चीन कोभिड: शाङ्घाईमा दुई महिनापछि लकडाउन हट्दा उत्सव

शाङ्घाई

तस्बिर स्रोत, Getty Images

    • Author, प्याट्रिक ज्याक्सन र जुवेदा अब्दुल जलिल
    • Role, बीबीसी न्यूज

चीनको ठूलो आर्थिक सहर र विश्वको एउटा व्यापारिक केन्द्रको रूपमा रहेको शाङ्घाईमा कोभिड महामारीका कारण लगाइएको लकडाउन दुई महिनापछि खुकुलो पारिएको छ।

मङ्गलवार मध्यरातिदेखि अढाई करोड मानिस बसोबास गर्ने उक्त महानगरमा प्रतिबन्धहरू खुकुलो पार्दै धेरैजसो मानिसई खुला रूपमा आउजाउ गर्न दिइएको हो।

यद्यपि कम्तीमा साढे छ लाख मानिसहरू भने घरबाट बाहिर निस्किन पाउने छैनन्।

चीनले 'शून्य कोभिड'को नीति अवलम्बन गरेको छ। कोरोनाभारइस सङ्क्रमण भएका मानिसहरूले अनिवार्य क्वारन्टीनमा वा अस्पतालमा बस्नुपर्छ।

सङ्क्रमितहरूको संसर्गमा रहेका मानिसले पनि क्वारन्टीनमा बस्नुपर्ने हुनसक्छ। सङ्क्रमित व्यक्त फेला परेको क्षेत्र फेरि लकडाउनमा हुन सक्छ।

"यो हामीले लामो कामना गरिराखेको दिन हो," शाङ्घाई सरकारकी प्रवक्ता यिन शिनले पत्रकारहरूलाई बताइन्।

"सबैले धेरै कुरा त्याग गरेका छन्। यो निकै कष्टपछि आएको दिन हो। हामीले खुसी हुनुपर्छ र यसको रक्षा गर्नुपर्छ। हाम्रो पुरानो शाङ्घाईलाई फेरि स्वागत गर्नुपर्छ।"

शाङ्घाईवासी

तस्बिर स्रोत, EPA

नयाँ नियम

अहिले शाङ्घाईमा नयाँ नियम ल्याइएको छ।

नगरवासीहरूले घरबाट बाहिर निस्कनुअघि उनीहरू स्वस्थ रहेको सङ्केत गर्ने हरियो कोड स्मार्टफोनमा देखाउनुपर्छ।

उक्त कोड प्रयोग गरेर मात्र मानिसहरूले विभिन्न स्थानमा प्रवेश पाउँछन्।

सार्वजनिक शौचालयको प्रयोग गर्न चाहने वा ब्याङ्क एवं मल लगायतका ठाउँमा जान चाहनेले ७२ घण्टाभित्रको पीसीआर प्रमाणपत्र बुझाउनुपर्छ।

यद्यपि शाङ्घाईबाट बाहिर जानका प्रतिबन्ध कायम छ।

अर्को सहरबाट आउने व्यक्तिले सातदेखि १४ दिनसम्म अनिवार्य क्वारन्टीनमा बस्नुपर्छ।

चलचित्रघर, सङ्ग्रहालय र व्यायामघर भने बन्द नै छन्। बालबालिकाहरू भौतिक रूपमा विद्यालय जान पनि पाएका छैनन्।

२ करोड ५० लाख मानिसको बसोबास रहेको सहरमा धेरै जना लकडाउनको मारमा परेका थिए

तस्बिर स्रोत, Reuters

समस्या

लकडाउनका कारण धेरै मानिसले आयस्रोत गुमाएका थिए भने खाद्यान्नको जोहो गर्न पनि कठिन भएको थियो।

लामो समय एकान्तवासमा बस्दा मानिसहरूलाई मानसिक तनाव पनि थपिएको थियो।

शाङ्घाईस्थित बीबीसी संवाददाता रोबिन ब्र्यान्टका अनुसार नौ दिनका लागि भनेर लगाइएको लकडाउन ६५ दिनसम्म लम्बिँदा ठूलो समस्या उत्पन्न भएको थियो।

"जति छिटो प्रतिबन्धहरू लगाइएका थिए त्यति नै छिटो ती खुकुलो हुँदैछन्।"

शाङ्घाई

तस्बिर स्रोत, Reuters

उत्सव

लकडाउन सकिएको जनाउन मानिसहरूले मङ्गलवार मध्यरातपछि हर्षोल्लास गरेका थिए।

शाङ्घाईका सडक छेउमा मानिसहरू भेला भएर नाचगान गरेका थिए। केहीले फेरि प्राप्त स्वतन्त्रताका लागि खुसी हुँदै मदिरापान गरेका थिए।

"हामी धेरै दिन लकडाउनमा बस्यौँ। हामीले उत्सव मनाउनुपर्छ। म मात्र है, सबै शाङ्घाईवासीले," एक जनाले बीबीसीसँग भने।

"सबै नराम्रा कुरा सकिए, त्यसैले भोलि राम्रो हुने छ।"

"हामी स्वतन्त्र छौँ। म खुसी छु। म काम गर्न चाहन्छु। म भोलि काम गर्न चाहन्छु," अर्का व्यक्तिले भने।

शाङ्घाईवासी

तस्बिर स्रोत, EPA

यद्यपि सरकारी सञ्चारमाध्यमले मानिसहरूले उत्सव मनाएको समाचारलाई स्थान दिएका छैनन्।

शाङ्घाईमा लगाइएका प्रतिबन्धहरूलाई तिनले अझै पनि "लकडाउन" भनेका छैनन्।

सरकारी सञ्चारमाध्यममा प्रकाशित विवरणहरूमा बुधवारलाई एउटा "नयाँ थालनी" को सङ्ज्ञा दिइएको छ।

शाङ्घाईमा लकडाउन हटेपछि अङ्कमाल गर्दै मानिसहरू

तस्बिर स्रोत, Reuters