शून्य कोभिड: चिनियाँ राष्ट्रपति सीको चर्चित नीतिले कसरी उनको पार्टीलाई क्षति पुर्‍याइरहेको छ

कोभिड

तस्बिर स्रोत, Getty Images

    • Author, स्टेफन मक्डोनल
    • Role, बीबीसी न्यूज, बेइजिङ

सी जिन्पिङलाई ऐतिहासिक तेस्रो कार्यकालको सत्तामा स्थापना गर्न हजारौँ पार्टी नेता कार्यकर्ता बेइजिङमा जम्मा हुँदा चीन स्थिर र असाध्यै राम्रो स्थितिमा रहोस् भन्ने विचार गरिएको थियो।

तर कोरोनाभाइरसले राम्रो भूमिका खेलिरहेको छैन।

पछिल्ला हप्ताहरूमा दशौँ लाख मानिस ६० वटा नगर र शहरहरूमा लकडाउनमा राखिएका छन्।

त्यसले गर्दा कम्युनिस्ट युगका पहिलो नेता माओत्सेतुङपछिका सबैभन्दा शक्तिशाली चिनियाँ नेता बनेका सी जिन्पिङमाथि राजनीतिक दबाव पैदा भएको छ।

सरकारको जारी रहेको "बहुआयामिक शून्य कोभिड" रणनीति अटुट रूपमा नेता सीसँग जोडिएको छ। त्यसको सफलता सीको सफलता हो। त्यसको विफलता? त्यो पनि उनकै टाउकोमा हाल्ने काम कसैले गर्न सके त्यो बहादुरी हुनेछ।

चीनबाहेक अन्यत्र खोपहरू बनिसकेका कारण मानिसहरूले कोभिड भाइरससँग बाँच्न सिक्नुपर्ने भएको छ।

तर यो विशाल अर्थतन्त्र त्यसबारे एक्लो उभिएको छ र हरेक कोभिड प्रकोपलाई निमिट्यान्न पार्ने उसको रणनीति छ।

कडा लकडाउन, सम्पूर्णको परीक्षण, स्वास्थ्य सूचकाङ्कको निरन्तर निगरानी र यात्रामा प्रतिबन्धका कारण चीनका अस्पतालमा मानिसको भिड हुनबाट रोकिएको छ।

तर त्यसको मार अन्यत्र परेको छ। औपचारिक बेरोजगारी अहिले १८.७% पुगेको छ जुन यो वर्षको शुरूमा २०% थियो।

सङ्ग्रहालयमा रहेको सी जिन्पिङको तस्बिर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सी जिन्पिङ पार्टीमा तेस्रो कार्यकालमा स्थापित हुने ठानिएको छ

आर्थिक र सामाजिक दबाव भए पनि सरकारले सङ्कट अन्त्य गर्ने एउटा काम गरेको छैन। उसले कडा लकडाउनहरूमा जोड दिए पनि त्यही कडाइका साथ खोप लगाउने काम सोही किसिमको उत्साहका साथ गरेको छैन।

त्यहाँ खोप लगाउन अनिवार्य छैन। सर्वसाधारणलाई चेतना जगाउने कार्यक्रम पनि छैन।

र. स्थानीय तवरमा उत्पादित खोपमात्र लगाउनुपर्ने व्यवस्था छ जबकि अनुसन्धानले ती खोप अन्तर्राष्ट्रिय रूपमा उत्पादित अन्य खोपको तुलनामा कम प्रभावी पाइएको छ। त्यो राष्ट्रिय गौरवको विज्ञान भन्ने रटान जस्तो निश्चित रूपमा देखिन्छ।

केही हदसम्म यो महाशक्तिशाली राष्ट्र नियन्त्रणभित्रै देखिन्छ। पृथ्वीको झण्डै पाँच भागको एक भाग जनसङ्ख्या भएको यो विशाल क्षेत्रमा दैनन्दिन चलिरहेकै छ। तर उनीहरूको जीवनयापनमा समस्या परिरहेको पनि छ।

यो हप्ता जिनजियाङबाट चल्ने रेल सेवा स्थगित गरियो र राजधानी उरुम्कीसहित पश्चिमी क्षेत्रका शहरहरूमा लकडाउन लगाइयो जबकि अधिकारीहरूले भाइरस फैलनबाट रोक्न नसकेको स्वीकार पनि गरे।

चीनको कडा लकडाउन जताततै छ र यसैबीच मानिसहरूले औषधि र खाद्यान्न पाउन सकेका छैन। शून्य कोभिड नीतिले मसिनहरूको दैनिक जीवनका धेरै पक्षमा असर गरेको छ। सङ्कटको तीन वर्ष हुँदा मानिसहरू वाक्क भइसकेका छन्।

