कतार विश्वकप: फिफाको कार्बन उत्सर्जन सन्तुलनको दाबी 'भ्रामक र निकै खतरनाक'

कतार विश्वकप

तस्बिर स्रोत, Getty Images

    • Author, डेभिड लकवूड र म्याट वारिक
    • Role, बीबीसी स्पोर्टस

फुटबलको विश्व प्रशासकीय निकाय फिफाले कतार विश्वकप कार्बन उत्सर्जन र त्यसको क्षति परिपूर्ति गर्ने हिसाबले सन्तुलन कायम गरिने भनि गरेको दाबी 'खतरनाक र भ्रामक' रहेको अनि घोषणा गरिएकोभन्दा तीन गुणाभन्दा बढी हरित गृह ग्यास प्रतियोगिताका क्रममा उत्सर्जन हुने वातावरणविद्हरूले औँल्याएका छन्।

फिफाले युरोप भरी पनि चुनौती र खुला पत्र मार्फत उसको दिगोपना सम्बन्धी नीति अन्त्य गर्न भैरहेको आग्रहको सामना गरिरहेको छ।

फिफाले कतार विश्वकपका क्रममा ३६ लाख टन बराबरको कार्बन फोहर निस्किने र त्यसलाई विभिन्न किसिमका पहलबाट सन्तुलित गर्ने बताएको छ।

ल्याङकास्टर विश्वविद्यालयका माइक बर्नर्ज-ली भन्छन्, "हामीले हरित गृह ग्यास उत्सर्जन सम्बन्धी फिफाको आकलनबारे थोरै सोधखोज गर्‍यौँ र कम्तीमा तीन गुणा अर्थात् १०० लाख टन निस्किन्छ भन्ने हामीलाई लागेको छ।"

म्यानचेस्टर विश्वविद्यालयका वातावरण वैज्ञानिक प्राध्यापक केभिन एन्डरसनले फिफाको दाबी 'गम्भीर भ्रामक र अविश्वसनीय रूपमा खतरनाक' रहेको टिप्पणी गरे।

उनी भन्छन्, "यो प्रतियोगिता मानवीय मूल्यसँग जोडिने छ, एउटा खेल प्रतियोगिताको निम्ति यो निकै ठूलो उत्सर्जन हो। यो उत्सर्जनले सारा विश्वलाई प्रभाव पार्ने छ।"

बर्नर्ज-ली भन्छन्, "कार्बन न्यूट्रालिटि (उत्सर्जन र क्षति परिपूर्तिको सन्तुलन) भन्ने शब्द नै कपटपूर्ण हो, विश्वकपको उत्सर्जनलाई सन्तुलित पार्ने योजनाले पर्यावरणबाट कार्बन हटाउँदैन, त्यसैले त्यो शब्द बनावटी हो। विश्वकपलाई कार्बन उत्सर्जनका हिसाबले सन्तुलित भन्नु निकै भ्रामक हो। क्षतिपूर्ति स्वरूप कार्बन हटाइँदै छैन।"

खुला पत्रमा फिफाको दिगोपना सम्बन्धी रणनीतिले गरेको कार्बन आकलन दोषपूर्ण रहेको, क्षतिपूर्ति गर्ने अभ्यास शंका योग्य रहेको र जिम्मेवारी आफूबाट दर्शकहरूमा स्थानान्तरण गरिदिएको तर्क उल्लेख छ।

फिफाले ३६ लाख टन हरित गृह ग्यास उत्सर्जन हुने बताएको छ। त्यसको ५१.७ प्रतिशत कारक दर्शकहरूको उडान सहितको यात्रा हुनेछ। त्यसको निम्ति उसले प्रतियोगिता भरी सार्वजनिक यातायातको रूपमा विद्युतीय सवारीको आवागमन लगायतका विभिन्न पहलहरू गरेर प्रत्येक यात्रीको उडानबाट हुने उत्सर्जनलाई क्षति परिपूर्ति गरेर सन्तुलित गर्ने वाचा गरेको छ।

