खिलराज फर्किए मेरो राजीनामा: शर्मा

कायममुकायम प्रधान न्यायाधीश दामोदरप्रसाद शर्माले सरकार प्रमुखको जिम्मेवारी निर्वाह गरिरहेका प्रधानन्यायाधीश खिलराज रेग्मी फेरी सर्वोच्च अदालत फर्किएमा आफूले राजीनामा दिने बताएका छन्।
नेपाल वार एशोसियसनको एउटा कार्यक्रममा बोल्दै शर्माले त्यस्तो घोषणा गरेको नेपाल वारका अध्यक्ष हरिकृष्ण कार्कीले जनाए।
मन्त्रिपरिषद अध्यक्ष रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा नदिँदा न्यायापालिकाको स्वतन्त्रतामा आँच पुगेको टिपप्णी तर्फ लक्षित गर्दै शर्माले उक्त कुरा बताएका हुन्।
अध्यक्ष कार्कीले भने, "अहिलेका प्रधानन्यायाधीशले खिलराज रेग्मीजी फेरी सर्वोच्च अदालत फर्किएमा म पनि काम गर्ने पक्षमा छैन, राजीनामा दिन्छु भन्नुभयो।"
आश्वस्त
प्रधानन्यायाधीश रेग्मीले सरकारको नेतृत्व सम्हालेपछि न्यायपालिकाको कायममुकायम प्रमुखको जिम्मेवारी पाएका शर्माले न्यायापालिकाको स्वतन्त्रतामा कहीं कतैबाट प्रभाव पर्न नदिने पटक पटक दोहर्याउँदै आएका थिए।
उनले त्यसप्रति थप आश्वस्त पार्न राजीनामाको प्रसंग झिकेको कार्कीले बताए।
कार्कीले भने "उहाँले न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राख्न हामी जुनसुकै मूल्य चुकाउन तयार छौं, त्यसैले न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेप हुन्छ भन्ने नसोंच्नुस, हामीले हुन दिन्नौं भन्नुभयो।"
सरकारले संविधानसभाको चुनाव मंसिरमा गराउने भनिएको छ।
त्यसपपछि कार्यकाल बाँकी रहने हुँदा रेग्मी फेरी प्रधानन्यायाधीशको जिम्मेवारीमा फर्किन सक्छन्।
त्यसैले न्यायापालिकाले सरकारका काम कारवाहीको पुनरावलोकन गर्न नसक्ने र स्वतन्त्र न्यायापालिका संकटमा पर्ने टिप्पणी भइरहेका छन्।
निशाना
वकीलहरुको छाता संगठन नेपाल वार प्रधानन्यायाधीशबाट रेग्मीको राजीनामा माग्दै सांकेतिक आन्दोलनमा छ।
शर्माले आन्दोलनको निशाना न्यायापालिकालाई नबनाउन आग्रह गरेका छन्।
उनको भनाई उद्धृत गर्दै कार्कीले भने, "तपाईंहरुले प्रहार गर्दा न्यायपालिकालाई असर पर्न सक्छ, जनताले त्यही किसिमले बुझ्न सक्छन्, त्यसकारण तपाईहरुले आन्दोलन नै गर्ने हो भने सिंहदरवारतिर गर्दा भो नि भन्ने हिसाबले भन्नु भा'हो।"
कायममुकायम प्रधानन्यायाधीशको अभिव्यक्तिले रेग्मी न्यायपालिका नफर्किने सम्भावना तर्फ संकेत गरेको छ।
तर प्रधानन्यायाधीशबाट राजीनामा दिनु पर्ने नेपाल वार, केही राजनीतिक दल र अन्य कतिपय पक्षको दवावका माझ रेग्मी स्वंय भने हलचल गरेका छैनन्।







