शिन्जो आबे अन्तिम संस्कार: किन महारानी एलिजाबेथ द्वितीयाकोमा भन्दा धेरै खर्च लाग्दैछ

आबे

तस्बिर स्रोत, EPA

    • Author, मरिको ओइ
    • Role, बीबीसी न्यूज

"आबेको अन्तिम संस्कारको खर्च महारानीको भन्दा कसरी धेरै हुनसक्छ?" एउटा समाचार शीर्षकमा लेखिएको छ। 

महारानी एलिजाबेथ द्वितीयाको राजकीय अन्तिम संस्कारमा भएको खर्चको वास्तविक आँकडा त अझै सार्वजनिक गरिएको छैन।

तर द डेली मिररमा छापिएको समाचार अनुसार त्यसमा ८० लाख पाउन्ड अर्थात् १.३ अर्ब येन खर्च भएको छ।

जबकी जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको अन्तिम संस्कारको खर्च १.६६ अर्ब येन हुने अनुमान छ। 

खर्च बढ्ने अनुमान

धेरैले अहिले नै वास्तविक खर्च अनुमान गरिएभन्दा निकै उच्च हुने ठानेका छन्। 

जसका लागि धेरैले प्रस्तुत गरेको उदाहरण टोक्यो ओलिम्पिक्सको थियो जसमा अन्त्यसम्ममा १३ अर्ब अमेरिकी डलर खर्च भयो।

जुन रकम सुरुवाती अनुमानभन्दा झण्डै दोबर थियो। 

अन्यले भने दुई राजकीय अन्तिम संस्कारको खर्चको भिन्नतालाई जापानमा ठूला समारोह आयोजनाको व्यवस्थापन गर्ने कम्पनीसँग जोडेर हेरेका छन्। 

टोक्योमा रहेको कार्यक्रम आयोजना गर्ने कम्पनी मुरयामा एकमात्र दाबेदार कम्पनीका रूपमा रहेको बताइएको थियो।

त्यसैले राजकीय अन्तिम संस्कारका लागि १७६ मिलियन येनको सम्झौता उसले पायो। 

र आफ्नो घेराका मानिसलाई विशेष प्रवद्धन गरेको भन्दै आबेको आलोचना हुने गरेको थियो।

जापानी धारणा

क्योदो समाचार संस्थाले गरेको हालैको एक सर्वेक्षणमा सहभागी ७० प्रतिशतभन्दा धेरै मानिसहरूले सरकारले अन्तिम संस्कारमा निकै धेरै खर्च गर्न लागेको धारणा राखेका थिए। 

झण्डै आधाजसो पैसा कडा सुरक्षाका लागि खर्च हुने ठानिएको छ भने अर्को एकतिहाइ विदेशी पाहुनाको आतिथ्यमा जानेछ। 

भिडिओ क्याप्शन सुरु हुँदैछ, शिन्जो आबेः जब पूर्वप्रधानमन्त्रीमाथि गोली चलेको आवाज सुनियो

मङ्गलवार राजकीय अन्तिम संस्कार अगाडि विदेशी पाहुनाहरू जापान पुगेर वर्तमान प्रधानमन्त्री फुमिओ किस्हिदासँग भेट्दैछन्। 

तीनदिने उक्त समारोहलाई 'अन्तिम संस्कार कूटनीति' को रूपमा धेरैले व्याख्या गरेका छन्। 

कस्तो अन्तिम संस्कार?

उक्त समारोहका लागि २१७ देशबाट ७०० जना अतिथिहरू आउँदैछन्। 

जसमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनेजी लगायत छन्। 

तर जापानमा धेरैले तुलना गरेको विषय के हो भने महारानीको लन्डनमा भएको अन्तिम संस्कारमा धेरैजसो वर्तमान विश्व नेता सहभागी भएको र आबेको समारोहमा सहभागी हुन लागेकाहरू धेरैजसो भूतपूर्व नेताहरू रहने देखिन्छ। 

टेलिभिजनमा समेत जापानी दर्शकहरूलाई ब्रिटिशहरूको आफ्नी पूर्वमहारानीप्रतिको आत्मियता झल्काउने फूटेहरू देखाउने गरिएको छ।

आबे

तस्बिर स्रोत, Reuters

त्यसले जापानमा रहेको फरक मनस्थिति समेत प्रस्तुत गरेको छ। 

राजकीय सम्मान पाउने दोस्रो प्रधानमन्त्री

जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री भएका आबेको ६७ वर्षको उमेर उक्त देशमा बिरलै हुने हिंस्रक हमलामा परेर मृत्यु भएको थियो। 

राजकीय सम्मान पाउने आबे जापानका दोस्रा प्रधानमन्त्री हुन्। 

यसअघि प्रधानमन्त्री सिगेरू योशिदाको निधनमा ५५ वर्षअघि राजकीय अन्तिम संस्कार गरिएको थियो। 

उनले दोस्रो विश्वयुद्धको केहीपछि देशको नेतृत्व गरेका थिए र उनलाई युद्धपछिको जापानी बाटो तय गरेको श्रेय दिइन्थ्यो। 

आबेको अन्तिम संस्कारप्रति क्रुद्ध केही स्थानीय सञ्चारमाध्यमहरूले योशिदाको अन्तिम संस्कारका बेला सन् १९६७ मा १ करोड ८० लाख खर्च भएको लेखेका छन्। 

उक्त रकम हालको ७ करोड येन बराबर हो। 

महङ्गीबीच महङ्गो समारोह

जापानले अहिले दशकौँ यताको खराब महँगी झेलिरहेको छ। 

आलोचकहरूले उक्त रकम सबैभन्दा धेरै मारमा परिरहेका न्यून आय भएका परिवारमा खर्च गर्न सकिने बताइरहेका छन्। 

आबेको राजकीय अन्तिम संस्कारमाथि असन्तोष व्यक्त भइरहँदा वर्तमान प्रशासनमाथिको विश्वासको दर घट्दै गएर किस्हिदा शक्तिमा आएयताकै न्यून विन्दूमा पुगेको जनाइएको छ। 

प्रधानमन्त्रीका रूपमा आबेका नीतिले जापानलाई विभाजित पारेको थियो र जापानको सार्वजनिक वृत्तमा उनीप्रतिको द्वेष अझै जाने देखिँदैन।