आबेनोमिक्स: शिन्जो आबेले जापानको अर्थतन्त्रलाई पुनर्ताजगी दिन के गरेका थिए?

तस्बिर स्रोत, Getty Images
शुक्रवार हत्या गरिएका जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेले अर्थतन्त्र रूपान्तरणको लक्ष्य राखेका थिए।
सन् २०२० को गर्मी याममा पदत्याग गर्नुअघि उनी देशको सबैभन्दा लामो समय पद सम्हाल्ने प्रधानमन्त्री थिए।
उनको कार्यकालको सम्भवतः सबैभन्दा चर्चा बटुलेको नीति अर्थतन्त्रसम्बन्धी कार्यक्रम समेटिएको "आबेनोमिक्स" थियो।
अर्थतन्त्रलाई बढावा दिने उनका उपाय र मुख्य सुधारहरूले विश्वको तेस्रो ठूलो अर्थतन्त्रलाई पुनर्ताजगी दियो।
तर मानिसहरूको आशालाई पूरै सम्बोधन गरेको भन्ने पनि होइन।
जापान आर्थिक मन्दीमा भएका बेला आबे सन् २०१२ मा प्रधानमन्त्री बनेका थिए।
आबेनोमिक्सले उनको पहिलो कार्यकालमै वृद्धिदर बढाउन सहयोगी बनेको देखिएको थियो।
तर जापानको अर्थतन्त्रलाई पुनर्जीवन दिने उनको प्रयासले सन् २०२० मा देश मन्दीमा जाँदा मुख्य चुनौतीहरू खेप्यो।
त्यो र अन्य मन्दीले उनको शैलीको प्रभावकारितामाथि प्रश्नहरू उठायो।
आबेनोमिक्स के थियो?
आबेको उक्त विशेष आर्थिक कार्यक्रम उनले सन् २०१२ मा ल्याएका नीतिहरूको एकीकृत रूप हो।
उनको योजनामा दुई दशकदेखि गतिरोध झेलेको जापानको अर्थतन्त्रलाई द्रुतगतिमा चलायमान गराउन आबेनोमिक्सका तीनवटा 'तीर' प्रयोग गर्ने कुरा समेटिएको थियो।
- मौद्रिक नीति: सजिलै बुझ्दा जापानको मौद्रिक नीति अल्पकालीन नकारात्मक ब्याजदरको रूपमा ल्याइएको थियो। जसले उपभोक्ता र कम्पनीहरूलाई ऋण लिन र खर्च गर्न सहज पार्यो।
- आर्थिक प्रोत्साहन: अर्थतन्त्रमा रकम प्रवाह गर्दा अर्थात् पूर्वाधारजस्ता क्षेत्रमा धेरै खर्च गर्दा वा करमा छुट दिनेजस्ता आर्थिक प्रोत्साहनयुक्त कार्यक्रमहरू।
- संरचनागत सुधार: धेरै महिलाहरूलाई कामसँग जोड्ने, श्रम उदारीकरणसहित श्रम क्षेत्रमा रहेको चाप कम गर्न र आर्थिक वृद्धिका लागि थप आप्रवासीहरू भित्र्याउने काम।
के आबेनोमिक्सले काम गर्यो?
