तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन युद्ध: द्वन्द्वका बेला युक्रेनी महिलाहरूको भोगाइ
रुससँग जारी युद्ध युक्रेनी महिलाहरूलाई तनावका साथै चिन्ताको विषय बनेको छ।
बालबच्चा विद्यालयबाट सुरक्षित रूपमा फर्कन्छन् वा क्षेप्यास्त्र आक्रमणमा पर्छन्, आफ्ना श्रीमान्, दाजुभाइ अनि बुवा, मृत्यु हुनेहरूको सङ्ख्या दिनानुदिन बढिरहेको युद्धबाट जीवितै फर्कने छन् / छैनन् अथवा उनीहरू आफै कति सुरक्षित छन् भन्ने विषयले उनीहरूको तनाव अनि चिन्ता बढाएको छ।
र यी सब तनावबीच उनीहरूको जीवन चलिरहेको छ।
विद्युत् आपूर्ति नहुँदासमेत उनीहरूले आफ्ना बालबालिकाका लागि खाना बनाइरहेका छन्, युक्रेनी सेनाका लागि डम्पलिङ् र लगाउनका लागि मोजा बुनिरहेका छन्, पार्कमा हिँडडुल गरिरहेका छन्, आफ्नो नङ सिँगार्ने कार्यदेखि उपहार खरिद गरिरहेका छन्।
बीबीसी १०० विमिनले युद्धबारे सात जना युक्रेनी महिलाको अनुभूति प्रस्तुत गरेको छ।
'उनी बलिई थिइन्। हामी त्यसरी नै सधैँ उनलाई सम्झने छौँ'
२६ वर्षीय भिक्टोरिया कोभाल्चुक भग्नावशेषमा फेला पर्दा उनले आफ्ना पति बोहदानलाई अङ्कमाल गरिरहेकी थिइन्। नजिकै एउटा बिरालो सुतिरहेको थियो।
ड्रोन आक्रमण सुरु हुँदा किएभमा उक्त परिवारका सदस्य शान्त रूपमा घरमा निदाइरहेका थिए। उनीहरूको सँगै मृत्यु भयो। भिकागर्भवती थिइन्।
१० महिनाको अवधिमा रुसले युक्रेनमा सयौँ क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ जसमा हजारौँले ज्यान गुमाएका छन्। ती आक्रमणका निशाना आवासीय भवनहरू, विद्यालय,शपिङ सेन्टर अनि कतिपय अवस्थामा सडकहरू पर्छन्।
''भिकालाई वाइन मन पर्थ्यो र वाइन वेटरका रूपमा आफ्नो काम पनि। हामी उनलाई अत्यन्तै माया गर्थ्यौँ,'' उनी कार्यरत गुडवाइन कम्पनीका एक सहकर्मीले लेखे।
''उनी कठिन चुनौतीहरूबाट डराउँदैनथिन्। उनी बलिई थिइन्। हामी उनलाई त्यसै रूपमा सधैँ सम्झने छौँ।''
'बमबाट जोगिनेआश्रय स्थलतर्फ दौडिँदै गर्दा समेत बच्चालाई दूधखुवाउँछु'
३३ वर्षकी इरीना नेमीरोभीचका छोरा भर्खरै चार हप्ताका भएका छन्। नोभेम्बर २१ अर्थात् उनी जन्मिएको तीन दिनपछि युक्रेनमाथि भीषण आक्रमणका क्रममा रुसले ७० वटा मिसाइल प्रहार गरेको थियो।
किएभ लगायत अन्य सहरहरूमा अन्धकार छायो र युक्रेनमा कठ्याङ्ग्रिँदो जाडो चाँडै सुरु भयो।
१३औ तल्लामा रहेको अनि विद्युत् आपूर्ति नभएका बेला लिफ्ट नचल्ने हुँदा उनको परिवार आफ्नो अपार्टमेन्टमा बस्न सकेको छैन।
"युद्धको समयमा बच्चाकी आमा हुनु भनेको बच्चालाई आवश्यक परेको बेलाभन्दा बिजुली हुँदा नुहाइदिनु हो। हामी प्राय: बिजुली बिना नै रहने हुँदा मैले धेरै पटक हात धुनु पर्छ। पूर्ण अन्धकारमा मैले बच्चाको डाइपर फेर्नेदेखि उसलाई खुवाउने अनि भुलाउने गर्छु।''
''बमबाट जोगिने आश्रय स्थलतर्फ दौडँदै गर्दा म आफ्नो छोरालाई स्तनपान गराइरहन्छु। र हरेक दिन हाम्रो रक्षा गर्ने युक्रेनी फौजलाई धन्यवाद दिन्छु। किनभने यो सब त्रासदीका बीच रुसीहरू बिना मैले मेरै देशमा श्रीमान् अनि परिवारको साथमा बस्न पाएकी छु।''
