जापानः गोली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको मृत्यु, नेपालमा पनि राष्ट्रिय शोक

तस्बिर स्रोत, Getty Images
गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अस्पतालमा निधन भएको छ। उनी ६७ वर्षका थिए।
सन्दिग्ध आक्रमणकारी ४१ वर्षीय पुरुष भएको बताइएको छ। उनी प्रहरी हिरासतमा छन्। ती व्यक्ति भूतपूर्व जलसैनिक भएको बताइएको छ।
नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला आबेमाथि गोली प्रहार भएको थियो।
भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उनको गर्दनमा लागेको थियो।
गोली लागेपछि उनी भुइँमा ढलेका थिए। उनको शरीर रक्ताम्मे देखिएको थियो।
यसअघि टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबे "मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा" भएको बताएका थिए।
समाचार विवरणहरूका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ।
जापानमा हाते बन्दुक प्रतिबन्धित छ। त्यहाँ यस प्रकारको घटनालाई एकदमै दुर्लभ मानिन्छ।
सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा एउटा सडकको बीचमा स्वास्थ्यकर्मीहरू आबे वरिपरि बसेको देखिएको थियो। आबेलाई अस्पताल लगिएको थियो।
नारा सहरको आपत्कालीन उद्धार निकायले आबेलाई गर्दनमा दाहिनेपट्टि र काँधको देब्रे हड्डीमा चोट लागेको बताएको छ।
अस्पतालमा उनलाई रगत दिइएको थियो।
नेपालका प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेताले पनि आबेलाई "नेपालका असल मित्र" भन्दै उनको निधनप्रति गहिरो दु:ख प्रकट गरेका छन्।
विश्व नेताको प्रतिक्रिया
जापानमा सबभन्दा लामो समय प्रधानमन्त्री रहेका आबेको हत्याप्रति विश्व नेताहरूले गहिरो दुख प्रकट गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले उनको निधनको खबरले आफू "अत्यन्त दुखित भएको" बताएका छन्।
ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारुले तीन दिने राष्ट्रिय शोक घोषणा गरेका छन्।

तस्बिर स्रोत, Reuters
भारतमा पनि एक दिने शोक घोषणा गरिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आबेलाई "विश्वका एक राजनेता" भनेका छन्।
टोक्योस्थित चिनियाँ दूतावासले समवेदना प्रकट गरेको छ।
नेपालमा राष्ट्रिय शोक
यसैबीच नेपाल सरकारले आबेको हत्या भएकोमा घोर भर्त्सना गरेको छ।

तस्बिर स्रोत, Getty Images
आबेको सम्मानमा नेपाल सरकारले असार २५ गते शनिवार राष्ट्रिय शोकको घोषणा पनि गरेको छ।
शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जनाएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना जापानी समकक्षीलाई समवेदना सन्देश पठाउने आबेको हत्याप्रति गहिरो दु:ख व्यक्त गरेका छन्।
मन्त्रालयले शुक्रवार जारी गरेको वक्तव्यमा देउवाले "आबेको अन्त्य जापानका लागि मात्र नभइ विश्वकै लागि अपूरणीय क्षति भएको" सन्देशमा उल्लेख गरेको जनाइएको छ।
कसरी भयो आक्रमण?
आफ्ना दलका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो।
बीबीसीका जापान संवाददाता रुपर्ट विङ्फील्ड-हेयसका अनुसार प्रत्यक्षदर्शीहरूले आफूले एउटा ठूलो बन्दुक बोकेको मान्छे देखेका बताएका छन्।
पहिलो पटक प्रहार गरिएको गोली आबेलाई लागेको थिएन। तर दोस्रो गोली उनको गर्दनमा लाग्यो।
गोली लागेपछि उनको शरीरबाट रगत बग्न थालेको थियो र उनी भुइँमा ढलेका थिए।
आक्रमणकारीले भाग्न प्रयास गरेनन्। सुरक्षाकर्मीले तत्काल समाते।
स्थानीय समाचार प्रसारक एनएचकेका अनुसार प्रहरीले उक्त हतियार बरामद गरेको छ तथा आक्रमणकारीको पहिचान गरेको छ।

तस्बिर स्रोत, Reuters
को हुन् आबे
शिन्जो आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुन्।
स्वास्थ्यको कारण देखाउँदै उनले सन् २०२० मा पदत्याग गरेका थिए।
पछि उनले आफू पेटको रोगबाट पीडित भएको बताए।
योशिहिदे सुगा उनको उत्तराधिकारी बने। त्यसपछि फुमिओ किशिदा जापानको प्रधानमन्त्री बने।
दुर्लभ घटना
जापानमा गोलीकाण्ड दुर्लभ मानिन्छ।
जापानमा सन् २०१४ मा देशभरि केवल छवटा साङ्घातिक गोली प्रहारका घटना भएका थिए। अमेरिकामा सो वर्ष ३३,५९९ जनाको गोलीकाण्डमा मृत्यु भएको थियो।
जापानमा बन्दुक किन्न चाहने व्यक्तिले कडा परीक्षा दिनुपर्छ। उनीहरूको मानसिक स्वास्थ परीक्षण पनि गरिन्छ।











