भ्रष्टाचारमा साना ठूला भनिँदैन: अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूहरुले भ्रष्टाचार मुद्दा दायर गर्दा साना ठूला भन्ने भेदभाव नगरी उजुरीको आधारमा कारवाही अघि बढाइरहेको बताएको छ।
व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिले आयोगले ठूला भ्रष्टाचारीलाई छोडेर सानालाई मात्रै छानबिन गरिरहेको भन्ने गुनासोबारे सचेत गराएपछि आयोगले यस्तो प्रतिक्रिया दिएको बताइएको छ।
प्रमुख आयुक्त लोकमान सिंह कार्कीसहितका पदाधिकारी उपस्थित बिहीबार बसेको समितिको बैठकले नीतिगत तहमा भ्रष्टाचार व्यापक हुने गरेको भन्दै त्यसलाई आयोगले हेर्नसक्ने गरी प्रकृया अघि बढाउन समेत निर्देशन दिएको छ।
प्रधानमन्त्री सुशील कोइरालाले सानालाई मात्रै नभइ सबैलाई छानबिनको दायरामा ल्याउन अख्तियारको ध्यानाकर्षण गराएको केही दिन नबित्दै सुशासन समितिले पनि त्यसबारे आयोगलाई सचेत गराएको हो।
भेदभाव
करीब एक घन्टा लामो बैठकमा समितिका सदस्यहरुले अख्तियारले ठूलालाई छोडेर सानालाई मात्रै छानबिन गरिरहेको भन्ने गुनासो व्यापक रुपमा आउने गरेको भन्दै त्यसो नगर्न निर्देशन दिएका थिए।
त्यसप्रति प्रमुख आयुक्त कार्कीको जवाफ उद्धृत गर्दै आयोगका प्रवक्ता श्रीधर सापकोटाले भने, “यो भ्रष्टाचारको कुरामा शून्य सहनशीलता हुन्छ, त्यहाँ साना र ठूला भन्ने हुँदैन, अहिले हामीले गरिरहेको काम सानो ठान्नुहुन्छ तपाइँहरु?”
आयोगले क्षेत्राधिकारभित्रका कसैलाई पूर्वाग्रह नराखी छानबिनको दायरामा ल्याइरहेको जवाफ दिँदै कार्कीले नीतिगत तहमा भएका भ्रष्टाचार हेर्नका लागि आवश्यक कानुनी व्यवस्थाका लागि संसदको ध्यानाकर्षण गराएका थिए।
त्यसबारे समितिले आवश्यक कानुनी प्रावधानको प्रकृया अघि बढाउन आयोगलाई निर्देशन दिएको समितिले जनाएको छ।
सभापति शेरधन राइले भने, “अहिले मन्त्रिपरिषद् र मन्त्रीले आफ्नो तहमा गर्ने नीतिगत निर्णयहरुको सन्दर्भमा अख्तियारले सिधै तान्न सक्ने कानुनी प्रावधान छैन, त्यसको लागि प्रकृया अघि बढाउन हामीले अख्तियारलाई निर्देशन गरेका छौं।”
अपारदर्शी
प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्का अध्यक्ष हुँदा १६ महिना अघि चर्को विरोधका माझ अख्तियारको प्रमुख आयुक्तमा नियुक्त भएका कार्की पहिलो पटक संसदीय समितिमा उपस्थित भएको विषयलाई धेरैले चासोका साथ हेरेका थिए।
तर बैठक अवधिमा पत्रकारहरुलाई प्रवेश नदिएपछि पारदर्शी कुरा गर्ने सुशासन समितिले नै आफ्नो छलफललाई गोप्य राखेको भन्दै कतिपयले आलोचना गरेका छन्।
संसदको नयाँ व्यवस्था अनुसार गठित सुशासन तथा अनुगमन समितिले अख्तियारले गरिरहेको कामकारवाहीबारे बुझ्न प्रमुख आयुक्त कार्कीसहितका पदाधिकारीलाई समितिमा बिहान ८ बजे बोलाएको थियो।
समितिमा केही ढिला पुगेका कार्कीले घरमा पितृ कार्य परेकोले ९ बजे निस्किसक्नुपर्ने बताउँदै छलफल छोट्याउन समितिलाई आग्रह गरेपछि समितिले सदस्यहरुलाई एक मिनेट मात्रै आफ्नो भनाइ राख्न निर्देशन दिएको थियो।








