चिनियाँ कम्युनिस्ट पार्टी: अभूतपूर्व पकड सहित सी जिन्पिङ तेस्रो कार्यकालका लागि नेतृत्वमा

चिनियाँ नेताहरू

तस्बिर स्रोत, Getty Images

पार्टीको अधिवेशनबाट तेस्रो कार्यकालका लागि पुन: शक्तिमा आएका चिनियाँ राष्ट्रपति सी जिन्पिङले आफ्नो नयाँ समूह चयन गरेका छन्।

प्रधानमन्त्री ली खछ्याङ पार्टी नेतृत्वबाट बाहिरिएका छन्।

नयाँ स्थायी समितिमा सीप्रति बफादार नेताहरू छनौट भएका छन्।

हरेक पाँच वर्षमा हुने चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनबाट पार्टी महासचिवसँगै सात सदस्यीय स्थायी समिति र २५ सदस्य रहेको पोलिटब्यूरो चयन हुन्छन्।

विगतको अभ्यास तोड्दै राष्ट्रपति सी जिन्पिङ तेस्रो कार्यकालका लागि पार्टी महासचिव छानिएका छन्।

नयाँ चयन भएको पोलिटब्यूरोमा एक जना पनि महिला छैनन्।

चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिको सदस्यमा ली चियाङ, झाओ लेजी, वाङ हुनिङ, साई ची, दिङ सियासियाङ र ली सी चयन भएका छन्।

चिनियाँ नेताहरू

जसमध्ये झाओ र वाङ मात्रै दोहोरिएका हुन् भने ली चियाङ सहित चार जना नयाँ सदस्य नियुक्त भएका छन्।

स्थायी समितिबाट बाहिरिनेमा उपप्रधानमन्त्री हान झेन र चीनको न्याशनल पीपल्स कङ्ग्रेसका अध्यक्ष ली चाङ्शू पनि छन्।

नेपालका तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चाङ्शू गत महिना नेपाल भ्रमणमा आएका थिए।

चिनियाँ कम्युनिस्ट पार्टीको सल्लाहकार निकायका प्रमुख वाङ याङ पनि स्थायी समितिबाट बाहिरिएका छन्।

को हुन् ली चियाङ

उक्त अति नै औपचारिक समारोहमा राष्ट्रपति सीको पछि पछि हिँडेका ली चियाङ भावी प्रधानमन्त्री बन्ने र देशको अर्थतन्त्र हेर्ने जिम्मेवारी उनले पाउने धेरैले विश्वास गरेका छन्।

राष्ट्रपति सीसँग निकट मानिने ६३ वर्षीय ली यसअघि उनको सचिवालयमा प्रमुखको रूपमा समेत काम गरेका थिए।

उनी पार्टीको साङ्घाइ प्रमुख थिए र यसअघि उक्त सहरमा भएको दुई महिने लकडाउनमा उनले नेतृत्व गरेका थिए।

कतिपयले उनलाई प्रधानमन्त्री बनाउने कदमले राष्ट्रपति सीले आर्थिक गतिविधिलाई प्राथमिकता नदिएको सन्देश जाने टिप्पणी गरेका छन्।

स्टेट काउन्सिल भनिने चिनियाँ मन्त्रिपरिषद्को अनुभव नभएका लीलाई पार्टीमा एकै पटक केही तह बढुवा गरेको हो।

चिनियाँ नेताहरू

तस्बिर स्रोत, Reuters

"केन्द्रमा काम गरेको अनुभवबिनै प्रदेश वा नगरको जिम्मेवारीबाट सिधै बढुवा हुने ली चियाङ पहिलो अधिकारी हुन्," अमेरिकन युनिभर्सिटीका प्राध्यापक याङ झाङले बीबीसीसँग भने।

मन्त्रिपरिषद्को अनुभव नभएका कारण ली आफ्नो अधिकार प्रयोगका लागि राष्ट्रपति सीमा निर्भर रहनुपर्ने अवस्था आउनसक्ने विश्लेषकहरूले बताएका छन्।

यसअघिका प्रधानमन्त्री ली खछ्याङ स्थायी समितिमा राष्ट्रपति सीसँग समेत प्रतिवाद गर्न सक्थे।

लीको बढुवाले चिनियाँ राजनीतिमा महत्त्वपूर्ण पुनर्संरचनाका साथै राष्ट्रपति सीमा थप शक्ति केन्द्रीकृत भएको देखाएको छ।

'विश्वलाई चीन चाहिन्छ'

आफ्नो नयाँ टोली सार्वजनिक गरेपछि सीले चीनको विकाशका लागि विश्व चाहिने र विश्वका लागि पनि चीन आवश्यक पर्ने बताएका छन्।

चिनियाँ नेताहरू

तस्बिर स्रोत, Reuters

सीले डोर्‍याएको बाटोका कारण विश्व अर्थतन्त्रबाट चीन एक्लीएको चिन्ताबीच उनले यस्तो बताएका हुन्।

"विश्वबाट अलग भएर चीनको विकाश हुन सक्दैन र विश्वलाई पनि चीनको आवश्यकता पर्छ," सीले भने।

आफूहरू आत्मविश्वासका साथ अघि बढिरहेको भन्दै उनले चीनलाई आधुनिक समाजवादी देश बनाउने वाचा गरे।

"चीनलाई सबै हिसाबले आधुनिक समाजवादी देशमा परिणत गर्ने नयाँ यात्रामा हामीले आत्मविश्वासका साथ पाइला चालिरहेका छौँ," आफ्नो नयाँ टिम सार्वजनिक भएपछि सीले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, विदेशी शक्तिले धम्काउन खोजे ‘तिनको टाउकोमा प्रहार हुने’

सी चाहेसम्म पदमा रहिरहन सक्ने

बीबीसीका चीन संवाददाता स्टीभन मक्डोनलका अनुसार तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेका सी जिन्पिङ भविष्यमा कुनै राजनीतिक उतार चढाव आएर पदबाट हटाइएको अवस्थामा बाहेक आफूले चाहेसम्म पदमा रहिरहन सक्छन्।

कम्युनिस्ट पार्टीको केन्द्रमा सीलाई निरन्तरता बाहेक यो महाधिवेशनले अरू कुनै निर्णय लिने अपेक्षा कसैले गरेका थिएनन्।

यसमा नयाँ के भयो भने सीको नयाँ टोलीमा उनका निकटस्थहरू जम्मा भए।

कम्युनिस्ट पार्टीको २५ सदस्यीय पोलिटब्यूरोमा महिला कहिल्यै चुनिएका छैनन्।

सीले पनि यो परम्परा तोड्न सकेनन्। चीनको सांस्कृतिक क्रान्तिका समयमा ग्याङ अफ फोरका नामले चिनिएको नेतृत्व तहको समूहमा माओकी चौथो श्रीमती रहे पनि उनको पद औपचारिक थिएन।

नेतृत्वमा महिला नहुँदा कतिपयलाई बेखुसी लागे पनि यो अनौठो होइन।