माइक बर्नर्ज-ली

तस्बिर स्रोत, BBC Sport

फिफाको वक्तव्यमा भनिएको छ, "जलवायु परिवर्तन हाम्रो समयका निम्ति निकै महत्त्वपूर्ण चुनौतीहरूमध्येको एक हो भन्नेमा फिफा पूर्ण रूपमा सचेत छ र हामी प्रत्येकले तत्काल र वातावरण सम्बन्धी दिगो कदम चाल्नुपर्ने खाँचो रहेको विश्वास गर्छ।"

फिफा र आयोजक देश कतारले पहिलो पटक पूर्ण रूपमा कार्बन उत्सर्जन र परिपूर्ति सन्तुलित हुने गरी विश्वकप आयोजना गर्ने प्रतिबद्धता गरेको वक्तव्यमा उल्लेख छ।

उसका अनुसार प्रतियोगितासँग सम्बन्धित उत्सर्जन न्यूनीकरणका निम्ति विस्तृत योजनाहरू लागू गरिएको छ।

जसमा ऊर्जा मितव्ययी रङ्गशाला र तिनको डिजाइन, निर्माण र सञ्चालनमा हरित गृहसम्बन्धी प्रमाणीकरण, न्यून उत्सर्जन गर्ने यातायातका साथै फोहरको दिगो व्यवस्थापन अभ्यासहरू छन्।

फिफाको वक्तव्यमा भनिएको छ, "सबै बाँकी उत्सर्जनको शोधभर्नाको निम्ति अन्तर्राष्ट्रिय रूपमा प्रमाणित र मान्यता दिइएको 'कार्बन क्रेडिट' मा लगानी गरिने छ। यो स्वैच्छिक रूपमा गरिन्छ र त्यसमा खेल उद्योग अग्रणी रूपमा रहन्छ। फिफाले युएनएफसीसीसी स्पोर्टसको क्लाइमेट स्पोर्ट्स फ्रेम वर्क र सन् २०४० सम्म शून्य उत्सर्जनमा पुग्ने उसको रणनीतिमा जनाइएको प्रतिबद्धता अनुसार थप गर्न सकिने र गरिने छ।"

'संरचना यो खेलको निम्ति मात्र बनाइयो'

जर्मन बुन्डेसलिगा क्लब युनियन बर्लिनका नर्वेली अन्तर्राष्ट्रिय खेलाडी मोर्टन तोर्सबीको देश कतार २०२२ को निम्ति छनौट भएन। उनले फिफाको दाबीमाथि प्रश्न उठाइरहेका खेलाडी र संस्थाहरूको प्रतिनिधित्व गर्छन्।

तोर्सबीले खुला पत्रमा लेखेका छन्, "प्रतियोगिता वातावरणीय प्रभावका हिसाबले पूर्ण रूपको विनाश हो। भवन संरचना केवल यो खेलको निम्ति मात्र बनाइएका छन् जुन कहिल्यै ठिक मान्न सकिन्न।"

पत्रमा उनले कार्बन उत्सर्जन र परिपूर्ति सन्तुलनसम्बन्धी दाबीहरू रद्द गर्न आग्रह गरेका छन् र आउँदो जुलाईमा अस्ट्रेलिया र न्यूजील्याण्डमा हुने २०२३ महिला विश्वकपलाई वातावरणीय हिसाबले स्वच्छ प्रतियोगिता बनाउन समीक्षाको निम्ति आग्रह गरेका छन्।

आफूले चलाएको वातावरण सचेतना अभियानका निम्ति हालसालै बीबीसी ग्रिन स्पोर्ट्स अवार्ड तोर्सबी सहित पत्रमा विकम वन्डरर्सका डेभिड ह्वीलर, फोरेस्ट ग्रिन रोवर्स, रोमाकी स्विडिश खेलाडी एलिन ल्यान्डस्ट्रोम र अमेरिकाको शिकागो रेड स्टार्सबाट जो मोर्सले हस्ताक्षर गरेका छन्।

