हाइपरसोनिक क्षेप्यास्त्र: यूके, अमेरिका र अस्ट्रेलियाले रक्षा सहकार्य बढाउने

तस्बिर स्रोत, EPA
- Author, क्रिष्टी कुनी
- Role, बीबीसी न्यूज
यूके, अमेरिका र अस्ट्रेलियाले आफ्नो रक्षा प्रणाली सुदृढ गर्न हाइपरसोनिक अस्त्रको अनुसन्धान अघि बढाउन लागेको यूके सरकारले बताएको छ।
तीन देशले गत वर्ष घोषणा गरेको ओकस सुरक्षा साझेदारी अन्तर्गत यो योजना अघि सारिएको हो।
चीन र रुसले हाइपरसोनिक क्षेप्यास्त्रको निर्माण गरेपछि पश्चिमा देशहरूको गठबन्धन पनि यो अस्त्र बनाउने तयारीमा जुटेको हो।
रुसले गत महिना युक्रेन आक्रमणमा यस्तो अस्त्रको प्रयोग समेत गरेको थियो।
हाइपरसोनिक अस्त्रको गति आवाजको वेग भन्दा पाँच गुणा तीव्र हुन्छ।
तीव्र गति र कम उचाइबाट उड्ने भएकाले जमिनका राडारबाट यस्ता हाइपरसोनिक क्षेप्यास्त्र पहिचान गर्न, रोक्न वा बीच उडानमै नष्ट गर्न समेत कठिन हुन्छ।
यूकेसँग हालसम्म हाइपरसोनिक क्षेप्यास्त्र छैन।
अमेरिका र अस्ट्रेलियाले भने यस्तो हतियार निर्माणका लागि संयुक्त परियोजना सञ्चालन गरिरहेका छन्। यूकेले नयाँ सहकार्य रक्षा क्षेत्रमा केन्द्रित हुने जनाएको छ।
यूकेले आफ्नै हाइपरसोनिक हतियार बनाउने योजना नरहे पनि नयाँ कार्यक्रमले आफूलाई यस्तो हतियार बनाउन आवश्यक परेको अवस्थामा पहुँच स्थापित गर्न सहयोग पुग्ने जनाएको छ।
युक्रेनमा यस्तो अस्त्र प्रयोग गर्ने रुसको कदमबाट पछिल्लो घोषणा नजोडिएको प्रस्ट्याउँदै यूकेले अरू देशहरूले यस्तो हतियारमा लगानी गरिरहेका कारण त्यसको प्रतिरक्षाका लागि आफ्नो देशले पनि सोच्ने समय आएको बताएको छ।
रुसले मार्च १९ मा युक्रेनको एउटा हतियार भण्डार नष्ट गर्न हाइपरसोनिक क्षेप्यास्त्रको प्रयोग गरेको दाबी गरिएको थियो।
अमेरिकी सैन्य गुप्तचर निकायले रुसी फौजहरूले त्यसयता निरन्तर यस्तो हतियार प्रयोग गरेको दाबी गरेको छ।
यो आक्रमणलाई सैन्य कारबाहीमा पहिलो पटक हाइपरसोनिक क्षेप्यास्त्र प्रयोग गरेको घटनाको रूपमा हेरिएको छ।
यो घटनाको केही महिनाअघि चीनले दुई वटा आणविक हतियारयुक्त हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको अमेरिकी गुप्तचरहरूले बताएका थिए।
दुवै क्षेप्यास्त्रले जमिनको सतहभन्दा कम उचाइबाट पृथ्वीलाई फन्को मारेका थिए। दोस्रो क्षेप्यास्त्र निर्धारित लक्ष्यमा नपुगे पनि करिब ४० किलोमिटर नजिकसम्म पुगेको थियो।
यो क्षेप्यास्त्र 'फ्राक्सनल अर्बिटल' बमबारी प्रणाली अन्तर्गत बनेकाले यसले अनपेक्षित दिशाबाट मार हान्न सक्छ।
हाइपरसोनिक ग्लाइडरको सहारामा बाहिरी वायुमण्डलमा रहने यो अस्त्र उडानको धेरै पछिसम्म पनि राडारहरूबाट पहिचान गर्न कठिन हुने बताइएको छ।
यो परीक्षणले चीनसँग यसअघि ठानिएकोभन्दा धेरै अत्याधुनिक क्षमता रहेको प्रदर्शन गरेको थियो।

उत्तर कोरिया पनि हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणको दौडमा रहेको दाबी गरिएको छ।
सन् २०२१ को सेप्टेम्बरमा घोषणा गरिएको ओकस साझेदारीलाई इन्डो प्यासिफिक क्षेत्रको त्रिदेशीय रणनीति हो।
यसको प्रमुख उद्देश्य यूके र अमेरिकाले अस्ट्रेलियालाई परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी राख्न सहयोग गर्नु हो।
यो सम्झौताले साइबर क्षमता, आर्टिफिशल इन्टेलिजन्स, क्वान्टम प्रविधिसहित समुद्रमुनि प्रयोग हुने प्राविधिक क्षमतामा सहकार्य बढाउने लक्ष्य राखेको छ।
"हामीले तीन वटै देशका प्राविधिक ज्ञान र क्षमतालाई एक ठाउँमा ल्याउँछौँ र हामी आफैँ, हाम्रा सहयोगी र साझेदारहरूलाई सुरक्षित राख्न हामीले ठूलो उपलब्धि हासिल गर्नेछौँ," मङ्गलवारको घोषणाबारे यूकेका राष्ट्रिय सुरक्षा सल्लाहकार स्टेफन लभग्रोभले भने।
"युक्रेनमाथि रुसी आक्रमणको सन्दर्भमा प्रजातन्त्र, अन्तर्राष्ट्रिय कानुन र विश्वमा स्वतन्त्रताको रक्षाका लागि सहयोगी देशहरू सँगसँगै काम गर्नुपर्ने महत्त्व अझै बढेको छ।"
बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनरका अनुसार भविष्यमा हुने युद्धका लागि हाइपरसोनिक क्षेप्यास्त्र कोशेढुङ्गा हुन सक्छन्।
आकाश, जमिन वा समुद्र तीनै स्थानबाट प्रक्षेपण गर्न सकिने र परम्परागत तथा आणविक हतियार बोक्न सक्ने यस्ता क्षेप्यास्त्रहरूको निर्माणमा चीन सबैभन्दा अगाडि रहेको ठानिएको छ।
चीनलाई यस्तो अस्त्र निर्माणमा रुसले पछ्याइरहेको छ।
अहिले विभिन्न देशहरू यस्ता अस्त्रको प्रतिरक्षा प्रणाली विकासका लागि रक्षा नीतिहरू परिवर्तन गरिरहेका छन्।









