फिफा विश्वकप कतार २०२२: मेस्सी, फ्रान्स अनि नयाँ इतिहास लेख्न सफल मोरक्कोका खेलाडीहरू - अब हुने सेमिफाइनलका केही रोचक पक्ष

शनिवार फ्रान्ससँग पराजित भएसँगै इङ्ग्ल्यान्डको विश्वकप जित्ने सपनामा तुषारापात भएको छ।

अहिले आर्जेन्टिना, क्रोएशिया, फ्रान्स र मोरक्कोका राष्ट्रिय फुटबल टोली सबैको चाहना कतारमा फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि हात पार्नुरहेको छ।

प्रतियोगिता सुरु हुँदा सेमिफाइनलको समीकरण यस्तो हुन्छ भन्ने धेरैले अनुमान गरेका थिएनन्।

के यो मेस्सीका लागि अवसर हो?

सेमिफाइनलको अवस्था हेर्दा विश्वकपमा सबैको चासो के आर्जेन्टिनाका 'सुपरस्टार' लियोनेल मेस्सीले पहिलो पटक विश्वकप जिताउन सक्लान् भन्ने छ।

अहिलेसम्म उनी समाविष्ट टोलीले १० पटक स्पेनिश लीग जितेको छ। फ्रान्समा पनि उनले खेलेको क्लब उपाधि विजेता बनेको छ।

त्यसबाहेक उनले चार वटा च्याम्पीअन्स लीग, सन् २०२१ को कोपा अमेरिका जितेका छन् भने विश्वका सर्वश्रेष्ठ खेलाडीले प्राप्त गर्ने सम्मान बालोन डि'ओर सर्वाधिक सात पटक जितेका छन्।

सेमिफाइनलमा पुगेसँगै मोरक्कोले विश्वकप फुटबलमा रच्यो इतिहास

तर फुटबल इतिहासमै महान् मानिने ब्रजिलका पेले वा आर्जेन्टिनाका डिएगो म्याराडोनासँग तुलना गर्दा ३५ वर्षका मेस्सीले सबैभन्दा महत्त्वपूर्ण उपाधि विश्वकप भने जित्न सकेका छैनन्।

म्याराडोनाको नेतृत्वमा आर्जेन्टिनाले ३६ वर्षअघि विश्वकप जितेको थियो। मेस्सीको नेतृत्वमा सन् २०१४ मा आर्जेन्टिना फाइनसम्म पुगेको थियो।

के मेस्सीले झन्डै चार दशक अघिको त्यो सफलता दोहोर्‍याउन सक्लान् त?

मोरक्को फेरि चम्किएला त?

यसपालिको विश्वकपमा मोरक्कोले इतिहास बनाइसकेको छ।

फुटबल विश्वकपमा सेमिफाइनलसम्म पुग्ने यो पहिलो अफ्रिकी टोली हो। मुस्लिम बाहुल्य रहेकाले अरब टोली विश्वकपमा यहाँसम्म पुगेको पनि यो पहिलो पटक नै हो।

मोरक्कोका हाकिम जियेश प्रख्यात क्लब चेल्सीबाट र अश्रफ हाकिमी पीएसजीबाट खेल्छन्। तर मोरक्को सेमिफाइनल चरणमा प्रवेश गर्ने कुराको अपेक्षा धेरैले गरेका थिएनन्।

क्रोएशिया र बेल्जमलाई हराउँदै मोरक्को समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको थियो। उक्त अफ्रिकी टोलीले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न उसले स्पेन र सेमिफाइनलमा पुग्नका लागि पोर्चुगललाई हारयो।

मोरक्को विश्वकपमा सफल हुनुको एउटा कारण उक्त टोलीको बलियो रक्षापङ्क्ति हो। कतारमा जारी विश्वकपमा कुनै पनि विपक्षी खेलाडीले मोरक्कोलाई गोल हान्न सकेका छैनन्। क्यानडासँगको खेलमा भने मोरक्कोले एउटा आत्मघाती गोल गरेको थियो।

