युक्रेन युद्ध: रुसद्वारा कब्जा गरिएको युक्रेनी भूभागमा भएको 'जनमतसङ्ग्रह'मा आफूले जित हासिल गरेको दाबी

मतदान

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, डोनेट्स्कमा मतदान गर्दै एक मतदाता
    • Author, प्याट्रिक ज्याक्सन
    • Role, बीबीसी न्यूज

रुसी नियन्त्रणमा रहेका युक्रेनी क्षेत्रमा कथित चारवटा जनमतसङ्ग्रह सकिएका छन्।

त्यहाँ भएको मतदानलाई मस्कोले थप क्षेत्रलाई आफूमा गाभ्ने आधारका रूपमा प्रयोग गर्न सक्छ।

ती क्षेत्रमा मस्कोद्वारा स्थापित अधिकारीहरूले रुसमा सामेल हुने विवादित मतदानमा भाग लिनेमध्ये लगभग सबैले पूर्ण समर्थन गरेको दाबी गरिरहेका छन्।

तर युक्रेन सरकार र उसका सहयोगीहरूले उक्त चुनावलाई 'छद्म'का रूपमा अर्थ्याउँदै त्यसको निन्दा गरेका थिए।

अन्तर्राष्ट्रिय मान्यताको अभावमा निर्वाचन प्रक्रियालाई स्वतन्त्र रूपमा अनुगमन गरिएको थिएन।

कहाँ गरियो जनमतसङ्ग्रह?

स्वघोषित तर अन्तर्राष्ट्रिय मान्यता नपाएका युक्रेनबाट टुक्रिएका डोनेट्स्क र लुहान्स्कका पूर्वी क्षेत्रहरूमा उक्त मतदान भएको थियो।

जापोरीजा र खेअर्सनको दक्षिणी क्षेत्रका रुसी कब्जामा रहेका भागहरूमा पनि मतदान गराइएको थियो।

रुसभरि छरिएर रहेका शरणार्थीहरूले पनि दर्जनौँ मतदान केन्द्रमा मतदान गर्न पाएका थिए।

मतपेटिकालाई सशस्त्र फौजले पहरेदारी गरेका छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मतपेटिकालाई सशस्त्र फौजले पहरेदारी गरेका छन्

त्यस्ता मतदान केन्द्रहरू सन् २०१४ मा रुसले कब्जा गरेको दक्षिणी युक्रेनी प्रायद्वीप क्राइमियामा पनि रहेका थिए।

त्यहाँको मतदानको आंशिक परिणामले रुसमा सामेल हुने पक्षमा व्यापक बहुमत देखायो।

युक्रेनको लगभग १५ प्रतिशत भू-भाग समेट्ने युद्धग्रस्त क्षेत्रका ४० लाख मानिसलाई मतदान गर्न भनिएको थियो।

डोनेट्स्क र लुहान्स्कमा क्रेमलिन समर्थक प्रशासनद्वारा सञ्चालित समाचार एजेन्सीहरूले ९९.२३ प्रतिशत मानिसले रुसमा सामेल हुने पक्षमा मतदान गरेको समाचार संप्रेषण गरिरहेका छन्।

त्यो यस्तो प्रकृतिको मतदानमा असामान्य उच्च प्रतिशत हो।

विलयको घोषणा हुनसक्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रवार रुसी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै चारवटा क्षेत्र आफ्नो देशमा विलय भएको घोषणा गर्नसक्ने अनुमान गरिएको छ।

सन् २०१४ को मार्चमा पनि यस्तै खालको मान्यता नभएको चुनावको केही दिनपछि क्राइमिया रुसमा सामेल भएको उनले घोषणा गरेका थिए।

लुहान्स्कमा मतदान गर्दै एक सैनिक

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, लुहान्स्कमा मतदान गर्दै एक सैनिक

यदि रुसले ती चारवटै क्षेत्रलाई गाभेको घोषणा गरेमा त्यसले युद्धलाई नयाँ मोड र थप खतरनाक तहमा लैजान सक्छ।

ती सबै क्षेत्रमा मस्कोले पूर्ण रूपमा नियन्त्रण कायम गर्दैन तर ती क्षेत्रमा युक्रेनले गर्ने कुनै पनि गतिविधिलाई उसले आफ्नो सार्वभौम क्षेत्रमाथि आक्रमण गरेको रूपमा चित्रण गर्नसक्छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले बल प्रयोग गरेर कब्जामा लिएका क्षेत्रलाई गाभ्ने प्रयास गरी "क्रूरतापूर्वक संयुक्त राष्ट्रसङ्घीय बडापत्रको उल्लङ्घन" गरेको आरोप लगाएका छन्।

"अधिकृत क्षेत्रमा गरिएको यो नाटकलाई जनमतसङ्ग्रहको नक्कल पनि भन्न मिल्दैन," उनले मंगलवार बेलुका भने।

उनले थप भने, "यो युक्रेनको कब्जा गरिएको क्षेत्रका मानिसहरूलाई आफ्नो मातृभूमिविरुद्ध लड्न पठाउन रुसी सेनामा परिचालन हुन बाध्य पार्ने अति निन्दनीय प्रयास हो!"