२०१४ विश्वकप

तस्बिर स्रोत, Getty Images

पत्रमा लेखिएको छ, "जलवायु परिवर्तन हामीले सामना गर्नुपर्ने विपक्षी हो र हामी त्यसै पनि अतिरिक्त समयमा पुगिसक्यौँ। हामीले जुनसुकै सर्ट लगाऔँ वा खेल गीत गाऔँ, काम गरेर उपलब्धि प्राप्त गर्न हामीसँग सबै कुरा छ। तर यो सुनौलो अवसर छोप्नुको साटो फिफाको वर्तमान नीति सर्वश्रेष्ठ गोल प्रहार गर्न चुकेको छ। प्रतियोगितालाई पहिलो 'पूर्ण रूपले कार्बन उत्सर्जन सन्तुलित फिफा विश्वकप'को नाम दिइएको छ जसको अर्थ त्यसको आम प्रभाव ग्रहमा शून्य हुनैपर्छ।"

कसले दिइरहेका छन् चुनौतीहरू?

कतार विश्वकपमा कार्बन उत्सर्जन सन्तुलन सम्बन्धी दाबीको फिफाले गरेको प्रवर्द्धनविरुद्ध नेदरल्यान्डस, बेल्जम, स्वीट्जरल्याण्ड, फ्रान्स र युकेमा गुनासोहरूको विज्ञापन गरिएका छन्।

ती चुनौतीहरूको केन्द्रमा फिफाको कार्बन कार्बन उत्सर्जन सन्तुलित विश्वकप भन्ने दाबी झूटो भएको तर्क गरिएको छ। उत्सर्जनको अवमूल्यन र त्यसको शोधभर्ना गर्ने फिफाको नीतिको अविश्वसनीयतालाई कारणको रूपमा प्रस्तुत गरिएको छ। अभियानकर्मीहरूले फिफाको घोषणाबाट उपभोक्ता र दर्शकहरू भ्रमित तुल्याइएको बताएका छन्।

न्यु वेदर इन्स्टिट्युटले युकेमा चुनौती दिएको छ। स्वीट्जरल्याण्डमा क्लाइमेट अलाएन्स, फ्रान्सको नोट्र अफेयर् आ टु, बेल्जियमको कार्बन मार्केट वाच र नेदरल्याण्डसको फोसल फ्री फुटबलले पनि त्यस्तै गुनासो जारी गरेका छन्।

फिफाको दिगोपना सम्बन्धी चुनौतीहरूबारे के थाहा छ?

यो वर्षको सुरुमा कतार विश्वकप कार्बन उत्सर्जन सन्तुलन सम्बन्धि प्रश्नको घेरामा परेको हो। त्यो भ्रामक रहेको भन्दै कार्बन मार्केट वाचले एउटा प्रतिवेदनमा प्रश्न उठाएको हो।

पत्रले पनि यात्रा सम्बन्धी आकलनको पनि व्यापक रूपमा अवमूल्यन गरिएको र प्रतियोगिता हुनुअघि नै त्यो कार्बन उत्सर्जन सन्तुलित हुने कुराको दाबी गर्नु असम्भव रहेको उल्लेख छ।

कार्बन उत्सर्जन न्यूनीकरण परियोजनाको क्षमता र त्यसको मापनबारे पनि आशङ्का गरिएको छ।

मोर्टन तोर्सबेय

तस्बिर स्रोत, Getty Images

म्यानचेस्टर विश्वविद्यालयका प्राध्यापक केभिन एन्डरसनले भने, "विश्वकप हो वा अरू नै कुनै खेल अथवा साङ्गीतिक, त्यस्ता ठूला कार्यक्रमहरू कार्बन उत्सर्जन सन्तुलित हुनेछ भन्ने दाबी गम्भीर रूपले भ्रामक हुन्छन् र त्यसले स्थितिलाई राम्रोको साटो झन् खराब बनाइरहेका छन्।"

