नेपाल कारागार: देशकै 'ठूलो र सुविधासम्पन्न' कारागार बन्न अझै ४/५ महिना लाग्ने

तस्बिर स्रोत, Shaktimaya
- Author, शक्तिमाया तामाङ
- Role, नुवाकोट
नुवाकोटको विदुर नगरपालिका खम्पा क्याम्पमा निर्माण भइरहेको केन्द्रीय कारागारको काम सम्पन्न गरेर २०७८ चैत मसान्तसम्ममा कैदीबन्दीलाई स्थानान्तरण गरिने भनिएकोमा बल्ल ८९ प्रतिशत मात्र भौतिक प्रगति भएको आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार निर्माणाधीन कारागारको पाँच वटा इकाई छन् र हरेक त्यस्ता इकाईमा पाँचवटा भवनहरू रहेका छन्।
सुविधा
बन्दीगृह, वर्कशप, डाइनिङ, बाथरूम, अस्पताल, विद्यालय लगायतका लागि २५ वटा भवनहरू रहेका छन् भने सुरक्षा निकायका लागि ४ वटा र कार्यालयको १ वटा समेत गरी जम्मा ३० वटा भवन रहेको आयोजनाका सब इन्जिनिएर अजय भट्टराईले बताए।
करिब १० हजार कैदीबन्दी अटाउने क्षमता भएको केन्द्रीय कारागारको निर्माणको लागि ५३४ रोपनी जग्गा कारागार व्यावस्थापन विभागको नाममा स्वामित्व हस्तान्तरण भएर शहरी तथा भवन निर्माण आयोजना कार्यालय धादिङमार्फत् करिब ४२ करोड रुपैयाँको लागतमा कारागारको निर्माण भइरहेको छ।
निर्माणाधीन कारागारमा सीप भएकाहरूका लागि रोजगार कक्ष, खेल मैदान, विशेषज्ञ सहितको अस्पताल, विद्यालय एवं क्याम्पस, पुस्तकालय, सीप प्रवर्द्धन केन्द्र, योगकेन्द्र र किरियापुत्री कक्ष लगायतको सुविधा रहने सरकारी अधिकारीले बताए।
निर्माणाधीन कारागार नेपालमा अहिलेसम्मकै सुविधासम्पन्न रहेको र यसको निर्माण पश्चात् क्षमताभन्दा बढि बन्दी राख्ने बाध्यताको व्यवस्थापनमा निकै सहज हुने नुवाकोट कारागारका प्रमुख गंगालाल योगीले बताए।
उनले भने, "निर्माणाधीन भवन अत्याधुनिक खालको छ। यसमा बस्ने कोठाहरू पनि आरामदायी छन्। नेपालभरिका कैयन् कैदीबन्दीहरूलाई यहाँ ल्याएर आरामदायी तरिकाले राख्न सकिने अवस्था छ।"
थप संरचनाले ढिलाइ
पहिले भएको सम्झौताभन्दा केही संरचनाहरू थप भएकाले समयभन्दा केही ढिला हुन पुगेको आयोजनाका सब इन्जिनियर अजय भट्टराईले बताए।
उनले भने, "सुरुमा सम्झौता गर्ने बेला अग्नि प्रतिरोधात्मक संरचनाहरू, खानेपानीको लागि बोरिङको काम, वर्कशपको लागि आवश्यक संरचनाहरू छुटेका थिए। तिनलाई थप्ने कागजी प्रक्रिया पूरा गर्न र स्वीकृत गर्न पनि समय लाग्यो।"
"बाँकी काम सम्पन्न गर्न अझै चार पाँच महिना लाग्नेछ।"
२०७० साल चैत २० गते बसेको मन्त्रिपरिषद्को बैठकले काठमाण्डूस्थित केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो।









