पोखरा विमान दुर्घटनाः ७१ जनाको शव भेटियो, अझै एक जनाको अवस्था अज्ञात

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाण्डूबाट परिवारलाई बुझाइने अधिकारीहरूले बताएका छन्।
आइतवार ६८ यात्रु र चालकदलका चार सदस्य लिएर काठमाण्डूबाट पोखराका लागि उडेको विमान धावनमार्गनजिकै सेती नदीको खोँचमा खसेको थियो। के कारण दुर्घटना भयो भन्ने स्पष्ट भइसकेको छैन।
मङ्गलवार साँझसम्म ७१ जनाको शव भेटिएको र अझै एकजना हराइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिएका छन्।
यती एअरलाइन्सले समेत दुर्घटनाको तेस्रो दिन थप एकको शव फेला परेको जनाए तापनि त्यसबारे थप जानकारी दिएको छैन।
मङ्गलवार फेला परेको शव महिलाको रहेको प्रहरीले जनाएको छ र अब एक शिशुको अवस्था थाहा हुन बाँकी रहेको बताइएको छ। तर अधिकारीहरूले औपचारिक रूपमा त्यसको पुष्टि गरेका छैनन्।
विमानमा तीन बालक र दुई वर्षमुनिका तीन शिशु रहेको नागरिक उड्डयन प्राधिकरणले यसअघि जनाएको थियो। शिशुमध्ये एक जनाको शव आइतवार नै फेला परेको थियो।
हामीलाई के थाहा छ
७२ जना यात्रु र चालकदलका सदस्य
१५.५ वर्षअघि निर्मित विमान
9N-ANCविमानको दर्ता नम्बर
काठमाण्डूबाट पोखरा उडेको थियो
पोखरामाविमानस्थलनजिकै सेती खोँचमा दुर्घटनाग्रस्त
प्रवक्ता निरौलाले दुर्घटनास्थलबाट सङ्कलित कतिपय शवहरू सग्लो नभएका र केही छुट्टिएका हातखुट्टा भेटिएको बताए। केही शवहरू डढेका छन्।
"कुन उमेरका मानिसको शव भेटियो कुन उमेरका मानिसको भेटिएन भनेर पुष्टि गर्न सक्ने अवस्था छैन। यो केवल आशङ्काको कुरा मात्रै हो," उनले भने।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले पनि हराइरहेका मानिसहरू शिशु नै रहेको भनेर यकिन गर्न नसकिने बताए।
"यसबारे अझैसम्म यसै भनिहाल्न सकिने अवस्था छैन। खोजी र उद्धारमा खटिनेहरूले गरेको आशङ्काको कुरा मात्रै हो," उनले भने।
Hull occurrences in Nepal
साँघुरो खोँचमा खोजी केन्द्रित तर जान कठिन
कास्कीका प्रमुख जिल्ला अधिकारी केसीले हालसम्म उद्धारकर्मीहरू जान नसकेको एउटा साँघुरो र गहिरो खोँचमा अबको खोजी केन्द्रित हुने बताएका छन्।
"मानिस जान निकै कठिन र साँघुरो एउटा खोँच छ। डोरी र अक्सिजनको सहायतामा सुरक्षा निकायका तालिमप्राप्त फौजलाई त्यहाँ पठाउने प्रयास भइरहेको छ," उनले भने।

तस्बिर स्रोत, Getty Images

तस्बिर स्रोत, Reuters
गहिरो र भिरालो खोँचमा विमान टुक्रिएर खसेका कारण खोजी र उद्धार जटिल भएको उद्धारकर्मी र अधिकारीहरूले बताउँदै आएका छन्।
यसअघि पनि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका उद्धारकर्मीहरू डोरी र भर्याङको सहायतामा खोँचहरूमा पुगेर खोजी गरेका थिए।
विमान दुर्घटनाको तेस्रो दिन भइसकेका कारण हराइरहेका मानिसहरूको जीवितै उद्धार गर्न सकिने सम्भावना न्यून रहेको अधिकारीहरूले बताएका छन्।
नेपालको आन्तरिक उड्डयन इतिहासमा ७१ जनाको मृत्यु भएको यो पहिलो घटना भएको नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले बताएका छन्।
सन् १९९२ को सेप्टेम्बरमा काठमाण्डू आएको पाकिस्तानी विमान उपत्यकानजिकै दुर्घटना हुँदा १६७ जनाको मृत्यु भएको थियो।
त्यो नै नेपालमा सर्वाधिक मानवीय क्षति भएको विमान दुर्घटना हो।
परिवारलाई शव दिन सुरु गरियो
कास्कीका प्रमुख जिल्ला अधिकारी केसीले परिवारलाई शव दिन सुरु गरिएको जानकारी दिए।
उनका अनुसार कास्की आसपासका र परिवारले पहिचान गरिसकेका २२ जनाको शव पोखराबाटै हस्तान्तरण हुनेछ।
"पोस्टमोर्टमपछि पहिचान भएका र यहीँबाट शव लिन चाहने परिवारलाई हामीले शव हस्तान्तरण सुरु गरिसकेका छौँ।
पहिचान नभएका विदेशी नागरिक र काठमाण्डूबाट हस्तान्तरण हुनेछ," उनले भने।

तस्बिर स्रोत, Reuters
उनका अनुसार ४८ वटा शव काठमाण्डू पठाइएको छ।
विमानमा १५ जना विदेशी नागरिकहरू पनि थिए।
पहिचान भएका विदेशी नागरिकको शव बुझ्नका लागि सम्बन्धित देशका दूतावासमार्फत् परिवारलाई खबर गरिएको प्राधिकरणका प्रवक्ता निरौलाले बताए।
विदेशी नागरिकहरूको शव काठमाण्डूबाटै परिवारलाई बुझाइने प्राधिकरणले जनाएको छ।
पहिचान नभएका शवहरूको भने डीएनए परीक्षण गर्नुपर्ने र त्यसको प्रक्रिया केही लामो हुनसक्ने अधिकारीहरूले बताएका छन्।
कतिवटा शव त्यस्तो अवस्थामा छन् भन्ने जानकारी भने उनीहरूले दिएका छैनन्।
सेती खोँचमा दुर्घटना भएको यती एअरलाइन्सको विमानको भग्नावशेषमा सोमवार ब्ल्याक बक्स भेटिएको थियो।
Yeti airlines crash 2004-2023

विमानमा को थिए
- चालकदलका सदस्यः ४
- नेपाली: ५३ यात्रु
- भारतीय: ५ जना
- रुसी: ४ जना
- कोरियाली: २ जना
- आइरिश: १ जना
- अस्ट्रेलियाली: १ जना
- आर्जेन्टिनी: १ जना
- फ्रान्सेली: १ जना