उनका भनाइमा केही पाउन्ड रकमको भरमा शोधभर्ना गर्ने सजिलो उपाय छ भन्ने धारणा 'असाधारण रूपमा खतरनाक' र 'साँच्चिकै खराब व्यवहारको प्रदर्शन' हो।

एन्डरसन भन्छन्, "फिफा... केवल सामान्य कुरा मात्र गर्छ: शानदार स्थानमा जाऔँ र उत्सर्जनको क्षतिपूर्तिको निम्ति केही लगानी गरौँ। त्यसमा कुनै सृजनशीलता छैन, यथार्थपरक सोच छैन, अगुवाइ छैन। हरेक तहमा फिफा विफल छ।"

कार्बन उत्सर्जनको क्षतिपूर्ति गर्न सक्नुहुन्छ?

ल्याङकास्टर विश्वविद्यालयका माइक बर्नर्ज-ली फिफाले आफ्नो कार्बन उत्सर्जनलाई 'भयानक अवमूल्यन' गरेको र 'कार्बन प्रभाव नपारेको दाबी गर्न वास्तवमा काम नगरेको' ठान्छन्।

"विश्वकप निकै महत्त्वपूर्ण छ र यसबाट कार्बन उत्सर्जन हुने पक्का छ। हामीले अहिले जति सक्दो कम गर्न प्रयास गर्नुपर्छ।"

फिफाले सबै जहाजको यात्रा एक तर्फी हुने अनुमान गरेको र त्यो पूर्णतया वाहियात अनुमान भएको उनको टिप्पणी छ।

उनका भनाइमा वृक्षारोपण र धापहरूको पुनःनिर्माण जस्ता क्षतिपूर्तिको निम्ति केही योजनाहरू बनाउन सकिन्छ जसले वायुमण्डलबाट कार्बन सोस्न सक्छन्।

बर्नर्ज-ली भन्छन्, "यो अहिलेसम्मकै पर्यावरण मैत्री विश्वकप भन्ने फिफाको दाबी अर्थहीन हो। उसको नीतिले कार्बन उत्सर्जन सन्तुलित बनाउन उत्सर्जनबाट हुने क्षतिको पूर्ति गर्न सक्दैन।"

वातावरण मैत्री योजना के छन्?

सुप्रिम कमिटी फर डेलिभरी एन्ड लेगेसीका एक जना प्रवक्ताले सन् २०१० मा खेल आयोजना गर्ने अनुमति पाएयता दिगोपना सम्बन्धी नीतिले सबै योजना र कामहरूलाई परिभाषित गरेको र त्यो नै उक्त दृष्टिकोणको केन्द्रमा रहेको बताए।

उनले भने, "हाम्रा महत्त्वपूर्ण वातावरण योजनाहरूले देश भरी दूरगामी रूपमा विरासत छाड्ने छन्। जसमा आठ सय मेगावाट क्षमता सहित १३ सय फुटबल पिचको आकार जतिको विशाल नयाँ सौर्य ऊर्जाका साथै डिजाइन र दिगोपनाको निम्ति नयाँ मानक बन्ने रङ्गशालाहरू पर्छन्। ती मध्ये केही उच्च पर्यावरण मैत्री मान्यता पनि पाएका छन्।"

ती प्रवक्ताका अनुसार छ लाख ७९ हजार बिरुवा र बुट्यान सहितका झाडीहरू र १६ हजार रुखहरू देशका अन्य भाग सहित रङ्गशाला क्षेत्रमा लगाइएका छन्। ती मध्ये केही स्थानीय र सिचाइको खाँचो न्यूनीकरण गर्ने सुख्खा मैत्री छन्।

उनी भन्छन्, "नयाँ रुखहरूले कार्बन उत्सर्जन घटाउने छन्।"

विश्वकपको सम्झौता प्रकृतिअनुसार आन्तरिक उडानहरूको खाँचो पर्ने छैन र सबै दर्शकहरूको निम्ति निःशुल्क रूपमा मेट्रो र विद्युतीय बसहरूको व्यवस्था छ।