'त्यो चियाका लागि म आफूलाई अझै माफ गर्न सकिरहेकी छैन'
पूर्वी युक्रेनमा रहेको क्रामातोर्स्क सहरको रेल स्टेसनमा रकेट प्रहार हुँदा नाटाल्या स्टेपानेन्को छोरीसँग चिया पिउने तयारी गर्दै थिइन्।
४० वर्षकी उनले ११ वर्षका जुम्ल्याहा सन्तान याना र यारोस्लाभलाई युद्धभन्दा टाढा लाने तयारी गरेकी थिइन्। एप्रिल ८ तारिखमा उद्धार कार्यमा परिचालन गरिएको रेलको पर्खाइमा उनीहरू थिए।
त्यो रेलले उनीहरूलाई पश्चिम युक्रेन लाने थियो। त्यस दिन रुसी रकेट प्रहारमा ५० जनाको ज्यान गयो जसमा पाँच जना बालबालिका पनि थिए। घटनामा नाटाल्याले एउटा खुट्टा गुमाइन् भने उनकी छोरीले दुवै।
''म उठ्न खोजिरहेकी थिएँ। तर कसरी? मैले यानातिर हेरे। उनको खुट्टामा जुत्ता थिएन। त्यो चियाका लागि म आफूलाई अझै माफ गर्न सकिरहेकी छैन,'' उनले भनिन्।
यी आमा छोरीको हाल अमेरिकामा उपचार भइरहेको छ। उनीहरू 'प्रोस्थेटिक्स'को (कृत्रिम अङ्ग) सहायताले हिँड्ने प्रयास गरिरहेका छन् र युद्ध सकिएपछि घर फर्कने सपना बुनिरहेका छन्।
'मैले उनलाई मारेको देखेँ'
यालीओना लाप्चुकले आफ्नै आँखा अगाडि श्रीमान् भीटाली लाई यातना दिइएको कुरा बताइन्।
रुसीहरूले दक्षिणी सहर खेर्सन नियन्त्रणमा लिएपछि युक्रेनको पक्षमा मत राख्ने व्यक्तिहरूलाई दुर्व्यवहार गरे।
प्रहरी अधिकारीका साथै शिक्षक उनका श्रीमान् भीटालीले उनीहरूलाई सहयोग गर्न अस्वीकार गरे। त्यसपछि उनलाई निर्घात कुटपिट गरेर अगुवा गरियो।
यालीओनालाई पनि अगुवा गरिएको थियो। तर उनी रुसीहरूको नियन्त्रणमा रहेको सहरबाट भाग्न सफल भइन्। उनका श्रीमान् भने सफल हुन सकेनन्।
केही महिनापछि भीटालीको शव एउटा नदीमा फेला पर्यो। उनको शरीरमा यातनाका निशानाहरू पनि थिए। रुसीहरूले त्यसबेला उक्त सहर नियन्त्रणमा राखेकाले यालीओना आफ्ना श्रीमान्को अन्त्येष्टीमा सहभागी हुन सकिनन्।
हाल खेर्सन रुसी नियन्त्रणबाट मुक्त भइसकेको छ र आफ्ना श्रीमान्को मृत्युका लागि जिम्मेवार सबैलाई न्यायको कठघरामा उभ्याउन यालीओना चाहन्छिन्।
''उनलाई कसरी मारियो भन्ने कुरा देखेकी अनि सुनेकी छु,'' उनले भनिन्। ''यो युद्ध अपराध हो। रुसले सबै कुराको जवाफ दिनुपर्छ।''
'उनीहरूका श्रीमान्, छोरा अनि बुवाले कसरी युक्रेनीहरूलाई यातना दिइरहेका छन् भन्ने रुसीहरूले थाहा पाउन् भन्ने म चाहन्छु'
७५ वर्षकी ल्युदमीला मिम्रीकोभा शान्त स्वभावकी महिला हुन्। अवकाश लिनु अघि उनले मीरोल्युबीभ्का गाउँमा इतिहास विषय पढाउँथिन्।
युक्रेनको दक्षिणमा रहेको यो रमणीय कृषकहरूको बस्ती रुसीहरूले नियन्त्रणमा लिएपछि नर्कमा परिणत भयो।
सर्वसाधारणसँग खाने कुरा थिएन। उनीहरू निकै भोकाएका थिए तर अन्तिम टुक्रासम्म बाँडीचुँडी खाए, ल्युदमीला सम्झन्छिन्।
ल्युदमीलाको घरमा एक जना रुसी सेना जबरजस्ती प्रवेश गरे। उनी आफ्नै बैठक कोठामा कुटपिट अनि बलात्कारको सिकार भइन्।
