसँग तिनीहरूको योगदानलाई अपमानजनक ढङ्गमा प्रस्तुत गर्ने अधिकार हुनुहुँदैन जो अझै पनि शोकमा छन्।"
"म अमेरकी राष्ट्रपतिका तर्फबाट इमानदार माफीको अपेक्षा गर्छु।"
सन् २००१ को अक्टोबरमा अमेरिकाले तालिबानहरूलाई सत्ताबाट हटाउन अफगानिस्तानमा आक्रमण गर्यो। उसमाथि ओसामा बिन लादेन र ९/११ आक्रमणमा संलग्न अन्य अल कायदा नेता नेताहरूलाई लुकाएको आरोप थियो। उक्त युद्धमा नेटो देशहरूले पनि सेना र सैन्य उपकरणहरू उपलब्ध गराएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।







