भ्लादिमिर पुटिन: ‘दोस्रो विश्वयुद्धपछि विश्व सबैभन्दा डरलाग्दो दशकमा'

तस्बिर स्रोत, Reuters
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धपछि अहिले विश्व "सम्भवतः सबैभन्दा खतरनाक दशकमा" भएको चेतावनी दिएका छन्।
विभिन्न विषयहरू समेटिएको उनको सम्बोधनमा उनले युक्रेनमाथिको रुसी आक्रमणको औचित्य पुष्टि गर्ने प्रयास गरेका थिए।
उक्त आक्रमणले उनको देशलाई अन्तर्राष्ट्रिय रूपमा नै एक्लो पारिदिएको छ।
पश्चिमा देशहरूले रुसविरुद्ध परमाणुयुद्धको त्रास देखाएर साझेदारहरूलाई मस्कोसँग टाढिन बाध्य पारेको आरोप उनले लगाए।
परमाणुअस्त्रको चर्चा
हालै क्रेम्लिनले अप्रत्यक्ष रूपमा दिएको परमाणुअस्त्र प्रयोग गर्ने धम्कीको पश्चिमा देशहरूले निन्दा गरेका थिए।
यसै साताको सुरुमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोले युक्रेनले 'डर्टी बम' अर्थात् रेडिओधर्मी पदार्थ समेत हुने परम्परागत विस्फोटक सामग्री प्रयोग गर्न सक्ने रुसको प्रमाणविहीन दाबीको निन्दा गरेको थियो।
नेटोका महासचिव जेन्स स्टोल्टन्बर्गले गठबन्धनका सदस्यहरूले "त्यो आरोप अस्वीकार गर्नुपर्ने" र "रुसले त्यसलाई द्वन्द्व बढाउने कारणका रूपमा प्रयोग गर्न नहुने" बताएका थिए।
युक्रेनमा रुसले खेपेको सैन्य पराजय र युद्धका लागि झन्डै तीन लाख रुसीहरूलाई परिचालन गर्ने निर्णयका कारण देशभित्र बढिरहेको आक्रोशका माझ राष्ट्रपति पुटिन वार्षिक भाल्दाई फोरममा बोल्दै थिए।


मस्कोमा सम्बोधन गर्नु एक दिनअघि उनले शत्रुबाट हुन सक्ने भीषण परमाणुआक्रमणको प्रतिकारमा गर्ने भनिएको परमाणुअस्त्र आक्रमणसम्बन्धी एउटा नियमित अभ्यासको निरीक्षण गरेको जनाइएको छ।
उनले भने, "हामीले कहिल्यै पनि आफैँ अग्रसर भएर रुसको सम्भावित परमाणुअस्त्र प्रयोगबारे केही पनि भनेका छैनौँ। हामीले पश्चिमा देशका नेताहरूले दिएको प्रतिक्रियाका कारणमा केही सङ्केतहरूमात्रै दिएका छौँ," उनले भने।
राष्ट्रपति पुटिनले यसअघिकी ब्रिटिश प्रधानमन्त्री लिज ट्रसले अगस्टमा भएको उनको चुनावी अभियानमा परिस्थितिले माग गरे आफू परमाणुअस्त्रको बटन थिच्न तयार रहेको बताएको कुरा उल्लेख गरेका थिए।
यूकेका साझेदारहरूले त्यसप्रति आपत्ति जनाएको नदेखेर आफूलाई आश्चर्य लागेको भन्दै उनले थपे, "हामीले के गर्नुपर्थ्यो होला? मौन बस्नु? त्यसलाई हामीले सुनेनौँ जस्तो गरेर बस्नु?"
तर उनी स्वयंले रुसले आफूसँग "उपलब्ध भएसम्मका सबै साधन" आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने चेतावनी दिने गरेका छन्। त्यसलाई परमाणुअस्त्र प्रयोग गर्न सक्ने स्पष्ट चेतावनीका रूपमा बुझ्ने गरिएको छ।
पश्चिमा जगत्को आलोचना
हालै आफूले गरेका पश्चिमा देशप्रतिको कडा आलोचनालाई दोहोर्याउँदै उनले तिनीहरूले "खतरनाक, रक्तपातपूर्ण र फोहोरी खेल" का माध्यमले कैयौँ देशहरूलाई सार्वभौमसत्ता र मौलिकता प्रयोग गर्न वञ्चित गरेको आरोप लगाए।
उनले विश्वमामिलामा पश्चिमको "अविभाजित प्रभुत्व" अब अन्त्य हुन लागेको बताए।
"हामी एउटा ऐतिहासिक मोर्चामा छौँ। दोस्रो विश्वयुद्ध अन्त्य भए यताकै सम्भवतः सबैभन्दा खतरनाक, भविष्यवाणी गर्न नसकिने र महत्त्वपूर्ण दशक हाम्रा सामु छ," उनले भने।
उनले पश्चिमा जगत्ले नेतृत्व लिन नसक्ने भए पनि "व्याकुल भएर प्रयास" गरिरहेको बताए।
"भविष्यको विश्वव्यवस्था हाम्रो आँखाअघि निर्माण भइरहेको छ," उनले भने। अमेरिकाको नेतृत्वमा पश्चिमा जगत्ले रुसलाई ध्वस्त बनाउने प्रयास गरेको उनको आरोप थियो।
तर आफ्नो आरोपलाई पुष्टि गर्न उनले कुनै प्रमाण प्रस्तुत गरेनन्।

तस्बिर स्रोत, RUSSIAN DEFENCE MINISTRY
'पश्चात्तापको कुनै सङ्केत छैन'
बीबीसीका रुस सम्पादक स्टीभ रोजन्बर्ग भन्छन्, "आज हामीले जे सुन्यौँ र देख्यौँ त्यो पुटिनले भने अनुसारको विश्व हो। त्यसमा रुसको कुनै दोष छैन र युक्रेनदेखि विश्व खाद्य सङ्कटसम्म सबै कुराका लागि पश्चिमा देशहरू जिम्मेवार छन्।"
उनका अनुसार क्रेम्लिनका नेतालाई आफूले गरेका कामबारे कुनै पनि पश्चात्ताप छैन र भए पनि उनी त्यसलाई सार्वजनिक रूपमा व्यक्त गर्न तयार छैनन्।
रोजन्बर्गका अनुसार राष्ट्रपति पुटिनले "विशेष सैन्य कारबाही" का क्रममा भएको "क्षति"बारे पनि महत्त्वपूर्ण टिप्पणी गरेका थिए।
"म सधैँ मानव जीवनको क्षतिबारे सोचिरहेको हुन्छु," पुटिनले भनेका थिए। तर त्यति भनेपछि तुरुन्तै उनले रुसले हासिल गरेका "ठूला फाइदाहरू"बारे बोल्न थाले।
पुटिनका विचारमा रुसले आफ्नो देशको सार्वभौमसत्ता बलियो पार्ने सहितका उपलब्धि हासिल गरेको छ।
रोजन्बर्ग भन्छन्, "गल्ती वा पश्चात्तापको कुनै सङ्केत छैन। पछि हट्ने कुनै सङ्केत छैन।"










