युक्रेन युद्ध: संवेदनशील पूर्वाधारमा रुसी क्षेप्यास्त्र आक्रमण, खानेपानी र बिजुलीबाट हजारौँ वञ्चित

युक्रेन आक्रमण

तस्बिर स्रोत, Reuters

संवेदनशील पूर्वाधारहरूमा निशाना बनाउँदै रुसले ५० वटाभन्दा बढी क्षेप्यास्त्र प्रहार गर्दा देशभरि बिजुली तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

राजधानी किएभका ८० प्रतिशत बासिन्दा खानेपानीको पहुँचबाट अलग भएको र ३,५०,००० अपार्टमेन्टमा विद्युत् आपूर्ति बन्द भएको मेयर भिटाली क्लित्स्कोले बताएका छन्।

उत्तर पूर्वी सहर खार्किभमा पनि विद्युत्‌ प्रणालीमा आक्रमण भएको छ।

रुसले लामो दूरीमा लक्ष्य भेदन गर्न सक्ने आफ्नो अस्त्रले युक्रेनको सैन्य इलाका र ऊर्जा प्रणालीलाई निशाना बनाएको बताएको छ।

मस्कोस्थित रक्षा मन्त्रालयले "तोकिएका सबै लक्ष्यहरूमा प्रहार भएको" दाबी गरेको छ।

युक्रेनको हवाई प्रतिरक्षा प्रणालीले ५० वटा क्रुज क्षेप्यास्त्रमध्ये ४४ वटा खसालिदिएको त्यहाँको वायुसेनाले जनाएको छ।

युक्रेनका प्रहरी प्रमुखले रुसी आक्रमणमा १३ जना घाइते भएको जानकारी दिए पनि हताहत भए वा नभएकोबारे कुनै विवरण आएका छैनन्।

यसअघि रुसले गाभेको क्राइमियास्थित ब्ल्याक सी क्षेत्रमा आफ्ना पानीजहाजहरूमाथि ड्रोन हमला गरेको आरोप युक्रेनमाथि लगाएलगत्तै रुसले आक्रमण चर्काएको हो।

युक्रेन आक्रमण

तस्बिर स्रोत, Reuters

किएभका मेयर भिटाली क्लित्स्कोले सहर नजिकैको ऊर्जा केन्द्रमा रुसी आक्रमणबाट क्षति भएका कारण पानीको अभाव भएको बताए।

उनका अनुसार आंशिक रूपमा पानीको आपूर्ति पुनः सुरु गर्न तीनदेखि चार घण्टासम्म लाग्न सक्छ।

अवरुद्ध विद्युत् आपूर्ति पुनः सुरु गर्न इन्जिनियरहरूलाई तत्कालै परिचालन गरिएको मेयरले बताएका छन्।

अधिकारीहरूले "प्रभावकारी हवाई प्रतिरक्षा बलका कारण किएभ क्षेत्रमा कुनै पनि प्रहार नभएको" बताएका छन्।

सोमवार बिहान मध्य युक्रेनको भिनित्सिया क्षेत्रका साथै दक्षिण पूर्वी दिनिपोपोत्रोभ्स्क र जापोरिजा अनि पश्चिम युक्रेनका लभिभ क्षेत्रमा पनि क्षेप्यास्त्र आक्रमण भएका विवरण आएका थिए।

युक्रेन आक्रमण

जापोरिजा क्षेत्रको दिनिपो जलविद्युत् उत्पादन केन्द्रमा पनि क्षेप्यास्त्र प्रहार भएको बताइएको छ।

युक्रेनका १० वटा क्षेत्रमा रहेका १८ वटा स्थानमा प्रहार भएको र तीमध्ये अधिकांश ऊर्जा उत्पादन केन्द्रहरू रहेको युक्रेनी प्रधानमन्त्री डेनिस श्मीहलले बताएका छन्। उनले सातवटा क्षेत्रका सयौँ बस्तीमा विद्युत् आपूर्ति ठप्प भएको दाबी गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन-रुस युद्ध: रुसी क्षेप्यास्त्रले विस्फोट गराएको दृश्य