चाडपर्व लक्षित सुरक्षा रणनीति सोमवारदेखि

संविधानसभाको चुनाव र त्यसको मुखमै परेका ठूला चाडपर्वलाई ध्यानमा राख्दै नेपाल प्रहरीले सोमबारबाट नयाँ सुरक्षा रणनीति लागू गर्दैछ।
दशैंअघि सुरक्षा व्यवस्था कडा तुल्याएर तिहार र छठ लगत्तै आउने चुनावमा जनतालाई सुरक्षाको प्रत्याभूति दिने उद्देश्यले त्यसो गर्न लागिएको प्रहरीको भनाइ छ।
कारवाही
यसअघि भदौ १ गतेबाट लागू भएको सुरक्षा योजनाका कारण चोरी, लुटपाटमा कमी आएको तथ्यांकले देखाएपछि प्रहरीले फेरि नयाँ योजना लागू गर्न लागेको हो ।
दशैंमा धेरै मानिस राजधानी छोडेर घर जाने क्रममा ठगिने, लुटिने भएकाले सुरक्षा निगरानी कडा पारिने महानगरीय प्रहरी आयुक्तको कार्यालयले जानकारी दिएको छ ।
प्रहरी आयुक्त नवराज ढकालले भने, "आवागामन गर्ने नागरिकहरुलाई टिकट काट्ने ठाउंमा ठग्ने लुट्ने नहोस् भनेर सहायता कक्ष स्थापना गरी अनुगमन गर्नेछौं। दुर्वयहार वा ठगी गरेको भेटिए कारवाही गर्छौं।"
चुनावी माहोल
सुरक्षा योजनाले चाडपर्वमा हुने मदिरा सेवन, पटका पड्काउने कार्यलाई समेत कडा रुपमा निगरानी गर्ने व्यवस्था गरेको छ ।
चाडपर्वमा सुरक्षाको अनुभूति दिएर चुनावको माहोलसमेत शान्तिपूर्ण हुने सन्देश जनतालाई दिन खोजिएको ढकालले बताए ।
उनले भने,"चुनावको समययसम्म सुरक्षा सम्बन्धमा निश्चित भएर जाने वातावरण बनाउन र अहिलेदेखि परिस्थिति सुरक्षा निकायको नियन्त्रणमा राख्न त्यसो गरिएको हो।"
नयां सुरक्षा रणनीति दशैँ तिहार लगत्तै आउने निर्वाचनका लागि आवश्यक सुरक्षाको पूर्वाभ्यासको रुपमा पनि हेरिएको छ ।