सडकका अवरोध उताको जीवन

बेइजिङको बाहिरी घेरातिर यान्जियाओ भनिने स्थानतिर ठिकै खाले कमाइ भएका मानिसहरू बस्ने गर्छन् किनभने त्यहाँ घरभाडा तुलनात्मक रूपमा सस्तो छ।

सामान्य समयमा त्यसले खासै समस्या हुँदैनथ्यो, तर महामारीका बेला बसेको ठाउँबाट काम गर्न जाने ठाउँसम्म थुप्रै अवरोधहरू पार गर्नुपर्ने हुन्छ।

यो वर्ष जुन महिनामा यान्जियाओमा बस्ने मानिसहरूलाई राजधानी प्रवेशमा रोक लगाउँदा काममा जान खोजेका मानिसहरू र बाटामा अवरोध राखेर बसेका प्रहरीबीच झडप हुन पुगे।

Liang Wannian

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्रोफेसर लियाङ भन्छन् खोप सुरक्षित छ भन्ने चेतना जगाउन केही गर्नुपर्ने भएको छ

त्यसयता कैयौँ मानिस डुङ्गाको प्रयोग गरेर पानीको बाटो हुँदै काममा जाने गरेका पाइन्छन्।

यो रिपोर्ट लेखिरहेका बेला सीमा त खुला छ. तर बेइजिङ प्रवेश गर्नेहरूले स्वास्थ्य सूचकाङ्क देखाउने एप जोडिएका परिचयपत्र देखाउनुपर्ने हुन्छ।

हरेक बिहान यान्जियाओमा बसहरू लाइन लागेर बसेका हुन्छन् जसमा प्रहरी चढ्छन् र सबैको स्वास्थ्य ठिक छ कि छैन देखाउने एपको जाँच गर्छन्।

त्यसले गर्दा हुने ढिलाइका कारण यान्जियाओबाट बेइजिङ काममा आउने मानिसहरूले रोजगारदाताको आँखामा विश्वास गुमाउँदै गएका छन्।

"यो क्षेत्रमा बस्ने धेरै मानिसहरूलाई कम्पनीहरूले कामबाट निकालिदिएका छन्," बस चढ्न लाइन बसिरहेकी एक महिलाले भनिन्।

"र, उनीहरूले नयाँ काम पाए भने पनि उनीहरूलाई फेरि विभेदकारी व्यवहार गरिन्छ।"

प्राचीन राजधानी शान्त छ

हामी बेइजिङबाट जियान जान रेल चढ्यौँ।

त्यहाँ स्टेशनमा असाध्यै विशाल जाम भएको छ ।

हजारौँ मानिस रेलका प्ल्याटफर्मबाट बाहिर निस्कन खोज्दै गर्दा स्थानीय सरकारको स्वास्थ्य एप डाउनलोड गर्न खोजिरहेका छन्।

र, स्टेशनबाट बाहिर निस्कन हरेकले नयाँ पीसीआर परीक्षण गराउनुपर्ने हुन्छ।

केन्द्रीय एशिया मध्यपूर्व र युरोपबीच जोड्ने सिल्क रोडका पालादेखि जियान मूलभूमि चीनको आर्थिक चालक जस्तो रहँदै आएको छ। हिजोआज यो शहरमा पर्यटकहरू खचाखच हुनुपर्ने ठानिन्छ।

हामीले एडिसन सनलाई भेट्यौँ जो अङ्ग्रेजी जानेका टुर गाइड हुन् र सोध्यौँ उनका लागि महामारीले कसरी असर पारेको छ?

"अन्तर्राष्ट्रिय पर्यटनका लागि त शतप्रतिशत," उनी भन्छन्, "किनभने अहिले कोही पनि चीन आउँदैनन् र कोही पनि जियान आउन पाउँदैनन्।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, विदेशी शक्तिले धम्काउन खोजे ‘तिनको टाउकोमा प्रहार हुने’

यात्रा गर्न चाहने घरेलु पर्यटकको सङ्ख्या पनि निकै कम छ। यदि तपाईँ कतै घुम्न गइरहनुभएको छ र केही कोरोनाभाइरसका केस देखा परे भने त्यो शहरमा लकडाउन लागिहाल्छ।

तर कतै कोरोनाभाइरस केस छैन भने पनि तपाईँको शहरले तपाईँलाई अचानक बाहिर घुमेर फर्कनेलाई भित्र पस्न नदिने निर्णय गर्न सक्छ।

त्यसपछि तपाईँ बाहिरै अलपत्र पर्नुहुन्छ कहिले त लामो समयका लागि। अनि त्यस्तोमा तपाईँले आफ्नो बस्ने खाने व्यवस्था आफैँले गर्नुपर्ने हुन्छ।

