हु जिन्ताओ: कम्युनिस्ट पार्टीको अधिवेशनको ताजा भिडिओ फुटेजले बहिर्गमनबारे बढाएको सन्देह

तस्बिर स्रोत, CNA
- Author, फान वाङ
- Role, बीबीसी न्यूज, सिङ्गापुर
चीनका पूर्व नेता हु जिन्ताओलाई नाटकीय रूपमा अघिल्लो हप्ता बेइजिङमा भएको कम्युनिस्ट पार्टीको महाधिवेशनबाट बाहिर निकालिनुअघि के भएको थियो भन्नेबारे ताजा भिडिओ फुटेज बाहिर आएको छ।
त्यसमा हुको बायाँतर्फ बसेका बहिर्गमन हुन लागेका पोलिट्ब्युरो सदस्य ली चाङ्शूले एउटा फाइल लिएको र उनीसँग बोलिरहेको विस्तृत रूपमा देखाइएको छ।
त्यसपछि चीनका राष्ट्रपति सी जिन्पिङले अर्को व्यक्तिलाई लामो निर्देशन दिएको र लगत्तै ती व्यक्तिले हुलाई अधिवेशनस्थल छाड्न अनुरोध गर्ने प्रयास गरेको देखाइएको छ।
उक्त अप्रत्याशित क्षणले व्यापक रूपमा अड्कलबाजी निम्त्याएको छ।
हुलाई निकालिएकोबारे कस्तो प्रतिक्रिया आइरहेका छन्?

तस्बिर स्रोत, EPA-EFE/REX/SHUTTERSTOCK
कैयौँले सहमतिका आधारमा चल्ने हु कालीन युग पूर्ण रूपमा समाप्त भएको सन्देश दिन राष्ट्रपति सीले जानाजान आफ्नो शक्ति देखाएको रूपमा उक्त घटनालाई अर्थ लगाइरहेका छन्।
अरू कतिपयले चाहिँ हुको कमजोर स्वास्थ्यका कारण त्यस्तो गरिएको हुनसक्ने बताइरहेका छन्।
सरकारी समाचार संस्था सिन्ह्वाले पछि एउटा ट्विटमार्फत अस्वस्थ महसुस गरेपछि हुलाई अधिवेशन कक्षबाट बाहिर लगिएको जनाएको थियो। तर उसले आफ्नो घरेलु संस्करणमा उक्त विषयबारे खबर प्रकाशित गरेन।
चीनमा ट्विटरलाई प्रतिबन्ध लगाइएको छ।
उक्त घटना राष्ट्रपति सीले आफू प्रति वफादार वरिष्ठ नेताहरूको टोलीको नियुक्ति सहित तेस्रो कार्यकालको घोषणा गर्नु एक दिन अघि भएको थियो।
हुलाई निकालिएको समय र चिनियाँ राजनीतिको अपारदर्शी चरित्रका कारण वास्तवमा के कारणले त्यस्तो भयो भन्नेबारे अझै पनि विश्वभरबाट अनुमानहरूमात्र लगाइएका छन्।
धेरैले के त्यो नियोजित रूपमा गराइएको राजनीतिक मञ्चन थियो भनेर प्रश्न गरिरहेका छन्।
सन् २००३ देखि सन् २०१३ सम्म राष्ट्रपति रहेका हुको पालामा चीन बाहिरी विश्वसँग खुला भइरहेको देखिएको थियो।
तर राष्ट्रपति सीको शासनकालमा बढ्दो रूपमा चीन एक्लिरहेको देखिन्छ।
नयाँ फुटेज कसरी आयो
सिङ्गापुरमा रहेको च्यानल न्यूज एसियाले खिचेको उक्त फुटेजले हु बिरामी रहेको सरकारी भनाइको खण्डन गर्दैन।
तर त्यसले आफू अगाडि रहेको दस्ताबेजप्रति हुले देखाएको व्यवहारले उक्त घटनामा भूमिका खेलेको भने त्यसले सङ्केत दिन्छ।
उक्त भिडिओमा हुलाई सहयोग गर्न ली चाङ्शू उठ्न खोजेको जस्तो देखिन्छ तर बायाँमा रहेका वाङ खुनिङले लीलाई बस्न इशारा गर्छन्।

