फिलिपिनी राष्ट्रपति मृत्युदण्डको पक्षमा

duterte

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, डुटरटेले राष्ट्रपति भवनलाई अस्पतालमा बदलिदिने वाचा पनि गरेका छन्

फिलिपिन्सका राष्ट्रपति-निर्वाचित रोड्रिगो डुटरटेले मृत्युदण्डको व्यवस्था फर्काउने र अपराधीहरुलाई गोली हान्न सुरक्षाकर्मीलाई अनुमति दिने बताएका छन्।

विवादस्पद अभिव्यक्तिका लागि चिनिएका उनले राष्ट्रपति भवनलाई अस्पतालमा बदलिदिने वाचा पनि गरेका छन्।

कडा

एउटा पत्रकार सम्मेलनमा डुटरटेले मृत्युदण्डको सजायको व्यवस्था फर्काउन संसदलाई मनाउने बताए।

फिलिपिन्समा सन् २००६ मा मृत्युदण्डको सजाय खारेज भएको थियो।

तर क्रिस्टिना पालाबे जस्ता अधिकारीहरुले उनको पछिल्लो अभिव्यक्तिको विरोध गरेका छन्।

क्रिस्टिना भन्छिन्, “गरिबीको विषय कुनै पनि हिसाबले सम्बोधन गरिएको छैन। यदि गरिबले अपराध गर्छ भने त्यो गरीबि, असमानताले निम्त्याएको निराशाले हो। मृत्युदण्डको सूत्रले असमानताले भरिएको प्रणालीको समस्या समाधान गर्न सक्दैन”।

अनौठो

उनले गिरफ्तारीको प्रतिरोध गर्न खोज्ने शंकास्पद अपराधीहरुलाई गोली हान्न सुरक्षाकर्मीलाई आदेश दिने पनि उल्लेख गरे।

दक्षिणी शहर डेभाओको मेयर हुंदा अपराधविरुद्ध कडा कदम चालेकाले उनलाई कारबाही गर्ने व्यक्ति ‘द पनिसर’को नामले पनि मानिसहरु चिन्दथे।

उनको कार्यकालमा सुरक्षाकर्मीहरुले त्यहां १ हजारभन्दा बढी अपराधीलाई मारिदिएको बताइन्छ।

रक्सीमाथि प्रतिवन्ध लगाउने वाचा पनि डुटरटेले गरे।

भवनहरुभित्र धूमपान गर्न नदिइनेबारे पनि उनले धारणा राखेका छन्।

अर्को अनौठो कुरा त उनले के गरेका छन् भने, मनिलास्थित राष्ट्रपति भवनलाई अस्पतालमा बदलिदिने वाचा समेत जनाएका छन्।

सबै सरकारी अधिकारीलाई विमानमा सस्तो मानिने ‘इकोनोमी क्लास’मा यात्रा गर्न आदेश दिने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन्।