प्रभावशाली खेल प्रदर्शन गरेकाले मोरक्को यो विश्वकपमा व्यापक समर्थन पाइरहेको टोलीमध्ये एक बन्न सफल भएको छ।

आयोजकहरूले यो विश्वकप कतार मात्रको नभएर पूरै मध्यपूर्वी क्षेत्र र मुस्लिमहरूको भएको बताउने गरेका छन्। के मोरोक्कोले मङ्गलवार पुनः बाजी मार्न सक्ला त?

के फ्रान्सले फेरि जित्ला उपाधि?

मोरक्कोको बाटोमा युरोपकै उत्कृष्ट टोलीमध्ये एक फ्रान्स उभिएको छ।

तर सन् १९६२ मा ब्रजिलले उपाधि रक्षा गरेयता कुनै पनि मुलुकले लगातार दोस्रो पटक यो उपाधि जित्न सकेको छैन। फ्रान्स अहिले त्यस्तो प्रयासमा छ।

विश्वकप विजेतालाई उपाधि रक्षा गर्न कठिन भएको देखिन्छ। विगत १२ वर्षमा विजेता बनेका इटली, स्पेन अनि जर्मनी प्रतियोगितामा धेरै अघि बढ्न सकेका छैनन्। तर फ्रान्सले भने त्यो अवस्था पार गरेको छ।

फ्रान्सले शनिवार इङ्ग्ल्यान्डलाई जित्नुको अर्थ सन् १९९८ मा पूर्वविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको ब्रजिलपछि उक्त इतिहास दोहोर्‍याउने ऊ पहिलो मुलुक हो।

तर फ्रान्सका प्रबन्धक डिडिए डेशाँले भने अहिले आफ्नो पूरा ध्यान मोरक्कोतर्फ केन्द्रित गरिरहेका छन्।

यो विश्वकपमा पनि फाइनलसम्म पुग्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, "हामी आफूभन्दा अगाडि बढिरहेका छौँ।"

क्रोएशियाले इतिहास दोहोर्‍याउन सक्ला कि नसक्ला?

फ्रान्सले मोरक्को अनि क्रोएशियाले आर्जेन्टिनालाई हराउन सके भने कतारमा जारी फिफा विश्वकप फुटबलमा सन् २०१८ कै प्रतिद्वन्द्वीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

यसपालि पनि अविश्वसनीय प्रदर्शन गर्दै क्रोएशिया अन्तिम चारमा पुगेको छ।

सन् २०१८ मा उसले 'पेनाल्टी शूट-आउट'मा डेनमार्क अनि रुसलाई हराएर फाइनलसम्मको यात्रा तय गरेको थियो।

यसपालि पनि 'पेनाल्टी' मार्फत् नै उसले जापान र ब्रजिललाई हराएर सेमिफाइनलमा प्रवेश पाएको छ।

विश्वकपमा निर्धारित ९० मिनेटमा नकआउट चरणको खेल क्रोएशियाले जितेको २४ वर्ष भयो। सन् १९९८ को क्वार्टरफाइनलमा क्रोएशियाले जर्मनीलाई ९० मिनेटको खेलमै ३-० अन्तरले हराएको थियो।

क्रोएशियाका चर्चित खेलाडी मिडफील्डर लुका मोर्ड्रिच ३७ वर्षको भइसकेकाले पनि उक्त टोलीको प्रयासलाई झन् उल्लेखनीय मानिएको छ।

अतिरिक्त समयमा पनि उनी उत्तिकै लयमा देखिन्छन्।

सन् २०१८ को विश्वकपको समूह चरणमा ३-० अन्तरले पराजित भएको आर्जेन्टिनाले क्रोएशियालाई कम आँक्ने गल्ती गर्नेछैन।

यो पनि हेर्नुहोस्