अर्का पूर्व प्रहरी प्रमुखविरुद्ध पनि मुद्दा

यसअघि यस्तै प्रकृतिको भ्रष्टाचार मुद्दामा दुई पूर्व र एक निलम्बित महानिरीक्षकमाथि मुद्दा दायर भइसकेको छ

तस्बिर स्रोत, ciaa facebook

तस्बिरको क्याप्शन, यसअघि यस्तै प्रकृतिको भ्रष्टाचार मुद्दामा दुई पूर्व र एक निलम्बित महानिरीक्षकमाथि मुद्दा दायर भइसकेको छ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामान ढुवानीमा भ्रष्टाचार गरेको भन्दै सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक सनतकुमार बस्नेतविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनीमाथि ९ करोड भन्दा बढी रकम हिनामिना गरेको दावी गरिएको छ।

यसअघि त्यस्तै प्रकृतिको अनियमितताको आरोपमा सशस्त्र प्रहरीकै अवकास प्राप्त र निलम्वित तीनजना महानिरीक्षकविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।

आरोप

अन्य पूर्व र निलम्बित महानिरीक्षकहरुलाई जस्तै सोमबार विपक्षी बनाएर मुद्दा दायर गरिएका सनत बस्नेतमाथि पनि अख्तियारले सामान नै ढुवानी नगरेर सञ्चालनमै नभएका ढुवानी कम्पनीको नामका झुठ्ठा बिल पेश गरेर भ्रष्टाचार गरेको आरोप लगाएको छ।

आयोगका अनुसार बयानका क्रममा तोकिएको धरौटीमा छुटेका बस्नेत सहित ७ जना विरूद्धको अनुसन्धान पुरा भएपछि सोमबार मुद्दा दर्ता गरिएको हो।

अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले भने, "बस्नेतले मातहतको निकायमा सामान ढुवानी गर्दा फर्जी बिल भर्पाइ बनाएको, सार्वजनिक खरीदको नियम कानुनको उल्लंघन गरेको देखिएकाले ९ करोड १५ लाख भन्दा बढीको बिगो माग दाबी गरिएको छ।"

सशस्त्र प्रहरीमा सामान ढुवानीकै विषयलाई लिएर अख्तियारले यसअघि पूर्वमहानिरीक्षकद्वय शैलेन्द्र श्रेष्ठ सहित ४ जना र वासुदेव ओली सहित ७ जना तथा निलम्वित महानिरीक्षक कोषराज वन्तसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिसकेको छ।

अनुसन्धान

हाल अनुसन्धानका क्रममा धरौटीमा छुटेका प्रमुखहरु विरुद्ध मुद्दा दर्ता गर्ने काम सकिए पनि अन्य अनुसन्धान जारी रहेको प्रवक्ता पुष्करले बताए, "यो विषयमा तत्कालीन अवस्थाका केही थप अधिकारी पनि संलग्न हुनसक्ने र अझै पनि केही मानिस पर्नसक्ने सम्भावना भएकोले अनुसन्धानको अर्को पाटो जारी रहेको छ।"

सोमबार विपक्षी बनाइएका बस्नेतविरुद्ध ९ करोड बिगो दावी गरिएको छ।

तीन महिनादेखि तीन वर्षसम्म कैद र विगो बमोजिम जरिवानाको प्रावधानसमेत रहेको भ्रष्टाचार निवारण ऐनको दफा अनुसार उनीमाथि कारवाहीको हुनुपर्ने अख्तियारको माग छ।

सशस्त्रको ढुवानी सम्बन्धी प्रकरण अहिलेसम्मकै ठूला भ्रष्टाचार प्रकरणमध्येको मुख्य मुद्दा बन्न पुगेको छ।