आफूलाई पक्राउ गर्न भट्टराईको चुनौती

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्तिले पीडितहरुलाई आक्रोशित पार्न सक्छ

तस्बिर स्रोत, AP

तस्बिरको क्याप्शन, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्तिले पीडितहरुलाई आक्रोशित पार्न सक्छ

चितवनको भरतपुरस्थित जिल्ला प्रहरी कार्यालय अगाडि सोमबार आयोजित विरोधसभामा बोल्दै एकीकृत माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले द्वन्द्वकालमा घटेका घटनाको तत्कालिन क्रान्तिकारी जनसरकारको प्रमुखको हैसियतले आफुले नैतिक जिम्मेवारी लिने बताएका छन्।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको अभियोगमा पक्राउ परेकाहरुका आफन्तहरुले उक्त विरोधसभा आयोजना गरेका थिए।

नेता भट्टराईले द्वन्द्वकालमा भएका घटनालाई लिएर निर्दोष व्यक्तिहरुलाई पक्राउ गरेर मुद्दा चलाउने काम भएको र सरकारको हिम्मत भए आफुलाई मुद्दा चलाएर देखाउन चुनौती दिए।

मुद्दा

उनले भने, ''हिम्मत छ भने अध्यक्ष प्रचण्ड र तत्कालिन क्रान्तिकारी जनसरकार प्रमुखको हैसियतमा बाबुराम भट्टराईलाई मुद्दा चलाए हुन्छ।''

जिल्ला प्रहरी कार्यालय अगाडि नै भएको कार्यक्रममा गिरफ्तार गर्न चुनौती दिई रहँदा उल्टै भट्टराईलाई प्रहरीले सुरक्षा दिईरहेका थिए।

भट्टराईले यदि कोही कसैबाट द्वन्द्वकालको समयमा मानवअधिकार विरोधी काम भएको भए सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर छानबिन गर्न आग्रह गरे।

उनले, उनकै शब्दमा, माओवादीले लचकता अपनाई रहेको अवस्थामा माओवादीलाई हेपेर अगाडि बढ्न खोजे गम्भीर अवस्था आउन सक्ने चेतावनी पनि दिए।

सुराकी

सशस्त्र द्वन्द्वकालको बेला चितवनको रत्ननगरमा सुराकीको आरोपमा गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो ।

दोषीहरुलाई कारवाहीको माग गर्दै उनका बुवा नन्दप्रसाद अधिकारी र आमा गंगामाया अधिकारी अनसनमा बसिरहँदा घटनाका दोषीहरु पक्राउ गर्न सरकारमाथि दबाब परेको थियो।

उक्त घटनामा प्रहरीले रामप्रसाद अधिकारी र परशुराम पौडेललाई गिरफ्तार गरे पनि प्रमाण नपुगेको भन्दै रिहा गरेको थियो।

पछिल्लो पटक प्रहरीले उक्त घटनाका आरोपी ७२ वर्षीय छबिलाल पौडेल र भीमसेन पौडेललाई पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखेको छ ।