त्यसको केही दिनपछि त्यहाँबाट उनी भाग्न सफल भइन्। शरद ऋतुमा मीरोल्युबीभ्कालाई युक्रेनले पुनः आफ्नो नियन्त्रणमा लियो।
ल्युदमीलाले आफूमाथि के के भयो भन्ने कुरा बताउने जोखिम उठाइन्।
"म यो सबै रोक्न, यो रक्तपातपूर्ण युद्ध जतिसक्दो चाँडो रोक्नका लागि सम्पूर्ण विश्वलाई चिच्याएर भन्न चाहन्छु। म रुसीहरूले उनीहरूका पति, छोराहरू र उनीहरूका बुबाहरूले युक्रेनीहरूलाई कसरी यातना दिइरहेका छन् भन्ने जानून् भन्ने चाहन्छु।"
'उ फर्किएपछि फुलेका सबै कपाल चुम्नेछु'
''मलाइ घरको निकै याद आइरहेको छ,'' ओल्या टारानेन्कोले भनिन्। उनी बेर्दियाङ्स्कमा छोरीसँग बस्थिन। त्यहाँ उनले अङ्ग्रेजी विषय पढाउँथिन्। उनको हालसालै विवाह भएको हो।
सन् २०२२को फेब्रुअरी २४ मा अन्य युक्रेनीहरू जस्तै उनको पनि जीवन बदलियो। रुसी सेना उनको सहर प्रवेश गर्यो। र ओल्या घर छोड्न बाध्य भइन्।
उनका श्रीमान्, दाजुभाइ अनि पिता लडिनै रहेका छन्।
ओल्या भने उनीहरूको प्रतीक्षामा छन्। हाल उनले पढाउने काम जारी राखेकी छन् भने परोपकारी कार्यहरूमा पनि सक्रिय छन्।
शरणार्थीहरूलाई सहयोग गर्नका लागि कार र जेनरेटर खरिद गर्न उनले पैसा जमा गरिरहेकी छिन्।
"केही यस्ता दिनहरू पनि छन् जब म मेरो फोनलाई घृणा गर्छु। म एक म्यासेज पर्खिरहेकी छु, तर यो मौन छ। म फोनलाई भित्तामा फ्याँक्न चाहन्छु, म धेरै असहाय महसुस गर्छु - जस्तो कि मेरा प्रिय श्रीमान्सँग सम्पर्कमा रहन नसक्नु यसको गल्ती हो। श्रीमान् फर्केपछि म उनको टाउकोमा फुलेको सबै कपाललाई चुम्नेछु। चाउरी परेका सबै भागलाई चिल्लो पार्नेछु। तबसम्म म पर्खिरहेकी छु। म पर्खिरहेकी छु, एक म्यासेजबाट अर्कोमा बाँचिरहेकी छु।"
'यो युद्धबाट कोही फर्कने छैन'
''एउटा गाउँमा ४० जना सर्वसाधारणलाई पक्राउ गरी रुस लगिएको छ। अर्कोमा प्रत्येक पटक साइरन बज्दा बालबालिका रोइरहेका छन्। (तेस्रो स्थानमा) एक महिलाले आफ्नो सन्तानलाई घरको आँगनमा लुकाएकी छन्।''
टाटा केप्लरले यसरी आफ्नो एक फेसबुक पोस्टमा बयान सुरु गरेकी छन्।
उनी एक स्वयंसेवी हुन्। रुसले आक्रमण सुरु गरेयता आफ्नो टोलीसँग उनी १०० भन्दा बढी स्थानमा पुगेकी छन्।
रुसको नियन्त्रणबाट उम्कनासाथ कुनै सहर वा गाउँमा औषधि, खानपानका सामग्री अनि घरपालुवा जनावरका लागि आहारको व्यवस्थासहित पुग्ने पहिलो केही व्यक्तिमा उनी पर्छिन्।
उनका अनुसार रुसी नियन्त्रणबाट उम्कन सफल भएका क्षेत्रका मानिसहरूलाई मनोवैज्ञानिक सहायताको आवश्यकता देखिन्छ। उनीहरूका मन टुक्रिएका छन्, त्रसित छन्। मनोवैज्ञानिक रूपमा दबिएका छन् अनि उनीहरूका आफन्तहरूलाई अगुवा गरिएको छ, मारिएको अनि उनीहरूको शरीर टुक्रा टुक्रा पारिएको छ।
''यो युद्धबाट कोही पनि फर्कने छैन। हामी सधैँ युद्ध भोगेका मानिस हुनेछौँ,'' उनले भनिन्।
बीबीसी हन्ड्रेड विमिनले हरेक वर्ष संसारभरका १०० जना प्रभावशाली महिलाको सूची प्रकाशित गर्छ। तपाई इन्स्टाग्राम, फेसबुक र ट्विटरमा बीबीसी १०० विमिनलाई फलो गर्न सक्नुहुन्छ।