रेखा

जनमतसङ्ग्रहमा के सोधिएको थियो?

  • स्वघोषित तथा अन्तर्राष्ट्रिय मान्यता नपाएका लुहान्स्क र डोनेट्स्क 'जनगणराज्यहरू'मा मानिसहरूलाई "रुससँग गाभिने कुरामा" समर्थन छ कि छैन भनेर सोधिएको थियो
  • जापोरीजा र खेअर्सनमा " के यो क्षेत्र युक्रेनबाट छुट्टिँदै स्वतन्त्र राष्ट्र बनेर अन्ततः रुसमा गाभिने" कुरामा समर्थन छ भनेर सोधिएको थियो
  • लुहान्स्क र डोनेट्स्कमा मतपत्र रुसी भाषामा मात्र छापिएको थियो
  • जापोरीजा र खेअर्सनमा मतपत्र युक्रेनी र रुसी भाषामा थियो।

स्रोतः तास

रेखा

रुसविरुद्ध थप प्रतिबन्ध

यसैबीच युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसमाथि कडा प्रतिबन्ध लगाउन ईयूलाई आग्रह गरेका छन्।

उनले भने, "रुसी अर्थतन्त्रमा असर पार्ने विशेष कुराका साथमा हामीले अत्यन्त गम्भीर, प्रभावकारी प्रतिक्रिया दिनु आवश्यक छ। कथित जनमतसङ्ग्रहको प्रतिक्रिया जति नरम हुन्छ, रुस थप क्षेत्रहरू कब्जा गर्न उत्प्रेरित हुन्छ।"

यूकेले कथित जनमतसङ्ग्रहको प्रतिक्रिया नयाँ प्रतिबन्धहरू लगाएर दिएको छ।

उसले उक्त मतदान गराउन संलग्न शीर्ष रूसी अधिकारीहरूमाथि प्रतिबन्ध लगाइदिएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले क्रेमलिनले "अतिरिक्त तीव्र र गम्भीर क्षति" बेहोर्नुपर्ने चेतावनी दिँदै पश्चिमले युक्रेनी भूमिको रुसमा विलयलाई कहिल्यै मान्यता नदिने दोहोर्‍याए।

युक्रेन भ्रमणमा रहेकी फ्रान्सकी विदेशमन्त्री क्याथरिन कोलोनाले मङ्गलवार उक्त निर्वाचनलाई 'नक्कली तमाशा' भनेकी छन्।

परम्परागत रूपमा रुसी सहयोगी चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले उक्त चुनावबारे पत्रकारहरूको प्रश्नको जवाफ दिँदै "सबै देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान हुनैपर्छ" भने।

युक्रेन

पुटिनद्वारा जनमतसङ्ग्रहको बचाउ

रुसी राष्ट्रपति पुटिनले जनमतसङ्ग्रहको बचाउ गर्दै युक्रेनद्वारा जातीय रुसी र रुसी-भाषीमाथि गरेको उत्पीडन रोक्नका लागि चुनाव गराइएको बताएका छन्। त्यसलाई युक्रेनी सरकारले अस्वीकार गर्दै आएको छ।

प्रारम्भिक मतदान चार दिनमा भएको थियो। सुरक्षाकर्मीको घेरामा निर्वाचन कर्मचारीहरू मानिसहरूका घरमा गएका थिए।

मतदान केन्द्र मङ्गलवार मात्रै खुलेका छन् ।

"म मेरो आवाजका साथ युद्ध रोक्नका लागि सानो योगदान गर्न प्रयास गर्न चाहन्छु," डोनेट्स्ककी ६३ वर्षीया गालिना कोर्साकोभाले क्राइमियाको एउटा मतदान केन्द्रमा एएफपी समाचार संस्थालाई बताइन्। उनले भनिन्, "म साँच्चै घर जान चाहन्छु।"

मान्यता नपाएको उक्त जनमतसङ्ग्रह हुँदै गर्दा युद्ध चर्किएको थियो र जापोरोजीयामा क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा एकजना निर्वाचन अधिकारीको निधन भएको थियो।

रुसले गत फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेयता दशौं हजार लडाकु र सर्वसाधारण मारिएका वा घाइते भएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'आफ्नै घरमा बम हानिएको देख्न म तयार थिइनँ': बीबीसी पत्रकारको किएभको यात्रा

कैयौँ सहरहरू ठूलो मात्रामा भग्नावशेषमा परिणत भएका छन्।

हालसम्म ७४ लाख भन्दा बढी युक्रेनीहरू शरणार्थीको रूपमा दर्ता गरिएका छन्।

संयुक्त राष्ट्र सङ्घको विवरण अनुसार करिब २७ लाख शरणार्थी रुसमा रहेका छन्।