जियानमा पनि कैयौँ पटक घरभित्रै बस्नुपर्ने लकडाउन लागेको छ जसका कारण यहाँका १ करोड ३० लाख मानिसहरूले महिनौँ घरभित्रै बिताउनुपरेको छ।

त्यसैले कैयौँ पटक टेराकोटा वारियर्सको घर भनेर चिनिएको यो क्षेत्र खाली खाली भएको छ।

आफ्नो काम रोकिएपछि एडिसन सन आफू डिप्रेसनमा गएको बताउँछन्।

china health code app

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यदि तपाईँका स्वास्थ सूचकले रातो रङ देखाए भने तपाईँ त्यहीँ रोकिनुपर्छ जहाँ तपाईँ हुनुहुन्छ

"कमाइ छैन। यो मेरो जीवनको असाध्यै गहिरो अवरोह हो। र, म एक पुरुष केही गर्न नसक्ने भएकाले मेरी श्रीमतीलाई भन्नुपर्‍यो प्यारी मलाई १००-२०० युआन दिन सक्छ्यौ?"

त्यस्तैमा एक दिन उनले आफ्नी आठ वर्षे छोरीलाई हेरेर केही गर्ने विचार गरे किनभने उनकी छोरीका लागि उनी एक नायक थिए।

त्यसैले उनले जियानको भर्चुअल टुर गराउनेबारे इन्टरनेटमा पोस्ट गरे।

उनले अहिले पनि अङ्ग्रेजी पनि पढाइरहेका छन्। तर कहिले विदेशी पर्यटक आउलान् भनेर कुरिरहेका छन्।

यो शहरको मुस्लिमहरू बस्ने क्षेत्र, जुन टाङ डाइनास्टीदेखि चलिआएको इतिहासकारहरू ठान्छन्- सधैँ पर्यटकले खचिखचाउ हुन्थ्यो।

अहिले पनि त्यहाँ पसल राखिरहेकाहरू मानिसहरूलाई आफूहरूसँग कबाब र मिठाई खान आऊ भनेर बोलाइरहेका हुन्छन् तर उनका ग्राहक असाध्यै कम छन्। कैयौँ पसल त बन्द नै छन्।

यदि तपाईँका स्वास्थ्य सूचकाङ्क राता छन् भने तपाई जहाँ हुनुहुन्छ त्यहीँ रोकिनुपर्छ।

आफूले बनाएका झोला र पेटी बेच्ने सानो पसल खोलेकी झाङ मिनले भनिन्, "लकडाउन अगाडि मैले दुई वर्षको भाडा तिरेकी थिएँ हाम्रो घर गाउँमा छ। हामी केही गरेर प्रगति गर्न चाहन्थ्यौँ।"

उनले आफ्नी आमाको जीवन सहज बनाउने कस्तो आशामा काम थालेकी थिइन् भन्दै गर्दा धरधरी रोइन्।

कहिले स्थिति राम्रो होला जस्तो लाग्छ? भनेर सोध्दा उनले भनिन्, "खै त्यो भन्न गाह्रो छ किनभने प्रकोप त पटक पटक आइरहेकै छ।"

विश्वकै 'फ्याक्ट्री'मा विश्वास घट्दो

दशकौँसम्म चीनको आर्थिक विकास हुनुमा निर्यात मुख्य कारण थियो। तर शून्य कोभिडको अर्थ बाहिरी विश्वका मानिसले अन्यत्रैबाट सामान किन्न थालिसकेका छन् किनभने उनीहरूको आपूर्ति शृङ्खलामा अवरोध आउला डर उनीहरूलाई छ।

शाङ्घाइको उत्तरमा रहेको जियाङसु प्रान्तको डीशिक्यो लुगा सिलाउने उद्योगको केन्द्र रहँदै आएको छ। सानो उद्योगहरूमा मानिसहरू लकडाउनका कारण रोकिएको काम सक्न धमाधम काम गरिरहेका छन्।

त्यहाँका नाइकेहरूले उनीहरूको मुख्य चुनौती के छ भनेर बोल्नै लागेका बेला एक जना मानिस भित्र प्रवेश गरेर गोप्य रूपमा हाम्रो कुराकानी रेकर्ड गर्छन्।

तिनले उद्योगका मालिककहाँ कुरा पुर्‍याउँछन् र त्यसपछि अन्तर्वार्ता रोकिन्छ।

"माफ गर्नूस्, हामी त्यो गर्न सक्दैनौँ," एउटा कम्पनीका मालिकले हामीलाई भने।

यहाँका मानिसहरूलाई अन्तर्वार्ता दिने अधिकार छ तर कम्युनिस्ट पार्टीको यस्तो कामलाई अवज्ञा गर्न सक्ने को छ र?

