भारतः भारतीय कांग्रेस पार्टीका अध्यक्षमा ८० वर्षीय मल्लिकार्जुन खड्गे निर्वाचित, उनी को हुन्?

तस्बिर स्रोत, Getty Images
भारतमा पाका राजनीतिज्ञ मल्लिकार्जुन खड्गेले प्रमुख प्रतिपक्षी दल कांग्रेस पार्टीको आन्तरिक चुनावमा पार्टी अध्यक्ष पद जितेका छन्।
उनले सांसद शशि थरुरलाई पराजीत गरेर नयाँ अध्यक्ष बनेका हुन्।
धेरै बहुमत
खड्गेले थरुरले प्राप्त गरेको भन्दा ८ गुणा धेरै मत पाएका छन्।
विजयपछि खड्गेलाई बधाइ दिँदै थरुरले भने, "हाम्रो पार्टीको पुनरूत्थान आजबाट साँच्चिकै सुरु भएको मेरो विश्वास छ।"
दुई दशकभन्दा धेरै समयपश्चात् पार्टीको नेतृत्व गैर गान्धी परिवारका नेतामा पुगेको छ।
यसअघि सन् १९९८ मा सिताराम केसरीलाई पाँच वर्षे कार्यकालको दुई वर्ष बिताउन नपाउँदै हटाइएको थियो।
केसरीलाई सोनिया गान्धीले विस्थापित गरेकी थिइन्।
उनले पार्टीको नेतृत्व १९ वर्षसम्म सम्हालिन्।
सन् २०१७ मा उनका छोरा राहुल गान्धी उक्त पदमा निर्विरोध निर्वाचित भएका थिए।
तर सन् २०१९ को आम चुनावमा पार्टीको पराजयपछि उनले पद त्यागेका थिए।
त्यसयता सोनीया गान्धीले नै पार्टीको नेतृत्व सम्हाल्दै आएकी थिइन्।
को हुन् खड्गे?
गान्धी परिवारसँग निकट रहेका खड्गेको विजय अपेक्षित नै ठानिएको थियो।
पूर्व केन्द्रीय मन्त्री खड्गेले पार्टीमा साङ्गठनिक सुधार गर्ने भनेका छन्। जसमा ५० प्रतिशत प्रतिनिधित्व ५० वर्षभन्दा कम उमेर समूहको गराइने उनको योजना छ।
उनी स्वयं ८० वर्षका छन्।
दक्षिण भारतीय राज्य कर्नाटकाको दलित समुदायका उनी लामो समयदेखि सार्वजनिक जीवनमा छन्।
सन् १९४२ मा बिदार जिल्लामा जन्मिएका उनको हुर्काइ छिमेकी गुलबर्ग जिल्लामा भएको थियो।

तस्बिर स्रोत, Getty Images
उनले कानुन पढेका छन्। प्रारम्भिक कालमा उनले मजदूर युनियनहरूको प्रतिनिधित्व गरेका थिए।
विद्यार्थीकाल देखि नै उनले राजनीतिमा गहिरो अभिरुचि राखे। उनी सन् १९६९ मा कांग्रेस पार्टीमा सामेल भए।
सन् १९७२ मा त्यतिखेर उक्त राज्यका पार्टी प्रमुख देवराज अर्सले उनलाई माथिल्लो भनिने जातिको दबदबा रहेको गुर्मित्काल निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रोत्साहन गरेका थिए।
उनले उक्त क्षेत्रमा लगातार ९ पटक चुनाव जितेका छन्।
साथै उनले चितापुर क्षेत्रबाट समेत चुनाव लडेर जितेका छन्।
बीजेपीसँग टक्कर
पाका नेता खड्गेको सामु अब डेढ वर्ष जति पछि हुन लागेको आम चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (बीजेपी)सँगको टक्कर चुनौतीका रूपमा रहेको देखिन्छ।
त्यसका निम्ति पार्टीमा सुधार जरुरी भएको विश्लेषकहरू ठान्छन्।
साथै उनले हालसम्मकै सबभन्दा खराब "संरचनागत, साङ्गठनिक तथा वैचारिक नेतृत्व" सङ्कट बेहोरिरहेको पार्टीलाई सही नेतृत्व दिनुपर्नेछ।
राजनीतिक विश्लेषक के बेनेडिक्टका विचारमा पार्टीभित्र विभिन्न गुटमाझ रहेका तनाव मत्थर गर्न उनी सिपालु हुनेछन्। "तर अरूसँग लड्ने मामिलामा उनी सक्षम होइनन्।"
साथै कतिपयले दक्षिण भारतका राजनीतिज्ञ भएकाले उनले धेरै जनसङ्ख्या भएको उत्तर प्रदेश र बिहारमा धेरै प्रभाव पार्न नसक्ने ठानेका छन्।
ती दुई राज्यले मात्र १२० सांसद चुन्छन्। त्यहाँ उक्त पार्टीको हालत खराब छ।








