स्पेनी राजाद्वारा गद्दी त्यागको घोषणा

स्पेनी राजा हुवाँ कार्लोस

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अचानक गद्दी त्याग गर्ने निर्णयलाई राजाको व्यक्तिगत इच्छा भनिएको छ

स्पेनका प्रधानमन्त्री मारियानो राहोएले ७६ वर्षीय राजा हुँवा कार्लोसले आफ्ना ४५ वर्षिय छोरा युवराज फेलिपेको लागि गद्दी त्याग गर्न लागेको बताएका छन्।

राजाले गद्दी त्याग गर्नु पर्नाको कारण उनले खुलाएनन्।

पछिल्ला वर्षहरुमा राजा हुँवा कार्लोसको स्वास्थ्य खस्कँदै गएको छ र राजाकी छोरी राजकुमारी क्रिस्टीना र ज्वाइँ संलग्न भनिएको एक भ्रष्टाचार काण्डले राज परिवारलाई धक्का लागेको छ।

सन् १९७५ मा स्पेनका सैन्य शासक जनरल फ्रान्कोको मृत्युपछि राजा हुँवा कार्लोसले गद्दी सम्हालेका थिए।

ख्याती

आफ्नो शासनकालमा हुँवा कार्लोसले विश्वमा ठूलो ख्याति कमाए तर पछिल्लो समयमा धेरै स्पेनीहरुको राजाप्रतिको विश्वासमा कमी आइरहेको छ।

सन् २०१२मा स्पेनमा आर्थिक संकट चर्किरहेको बेला राजा हुँवा कार्लोस् बोत्स्वानामा हात्तीको शिकार खेल्न गएको पत्ता लागेपछि उनको ख्यातिमा धक्का लागेको थियो।

म्याड्रिडस्थित बीबीसीका टम बरिज भन्छन्, “राजा हुँवा कार्लोसको गद्दी त्यागको खबरले धेरै स्पेनीहरुलाई अचम्मित बनाएपनि त्यसले उनीहरुलाई स्तब्ध पार्ने छैन।”

केही समयअघिसम्म राजदरबारका अधिकारीहरुले गद्दीत्यागको सम्भावना नकार्दै आएका थिए।

उनीहरुले राजाको ख्याति केहि घटेपनि फेरि बढ्ने क्रममा थियो।

गणतन्त्रवादी धारणा पनि स्पेनमा क्रमश: बलियो हुँदै गएको ठानिन्छ।

अहिले अचानक गद्दी त्याग गर्ने निर्णयलाई राजाको व्यक्तिगत इच्छा भनिएको छ।