राजनीतिक पहिचान बनाउने अभ्यासका रूपमा आबेनोमिक्स निश्चय पनि एउटा सफलता बन्यो।
तर त्यसले आबेले नै तय गरेका कतिपय आर्थिक लक्ष्यहरू भेट्न सकेन।
पद सम्हाल्न उनीसामु कुनै बेलाको गतिशील अर्थतन्त्रलाई पुनर्ताजगी दिने एउटा कठिन दायित्व थियो।
सन् १९९१ देखि २००१ बीचको "गुमेको दशक" भनिने एउटा मुख्य सुस्तता भएको समयको छाया त्यस बेलासम्म कायमै थियो।
आबेनोमिक्सले वृद्धिदर बढाउन अवश्य पनि सघायो तर देशले युद्धपछि जुन रफ्तार लिएको थियो त्यो गतिमा भने होइन।
अहिले पनि त्यहाँको अर्थतन्त्रको आकार ४४ खर्ब अमेरिकी डलरभन्दा कम छ जुन आबे प्रशासनले सन् २०२० कै लागि तय गरेको थियो।
उनले राजीनामा दिँदा धेरै अर्थशास्त्रीहरूले आबेले देशलाई आठ वर्षअघिको तुलनामा महामारीजस्ता आर्थिक झट्काहरूसँग जुझ्न सक्षम बनाएर गएको विश्लेषण गरेका थिए।
आबेको आर्थिक साख
आबेको आर्थिक दृष्टिकोणमाथि त्यसबेला प्रश्न उठ्यो जतिखेर (सन् २०२० को सुरुतिर) जापान पुनः आर्थिक मन्दीमा धकेलियो।
देशको कोभिडसँग जुझ्ने शैलीलाई लिएरसमेत उनले आलोचना खेपे।
त्यसबेला उनले आन्तरिक पर्यटनलाई बढवा दिने अभियान चलाए जसले सङ्क्रमण ब्युँताउन झन् योगदान गरेको विपक्षीहरूको आरोप छ।
आलोचकहरूले आबेनोमिक्सले कार्यस्थलमा महिलालाई थप बलियो बनाउने, परिवारवादसँग जुझ्ने र अस्वस्थ कार्य संस्कृति परिवर्तन गर्ने मामिलामा आफ्ना वाचा पूरा गर्न नसकेको आरोप लगाउँछन्।
यद्यपि शुक्रवार ब्याङ्क अफ जापानका गभर्नर हारुहिको कुरोदाले आबेले जापानलाई "लामो सङ्कुचनबाट बाहिर निकाल्न" र "दिगो हुने आर्थिक वृद्धि"का लागि निकै काम गरेको बताए।
त्यसोभए अहिले जापानको अर्थतन्त्रको भविष्य कस्तो देखिन्छ?
आबेले पद छाडेपछि लिबरल डेमोक्र्याट पार्टीका नेताका रूपमा प्रधानमन्त्री बनेका योशिहिदे सुगाले आबेनोमिक्सका नीतिहरू कायमै राखे।
सुगापछि गत अक्टोबरमा जापानका वर्तमान प्रधानमन्त्री फुमिओ किस्हिदा प्रधानमन्त्री बनेका हुन् र उनीसमेत आफ्ना दुई पूर्ववर्तीझैँ लिबरल डेमोक्र्याट पार्टीका नेता हुन्।
तर किस्हिदाले पद संहालेलगत्तै फाइनान्सिअल टाइम्स पत्रिकालाई अन्तर्वार्ता दिँदै "आबेनोमिक्सले कुल गार्हस्थ उत्पादन, कम्पनीहरूको आम्दानी र रोजगारीका क्षेत्रमा स्पष्टसँग नतिजा दिएको" बताएका थिए।
उनको भनाइ थियो, "तर त्यो सधैँका लागि काम गर्ने अवस्थासम्म पुग्न विफल भयो।"
"म केही पक्षको मात्र आम्दानी हुने अवस्था नराखेर बरु व्यापक दायराका मानिसहरूले खपत गर्न सक्ने त्यस्तो आर्थिक चक्र हासिल गर्न चाहन्छु," उनले भनेका थिए।
"मलाई लाग्छ नयाँ अवस्थाको पुँजीवाद विगतको भन्दा फरक यसैगरी हुनेछ।"
ओमिक्रोन भेरिअन्टको लहर र ऊर्जा मूल्य निकै बढ्दा वर्तमान सरकारले जोखिममा रहेका परिवार र प्रभावित व्यवसायहरूलाई सघाएको थियो।
अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डिभलपमेन्ट ओइसीडीले यतिखेर सुरुमै सुस्त सुरुवात भएको वर्षमा कोभिडले छाडेको र र रुस-युक्रेन युद्धपछि अर्थतन्त्र सन् २०२२ मा १.७ प्रतिशतल बढ्ने प्रक्षेपण गरेको छ।
तर उसले आर्थिक पुनरुत्थान सुस्त रहने चेतावनी दिएको छ।









