कोभिड चीनः शाङ्घाईमा कोरोना भाइरस सङ्क्रमणबाट 'पहिलो पटक' तीन जनाको मृत्यु

तस्बिर स्रोत, Getty Images
चीनको आर्थिक केन्द्र मानिने शाङ्घाईमा कोरोनाभाइरस सङ्क्रमणका कारण पहिलो पटक तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
कोभिड नियन्त्रण गर्ने उद्देश्यले केही सातादेखि उक्त सहरमा लकडाउन घोषणा गरिएको छ।
सहरको स्वास्थ्य आयोगले प्रकाशित गरेको एउटा विज्ञप्तिमा मृत्यु भएका ८९ देखि ९१ वर्षका तीन वृद्धलाई कोभिड भएको थियो र उनीहरूमा जटिल समस्याहरू देखा परेका थिए।
तीनै जनाले कोभिडविरुद्ध खोप लगाएका थिएनन्।
उक्त सहरमा यसअघि कोभिडका कारण कसैको मृत्यु नभएको दाबी चीन सरकारको छ। तर उक्त दाबी शङ्कास्पद छ।
उक्त सहरमा सोमवार थप २२,२४८ जनामा कोभिड भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन्।
मार्चयता चीन सरकारले कोभिडसँग सम्बन्धित कारणले बिरामीको मृत्यु भएको पहिलो पटक स्वीकार गरेको हो।
शाङ्घाईको स्वास्थ्य आयोगका अनुसार मृत्यु हुने ती बिरामीलाई अस्पतालमा भर्ना गरिएको थियो।
शाङ्घाईमा ६० वर्षमाथिका ३८ प्रतिशत मानिसले मात्र कोभिड खोपको पूर्ण मात्रा पाएको सरकारी तथ्याङ्कले देखाउँछ।
कडा लकडाउन
सरकारी निकायहरूले मानिसहरूमा अर्को खेप पनि कोभिड सामूहिक परीक्षण गर्ने घोषणा गरेका छन्।
शाङ्घाईमा नौ दिनका लागि भनेर लगाइएको लकडाउन अहिले चौथो सातामा प्रवेश गरेको छ।
तीन साताअघि ओमिक्रोन भेरिअन्टका कारण कोरोनाभाइरसको प्रकोप फैलिएको पत्ता लागेपछि उक्त सहरमा कडा निषेधाज्ञा जारी गरिएको छ।
त्यसप्रति सर्वसाधारणहरू आक्रोशित पनि भएका छन्।
दशौँ लाख मानिसहरू घरभित्र बस्न बाध्य भएका छन्। कोभिड पुष्टि भएका मानिसलाई छुट्टै राख्न क्वारन्टीनस्थलमा पठाइएको छ।
मानिसहरूले प्रतिबन्धबारे तथा खाद्यान्न आपूर्तिमा समस्या देखिएको भन्दै सामाजिक सञ्जालमा गुनासो व्यक्त गरिरहेका छन्।
सहरवासीहरूले खानेकुरा तथा पानी बाहिरबाट मगाउनुपरेको र सरकारले उपलब्ध गराउने तरकारी, मासु र अण्डामा भर पर्नुपरेको बताइन्छ।
विश्लेषकहरूका अनुसार धेरै मानिसको भण्डारमा भएको सामग्री रित्तिन थालिसकेको छ।
लकडाउन लम्बिँदा सामान उपलब्ध गराउने सेवा, किराना सामग्रीका वेबसाइट तथा सरकारले दिने सामान वितरणमा पनि ठूलो चाप परेको छ।
दबाव
तर दैनिक २०,००० जनाभन्दा बढी मानिसमा सङ्क्रमण पुष्टि भइरहेकाले सरकारी निकायहरू पनि ठाउँको व्यवस्था गर्न दबावमा परेका छन्। 1
केही सातादेखि सहरका प्रदर्शनी हल र विद्यालयहरूलाई क्वारन्टीन तथा अस्थायी अस्पताल बनाउन प्रयोग गरिएको छ।
अरू देशसँग तुलना गर्दा चीनमा कोभिड बढ्ने क्रम थोरै देखिन्छ।
यद्यपि चीनको "शून्य कोभिड" रणनीतिका लागि अहिलेको प्रकोप ठूलो चुनौती बनेको छ।
कोभिड नियन्त्रण गर्न सरकारले लकडाउन तथा अन्य प्रतिबन्धहरू लगाउने गरेको छ।
तर ओमिक्रोन भेरिअन्टको फैलिन सक्ने बढ्दो क्षमता र मध्यम खाले प्रभावका कारण चीनको विद्यमान रणनीति दीर्घकालसम्म उपयोगी हुनेमा प्रश्न उत्पन्न भएको छ।