तस्बिर स्रोत, CNA
त्यसबीचमा आफूलाई बाहिर लगिँदै गर्दा हुले भावविहिन मुद्रामा राष्ट्रपति सीलाई केही भन्दै गरेको देखिन्छ। पहिलो लहरमा रहेका नेताहरूले हु बाहिरिँदै गर्दा पछाडि हेरेको देखिदैँन्।
कम्युनिस्ट पार्टीको पत्रिका द स्टडी टाइम्सका पूर्व सम्पादक देङ युवेनका अनुसार क्यामेराले खिचिरहेको त्यस्तो उच्च महत्त्वको बैठकमा हुले उनी अघि राखिएको तर पढ्न नमिल्ने खालको दस्ताबेज पार्टीले ल्याउने कुनै कारण नरहेको बताए।
"वास्तवमै त्यो अस्वाभाविक अवस्था थियो," उनी भन्छन्, "उक्त फाइलमा के थियो वा त्यहाँ के भनिराखिएको थियो भन्नेबारे थप प्रमाण नआएसम्म कसैले पनि यसलाई व्याख्या गर्न सक्दैन।"
हु जिन्ताओ सम्बन्धी भिडिओले दिएको सन्देश
अस्ट्रेलियन न्याश्नल युनिभर्सिटीका प्राध्यापक वेन ती सुङले नयाँ फुटेज निष्कर्षविहीन रहेको बताए।
"चीन भनेको पूर्ण रूपमा आदेशले चल्ने देश हो, त्यसमा पनि यस्तो अति उच्च महत्त्वको घटना र त्यो पनि सीको कार्यकाल जहाँ नियन्त्रण प्रमुख हो," उनले भने।
उनले आकस्मिक रूपमा हु बाहिरिनु आश्चर्यजनक देखिएको र त्यसका कारण पछाडि चलिरहेका हल्लाहरू औचित्यपूर्ण देखिएको बताए।

तस्बिर स्रोत, Reuters
उनले थपे, "तर त्यसो भन्दैमा दण्ड दिइएको भन्ने हल्ला वा अनुमान साँच्चिकै सही नहुनसक्छ।"
तर देङले अरू वरिष्ठ अधिकारीहरूको हाउभाउले चीनमा सीको नयाँ नीतिबारे केही सङ्केत दिएको बताए।
हुको कार्यकालमा उनीपछिको दोस्रो वरियतामा रहेका प्रधानमन्त्री वेन जिआबाओ पूर्व नेतालाई बाहिर निकालिँदै गर्दा सिधा अगाडी हेरिरहेको सो फुटेजमा देखिन्छ।
देङ भन्छन्, "यसले मञ्चमा के भइरहेको छ भनेर हेरिरहेका अधिकारीहरूमा चिसो पस्ने देखिन्छ। यद्यपि यसले सीको शक्तिमा कुनै जोखिम आउनेछैन तर यसले ती अधिकारीहरूमा मनोवैज्ञानिक प्रभाव पार्नेछ।"
यदि अघिल्लो दिनको घटना वास्तवमै नियोजित थिएन र त्यो हुको स्वास्थ्यलाई ध्यान दिएर गरिएको थियो भनेपनि त्यसको भोलिपल्ट हुले नियुक्त गरेका नयाँ पोलिट्ब्युरो स्थायी कमिटीले पूर्व नेताको बहिर्गमनबारे साङ्केतिक सन्देश दिन्छ।
त्यो भनेको हु जिन्ताओको कार्यकालका नीतिहरू अब चीन फर्कनेछैनन्।








