टर्की भूकम्प: सामाजिक सञ्जालमा फैलिए यस्ता भ्रामक र मिथ्या सामग्री

टर्की

तस्बिर स्रोत, Getty Images

टर्की र सिरियामा भूकम्प गएको केही घण्टाभित्रै भ्रामक र मिथ्या सूचनाहरू विभिन्न अनलाइन माध्यममा फैलिन थाले।

अरू देशका विपद्का तस्बिरहरू राखेर मानिसहरूले सोमवार आएको भूकम्पका कारण निम्त्याएको क्षति भन्दै दाबी गरेको पाइयो।

भाइरल भएका केही उदाहरणको हामीले तथ्यजाँच गरेका छौँ।

'परमाणुकेन्द्रमा विस्फोटन'

एक भेरिफाइड प्रयोगकर्ताको खाताबाट गरिएको ट्वीटमा टर्कीको भूकम्पका कारण एउटा परमाणुकेन्द्रमा विस्फोटन भइरहेको देखाइएको छ।

सो भिडिओ १२ लाख जनाभन्दा बढीले हेरेका थिए।

ट्वीटको स्क्रीनग्र्याब

ट्वीटमा लेखिएको थियो, "प्रमाणित भइसकेको छैन, के यो वास्तविक हो?"

त्यो वास्तविक थिएन।

सर्च इन्जिनहरूबाट हेर्दा त्यो पहिले नै अनलाइनहरूमा आइसकेको देखिन्थ्यो।

उक्त भिडिओ सन् २०२० को अगस्टमा २०० जनाको ज्यान जानेगरी बेइरुतमा भएको विस्फोटनपछिको भएको पुष्टि भएको छ।

ट्विटरले पछि त्यसको वास्तविक उद्गमस्थल उल्लेख गर्दै एउटा टिप्पणी उक्त ट्वीटमा राखिदिएको थियो।

फ्लोरिडाको भत्किएको भवन

ट्वीटको स्क्रीनग्र्याब

सोमवार बिहानै टर्कीमा भवन भत्किएको दाबी गर्दै एउटा भिडिओ सार्वजनिक भयो। त्यो सामग्री १० लाख जनाभन्दा बढीले ट्विटरमा हेरे।

तर गुगलमा भिडिओका प्रमुख फ्रेमहरू हेर्दा उक्त क्लिप सन् २०२१ को जुनमा फ्लोरिडामा सर्फसाइड अपार्टमेन्ट भवन भत्किएको अवस्थामा लिइएको पाइएको छ।

त्यस बेला त्यो फुटेज व्यापक रूपमा शेअर भएको थियो।

इन्डोनेशियाको सुनामी

'टर्कीको तटीय क्षेत्रमा भूकम्प गएपछि सुनामी आएको अवस्थामा लिइएको' भन्दै ब्रिटिश-इरानी हास्यकलाकार ओमिद जलिलीले आफ्नो ट्विटर खातामा एउटा भिडिओ शेअर गरे।

त्यो भिडिओ तीन लाख पटक हेरिएको छ।

सो भिडिओमा एउटा विशाल छालले तटनजिकै भएका घरहरूलाई बगाइरहेको र मानिसहरू ज्यान जोगाउन भागिरहेको देखिन्छ।

ट्वीटको स्क्रीनग्र्याब

तर ती फुटेजका स्क्रीनशटहरूको परीक्षण गर्दा ती दृश्य सन् २०१८ का भएको र इन्डोनेशियामा खिचिएको पुष्टि भएको छ।

त्यतिबेला सुलावेसी टापुमा केन्द्रबिन्दु बनाएर ७.५ म्याग्निट्यूडको भूकम्प जाँदा तटीय सहर पालुमा ठूलो विध्वंश भएको थियो।

मानिसहरूले यो तथ्य देखाएपछि जलिलीले फेरि ट्वीट गर्दै भनेका छन्, "यो हिजो टर्कीमा नखिचिएको मैले थाहा पाएँ। तर पहिला मानिएको विश्वसनीय स्रोतबाट पाएकाले भावुक भएर मैले राति अबेर ट्वीट गरेको थिएँ।"

जापानको भिडिओ

ट्विटरमा प्रेषित अर्को पोस्टमा एउटा अग्लो निर्माणाधीन भवनबाट निर्माण संरचना भुइँमा खसेको देखाइएको छ।

ट्वीटको स्क्रीनग्र्याब

सो ट्वीटमा उक्त क्षति टर्कीको भूकम्पले गराएको गलत दाबी गरिएको थियो। उक्त सामग्री अरू माध्यमहरूमा पनि देखा परेको थियो।

हजारौँ मानिसहरूले त्यसलाई हेरेका थिए।

त्यो भिडिओ सन् २०१६ मा जापानमा खिचिएको थियो।

बेइरुतको विस्फोटन पोस्ट गर्ने प्रयोगकर्ताले नै यसलाई पनि पोस्ट गरेका थिए।

कुकुरको तस्बिर

कुकुरको तस्बिर

भग्नावशेषको माथिल्लो भागमा एउटा कुकुर बसिरहेको र त्यसको पन्जा भग्नावशेषबाट बाहिर निस्किएको एउटा हातनजिकै देखिने तस्बिर पनि अनलाइनमा शेअर भएको छ।

त्यसमा 'आजको दिनको एउटा मन कुँडिने तस्बिर' र #Turkey लेखिएको छ।

उक्त तस्बिर १४ लाखभन्दा बढी पटक हेरिएको छ।

तर निःशुल्क रूपमा उपलब्ध हुने गुगल लेन्स प्रविधिबाट गरिएको रिभर्स इमेज सर्चले ठ्याक्कै त्यस्तै खालको फोटो फेला पारेको छ।

त्यसमा 'भग्नावशेषमा कुकुरले घाइते व्यक्तिहरूलाई खोजिरहेको' उल्लेख गर्दै क्याप्शन राखिएको देखिन्छ।

उक्त तस्बिरको मिति अक्टोबर २०१८ छ जसले त्यो तस्बिर गत सोमवार टर्कीमा गएको भूकम्पसँग सम्बन्धित नरहेको प्रमाणित गर्छ।

शायन सर्दारीजादे, मर्लिन टामस र एडम रोबिन्सनको रिपोर्टिङ

रेडलाइन

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, आमाको शवसँग नाभी जोडिएकी नवजात शिशु फेला परिन्
भिडिओ क्याप्शन सुरु हुँदैछ, भत्किएको भवनको भग्नावशेषबाट यसरी जीवितै उद्धार गरियो
भिडिओ क्याप्शन सुरु हुँदैछ, टर्की भूकम्प: 'राहत वितरण प्रभावकारी छैन, खानपिनमा समस्या छ'
रेडलाइन