युक्रेन युद्ध: प्रत्याक्रमण तीव्र भएपछि खेअरसन छाड्न सर्वसाधारणलाई रुसको आग्रह

रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेअरसन क्षेत्रमा रुसले नियुक्त गरेका नेता भ्लादिमिर साल्डोले सर्वसाधारणहरूलाई सो क्षेत्र छोड्न भनेका छन्।

आफ्नो भूभाग फिर्ता लिन अघि बढिरहेको युक्रेनी फौजले उक्त क्षेत्रमा दैनिक जसो रकेट आक्रमण गरिरहेको छ।

रुसले नियुक्त गरेका नेताले सर्वसाधारणहरूलाई "अध्ययन र समय बिताउन" रुसमा गएर "आफ्नो जीवन रक्षा गर्न" आग्रह गरेका छन्। उनले सहयोगका लागि रुससँग पनि आग्रह गरेका छन्।

उनको आग्रहलाई रुसका उपप्रधानमन्त्री मरात खुस्नुलिनले पनि एक टेलिभिजन सन्देश मार्फत् समर्थन गरेका छन्।

आफ्नै देशका नागरिकहरू लक्षित आक्रमण गरेको आरोप युक्रेनले अस्वीकार गर्दै आएको छ।

युक्रेनी सेनाले उत्तर पश्चिमी खेअरसनको केही भूभागमा पुनः आफ्नो नियन्त्रण कायम गर्दै क्षेत्रीय राजधानी खेअरसन सहरतर्फ अघि बढेको छ।

"उक्त क्षेत्रका बासिन्दाहरूलाई त्यहाँबाट बाहिरिएर देशका अन्य क्षेत्रमा पुग्न सरकारले सहयोग गर्ने निर्णय गरेको छ," दक्षिणी रुस र क्राइमिया क्षेत्रका लागि विशेष जिम्मेवारी पाएका खुस्नुलिनले भने।

"सबैलाई निःशुल्क आवास सहित आवश्यक सबै व्यवस्था हामी गर्छौँ।"

खेअरसनबाट उद्धार गरिएका मानिसहरूको पहिलो समूह शुक्रवार रुसको रोस्तोभ क्षेत्रमा पुग्ने उक्त क्षेत्रका गभर्नर भासिले गोलुभलाई उद्धृत गर्दै रुसी सरकारी समाचार संस्था तासले जनाएको छ।

"खेअरसन क्षेत्रबाट आउन चाहने सबैलाई रोस्तोभ क्षेत्रले स्वीकार गर्छ र बसोबासको व्यवस्था पनि मिलाउँछ," उनले भनेका छन्।

प्रत्याक्रमण तीव्र बनाएको किएभले अन्य हतियारसँगै अमेरिकाले उपलब्ध गराएको हिमार्स रकेट प्रणालीको प्रभावकारी उपयोग गरिरहेको छ।

युक्रेनले रुसी सेना लक्षित निशानाहरूमा आक्रमण गरिरहेको छ र आफ्नो भूभागमा नियन्त्रण कायम गरिरहेका सैनिकहरूलाई रुसको सम्पर्कबाट विच्छेद गर्ने चेतावनी दिएको छ।

गत फ्रेब्रुअरीमा सुरु भएको आक्रमणमा रुसले नियन्त्रण कायम गरेको क्षेत्रीय राजधानी खेअरसन मात्रै हो।

युक्रेनको सेनाले भने यो क्षेत्रमा प्रत्याक्रमणका लागि अघि बढिरहेको आफ्नो फौजबारे केही पनि बोलेको छैन।

रुसले नियुक्त गरेका नेता साल्डोले बिहीवार खेअरसन र नोभा काखोभ्का सहित प्रमुख दुई सहरहरूमा दैनिक जसो युक्रेनी रकेट आक्रमण भइरहेको बताएका छन्।

"यी आक्रमणहरूले गम्भीर क्षति पुर्‍याइरहेका छन्," त्यहाँका बासिन्दालाई रुस वा क्राइमियातर्फ जान आग्रह गर्दै उनले भने।

उनले मस्को सरकारसँग पनि उनीहरूको उद्धार प्रक्रियामा सहयोग गर्न आह्वान गरेका छन्।

"रुसले आफ्ना जनतालाई अलपत्र छाड्दैन," देशभित्र लोकप्रिय भनाइ दोहोर्‍याउँदै उनले भने।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिणी युक्रेनका खेअरसन र जापोरिजा तथा पूर्वका डोनेट्स्क र लुहान्स्क क्षेत्र रुसमा गाभिएको घोषणा गरेका थिए। युक्रेन र उसका सहयोगी पश्चिमा देशहरूले त्यसको भर्त्सना गर्दै त्यसको कानुनी आधार नभएको दाबी गरेका थिए।

क्रेम्लिनले यी चारवटै क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण कायम गर्न सफल भएको छैन।

बुधवार मात्रै संयुक्त राष्ट्रसङ्घको महासभामा युक्रेनको भूभाग गाभ्ने रुसी कदमको विरुद्ध मतदान भएको थियो।

रुसी कदमको भत्सर्नाको पक्षमा १४३ देशले मतदान गरे भने भारत र चीन सहित ३५ देशहरूले मतदानमा भाग लिएनन्।

रुस सहित बेलारुस, उत्तर कोरिया, सिरिया र निकारागुआले रुसी कदमको भर्त्सना गर्ने प्रस्तावको विपक्षमा मतदान गरेका थिए।

उक्त मतदान प्रतीकात्मक मात्रै भए पनि रुसी कदमको विरुद्ध सबैभन्दा धेरै देश उभिएको घटना बनेको छ।