रुस- युक्रेन युद्ध: विद्युत् कटौती भए किएभवासीले सहर छोड्नु पर्ने मेयरको चेतावनी

तस्बिर स्रोत, SHUTTERSTOCK
- Author, क्याथरिन ब्यारुहाङ्गा र काइला हर्मनसन, किएभ र एलेक्स बिन्ले लन्डनमा
- Role, बीबीसी न्यूज
किएभका मेयरले पूर्ण रूपमा विद्युत् आपूर्ति ठप्प भएको खण्डमा त्यहाँका बासिन्दा सहर छोड्न तयार रहनु पर्ने बताएका छन्।
महत्त्वपूर्ण पूर्वाधारहरू लक्षित रुसी हवाई आक्रमणहरूका कारण हालैका साताहरूमा लाखौँ युक्रेनीहरू बेलाबेलामा विद्युत् र पानीबाट वञ्चित हुने गरेका छन्।
विद्युत्मा अधिक भारको अवस्था निम्तन नदिन र मर्मत कार्य गर्नका लागि पालैपालो विद्युत् कटौती भइरहेको बताइएको छ।
युक्रेनको ऊर्जा प्रणालीको लगभग ४० प्रतिशत विद्युत् केन्द्र र लाइनहरू रुसी आक्रमणका कारण क्षतिग्रस्त वा नष्ट भएका छन्।
सहरका अर्का अधिकारीले पूर्ण रूपमा विद्युत् आपूर्ति रोकिएको अवस्थामा पानी पनि उपलब्ध नहुने र ढलले पनि काम नगर्ने चेतावनी दिएका छन्।
युद्धका क्रममा गरिने व्यवहारको मानवीय मापदण्ड तय गर्ने जेनेभा महासन्धिले "नागरिक पूर्वाधार"हरू विरुद्ध आक्रमणहरू गर्न नहुने जनाउँछ।
युक्रेनी टेलिभिजनमार्फत् मेयर भिटाली क्लिट्स्कोले रुसले गरेको पूर्वाधार लक्षित आक्रमणहरूलाई "आतङ्कवाद" र "नरसंहार"को सङ्ज्ञा दिए।
"रुसी राष्ट्रपति पुटिनलाई युक्रेनी जनता चाहिएको होइन। उनलाई त मानिस बिनाको जमिन चाहिएको हो," पूर्व हेभीवेट बक्सर समेत रहेका मेयरले बताए।
"त्यसैले अहिले पूर्वाधारमा भइरहेको आक्रमणहरू नरसंहार हो। उनको काम हामीलाई मार्नु, चिसोमा बाँच्न बाध्य तुल्याउनु वा हामीलाई हाम्रो भूमिबाट भाग्न लगाउनु हो। ऊ यो भूमि हडप्न चाहन्छ।"
जाडोको समयमा किएभको औसत तापक्रम शून्य डिग्री सेल्सियसभन्दा कम हुन्छ र रातको समयमा अझै घट्छ।
क्लिट्स्कोका अनुसार अधिकारीहरूले बिजुली कटौती हुन नदिन र पानीको आपूर्ति नरोक्न आवश्यक "सबै काम" गरिरहेका छन्। उनले विभिन्न परिस्थितिको लागि तयारी भइरहेको सुनिश्चित गरे।
यदि किएभमा आपूर्ति कटौती भयो भने "सबैभन्दा खराब अवस्था"का लागि योजना बनाउन, किएभका तीस लाख मानिसहरूले नजिकैको उपनगरहरूमा बस्ने र अझै पानी र बिजुली भएका साथीहरू वा आफन्तहरूसँग बस्नको लागि तयारी गर्नुपर्ने ५१ वर्षीय क्लिट्स्कोले बताए।

तस्बिर स्रोत, SHUTTERSTOCK
उनले अधिकारीहरूले इन्धन, खाना र पानीको भण्डारण गरिरहेको र त्यहाँका बासिन्दाहरूले पनि उनीहरूलाई अनुसरण गर्नु पर्ने कुरामा जोड दिए। अहिले सहरभरि कम्तीमा एक हजार उच्च तापक्रमसहित आश्रयस्थल स्थापना भइरहेका छन् जहाँ मानिसहरूले आपत्कालिन अवस्थामा न्यानो पाउन सक्नेछन्।
किएभका सुरक्षा निर्देशक रोमन ट्काचुकले सन्देश आदानप्रदान गर्ने सञ्जाल टेलिग्राममार्फत् मेयरको टिप्पणीसँग मिल्दो राय व्यक्त गरे।
उनले सहरका अधिकारीहरूले विभिन्न योजना बनाइरहेको भए पनि "तत्काल सहरबाट मानव निकासीबारे छलफल गर्नु पर्ने कारण नभएको" बताए।
किएभका बासिन्दाहरूले विद्युत्को पूर्ण कटौती र आपूर्तिहरूको अभाव हुनसक्ने अवस्थाबारे जानकार रहेको बताएका छन्।
दुई छोराछोरीका ३० वर्षीय बुबा दिमिट्रोले परिस्थिति बिग्रिएमा किएभ छोड्ने योजना बनाएको बीबीसीसँग सुनाए। उनले इन्धनको भण्डारण गरेका छन्, जेनरेटर खरिद गरेका छन् र आफ्नो परिवारलाई किएभको बाहिरी भागमा रहेका आफ्ना हजुरबा हजुरआमाको घरमा सार्नेछन्।
दुई साता अघि "अधिकारीहरूले न्यानो बनाउने स्थलहरू स्थापना गर्ने घोषणा गरेपछि" उनले योजनाहरू बनाउन थालेका हुन्।
"उनीहरूको कुराबाट अन्ततः बिजुली नहुने कुरा मैले बुझेँ," उनले भने।
सहरमै बस्ने ३६ वर्षीय अनास्तासियाले विद्युत् ठप्प भए पनि आफू सहरमै बस्ने बताइन्।
"हाम्रा लागि लडिरहेकाहरू भुईँमा सुत्छन्। त्यसैले हामी पनि चिसै भए पनि आफ्नै अपार्टमेन्टमा बस्ने व्यवस्था गर्नेछौँ," उनले भनिन्।