महामारीअगाडि चीनको आर्थिक वृद्धिदर ६ प्रतिशत थियो। पछिल्लो जीडीपीमा त्यो ०.४% छ।

testing in Beijing, june 2022

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, साराका सारा मानिसलाई परीक्षण गराउने नीति अहिले पनि चीनमा कायम छ

स्थानीय सरकारलाई कोभिडका कारण अर्थतन्त्र समस्यामा परेको थाहा छ तर कसैले पनि त्यसबारे नबोलोस् भन्ने चाहन्छ।

ओछ्यानसम्बन्धी कारोबार गर्ने एउटा सानो पसलमा एक महिलाले आफ्नो विक्री आधा घटेको बताइन्।

त्यहाँ एक महिला अचानक देखा परिन् र ग्राहक जस्तो बनिन्। के कुरा गरिरहेका तिमीहरू भनेर खुब जिज्ञासु जस्तो बनिन्। तर हामी त्यहाँबाट हिँडेपछि ती महिलाले पसले महिलालाई प्रश्नहरू गरिन्।

घरमा बनाइएका खोपमाथि उठेको प्रश्न

कोरोनाभाइरस फैलन नदिन सहयोग पुर्‍याएको नीतिका मुख्य निर्मातामध्ये एकजना प्राध्यापक लियाङ वानियन सरकारको कोभिड विज्ञ समितिका सदस्य हुन्।

हामीले उनलाई कुराकानी गर्दा उनले चीनमा बनेका खोपहरू त्यति प्रभावकारी नभएको स्वीकार गरे। तर ती खोपले गम्भीर अवस्था आउनबाट र मृत्यु हुनबाट रोक्ने उनले बताए।

शून्य कोभिड नीति कहिले अन्त्य होला भन्ने प्रश्नमा उनले भने त्यो अहिले नै भन्न गाह्रो छ।

"म के कुरामा निश्चित छु भने हामीले छिट्टै यो भाइरस निमिट्यान्न पार्न सक्ने छैनौँ। हामी यो भाइरसका लागि बढी प्रभावकारी औषधी र प्रभावकारी खोपको पर्खाइमा छौँ।"

र, अगाडि रहेको ठूलो अवरोध के हो भने जनसङ्ख्याको ठूलो सङ्ख्याले खोप लगाउन सुरक्षित छ भन्ने नै ठान्दैनन्।

चिनियाँ अधिकारीहरू बुढाबुढी र परिवारका जवान सदस्यलाई छुट्टाछुट्टै राख्न तयार छन् र उनीहरूलाई क्वारन्टीन केन्द्रमा बस्न बाध्य पार्छन्।

उनीहरू पूरा शहर महिनौँसम्म लकडाउनमा राख्न तयार छन् तर खोप उनीहरूको प्राथमिकतामा छैन।

केही चिनियाँ डाक्टरले त आफ्ना बिरामीहरूलाई खोप नलिन समेत भनेका छन्। त्यसैकारण कति जनाले खोप लगाए भन्ने आधिकारिक तथ्याङ्क विश्वास गर्न नसकिने कैयौँ विश्लेषकहरू ठान्छन्।

प्रोफेसर लियाङ त्यसबारेमा समस्या रहेको थाहा छ।

"कैयौँ वृद्धमा विभिन्न अन्य रोग छन्। तिनीहरूले खोप लगाउन सुरक्षित नरहेको मान्छन्, तर वास्तवमा खोप लगाउनु सुरक्षित छ। हामीले यो सन्देश सबैमा पुर्‍याउन आवश्यक छ।" उनी भन्छन्।

यो वास्तवमा महत्त्वपूर्ण स्वीकारोक्ति हो।

Dieshiqiao woman
तस्बिरको क्याप्शन, विक्री घटेको यी महिलाले भनिन्

चीनले त्यसबारे काम गरिरहेको छ तर प्रगति गर्ने प्रशस्त ठाउँ छ उनी थप्छन्।

के मध्य अक्टोबरमा हुने कम्युनिस्ट पार्टी कङ्ग्रेसपछि शून्य कोभिड नीति रोकिएला?

मलाई त्यसको जबाफ दिन गाह्रो छ उनले अनौठो हाँसो हाँस्दै भने- म त एक प्राज्ञ मात्र हुँ।

चीनले भाइरसको असरलाई सफलतापूर्वक असाध्यै न्यून राखेको छ। र यदि उसले खुला गर्‍यो भने भाइरस हुरहुरती फैलन सक्छ।

तर अहिलेलाई सरकारले त्यसलाई परै राख्ने कोसिस गरिरहेको छ।

सारा विश्वबाट टाढा बस्ने प्रयत्नले मूल्य चुकाइरहेको छ।

त्यसमा सजिलो उपाय त छैनन् तर चीन सधैँभरि यसै गरिरहन सम्भव छैन।