पाकिस्तान बाढी: विध्वंसकारी मनसुनपछि डेङ्गीका बिरामी बढ्दो

विस्थापित मानिसहरू
    • Author, पुम्जा फिहलानी
    • Role, बीबीसी न्यूज, कराची

पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य सङ्कट आउन सक्ने चेतावनी दिएका छन्।

जुन महिनाको मध्यदेखि सुरु भएको बाढीका कारण हालसम्म करिब १५०० जनाको मृत्यु र ३३ लाख मानिस प्रभावित भएका छन्।

देशका विभिन्न भागहरूमा बाढी पीडितको उद्धार र निकासीको प्रयास जारी रहँदा त्यहाँका स्वास्थ्य विज्ञहरूले डेङ्गी, औलो र गम्भीर ग्यास्ट्रिक सङ्क्रमण दर बढेको विवरणहरू दिएका छन्।

अधिकांश विस्थापित मानिसहरू जमेको पानीको छेउछाउमा आश्रय लिइरहेका छन्। उनीहरूमध्ये केहीको डेङ्गी ज्वरोका कारण निधन भइसकेको छ र हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।

दक्षिणी सिन्ध प्रान्तका स्वास्थ्य अधिकारीहरूले करिब ३,८३० मानिसहरूमा डेङ्गीको ज्वरो आएको विवरण पेस गरेका छन्। उनीहरूमध्ये कम्तीमा नौ जनाको मृत्यु भएको छ। तर यो अनुमान मात्र हुन सक्ने चिन्ताहरू व्यक्त गरिएका छन्।

"समग्रमा सिन्धको अवस्था निकै खराब छ। हामी प्रान्तभरि चिकित्सकीय शिविरहरू सञ्चालन गर्दैछौँ। अहिले प्राय डेङ्गीका बिरामीहरू देखिएका छन् र त्यसपछि औलोको बिरामीको सङ्ख्या उच्च छ," पाकिस्तान मेडिकल एसोसिएसनका महासचिव डा. अब्दुल गफूर शोरोले बीबीसीसँग भने।

"हामीले प्रयोगशालाहरूमा अनुगमन गर्दा करिब ८० प्रतिशत परीक्षण शङ्कास्पद बिरामीको भइरहेको छ।"

कराचीको आगा खान अस्पतालमा डेङ्गीका सयौँ बिरामीहरूको उपचार गरिरहेका डाक्टर शोरोले आगामी साताहरूमा अवस्था झनै खराब हुनसक्ने चिन्ता व्यक्त गरे।

बाढी आएको दुई महिनाभन्दा लामो समय बित्दा पनि पाकिस्तानभरि हजारौँ गाउँहरू अझै डुबानमा छन्। जसका कारण असङ्ख्य परिवारहरू विस्थापित भएका छन्।

थुप्रै दुर्गम ठाउँहरूमा पानीको कारण भएको क्षतिले सडकहरू प्रयोग गर्न नसकिने भएकाले, केही समुदायका मानिसहरू आफ्नो स्वास्थ्य जाँच तथा उपचारका लागि अस्थायी घुम्ती स्वास्थ्य शिविरहरूमा भर पर्न बाध्य छन्। यद्यपि, ती थोरै छन्।

जलमग्न क्षेत्र र बाढी पीडितहरू

तस्बिर स्रोत, Reuters

मुना सज्जदले आफ्नी एक वर्षीया छोरी सकिनालाई स्वास्थ्य सेवा पाउने आशामा सिन्ध प्रान्तको सेहवान नजिकैको अस्थायी क्लिनिकमा ल्याइन्।

ग्यास्ट्रिकको सङ्क्रमणका कारण सकिना केही दिनयता अस्वस्थ थिइन्। मुनाले उनलाई शान्त बनाउनका निम्ति आफ्नो छातीमा टाँस्न खोज्दै छिन् तर सकिना रुन छोड्दिनन्। उनी निकै पीडामा देखिन्छिन् र निरन्तर बान्ता गरिरहेकी छन्।

"मेरा दुई छोराछोरीलाई सञ्चो छैन। मसँग उनीहरूको हेरचाह गर्न पैसा छैन। मैले बाढीमा सबैकुरा गुमाएँ," मुना भन्छिन्।

"यदि म क्लिनिकमा नपुगेको भए सकिनाको मृत्यु हुन्थ्यो। हामीसँग आफू र हाम्रा बिरामी बच्चाहरूलाई खुवाउने खाना पनि छैन।"

सर्वत्र बिरामी बालबालिका र वयस्कहरू छन् र उनीहरूको रेखदेख गर्न पर्याप्त जनशक्ति छैनन्। चिकित्सकहरूका अनुसार उनीहरूमाथि चाप बढेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ७५ वर्षअघि छुट्टिएका दाजुभाइको भेट

"बिरामीहरू धेरै छन् र हामी सबैका लागि सक्दो प्रयास गरिरहेका छौँ। तर पनि उनीहरू सबैलाई मद्दत गर्ने क्षमता छैन," एक वरिष्ठ चिकित्सक खालिद खोसाले भने।

"हामीले हरेक दिन सयौँ बिरामीहरू हेरिरहेका छौँ। अझै पनि धेरै बिरामी छन् जसलाई हामीले सेवा दिन सक्दैनौँ। हाम्रो क्लिनिकमा मात्र होइन प्रान्तभरि अवस्था यस्तै छ।"

डा. खोसा प्रान्तमा रोगको अवस्था मापन गरिरहेका अनुगमन अधिकृत समेत हुन्। उनले रोगको बढ्दो दरका कारण आफू निकै चिन्तित भएको बताए।

"हामीले सक्दो प्रयास गरिरहेका छौँ। तर मलाई हामी मानवीय प्रकोप नजिक रहेको डर छ। धेरै मानिसहरू डेङ्गी, मलेरिया र ग्यास्ट्रिक समस्याहरूबाट ग्रसित छन् र हामी ती सबैलाई मद्दत गर्न सक्दैनौँ।"

"मानिसहरूको मृत्यु हुन गइरहेको छ र हामीले उनीहरूलाई बचाउने प्रयास गर्नुपर्छ।"

मुना र छोरी सकिना

मुना र उनको बालबालिकाहरूसहित सयौँ मानिसहरूले वर्षाले प्रभाव नपुर्‍याएको ठाउँहरू मध्येको एक लालबागको सानो जग्गामा अस्थायी पाल बनाएका छन्। तर, यहाँ पनि स्वास्थ्य समस्या देखिएका छन्।

ठाउँ जलमग्न नभए पनि त्यहाँ खानेकुरा वा सफा पिउने पानीको अभाव छ। यो अवस्था हरेक दिन भयावह बन्दै गइरहेको छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले गत साता बाढीग्रस्त क्षेत्रहरूको भ्रमणको क्रममा अवस्थाप्रति चिन्ता व्यक्त गरे। त्यहाँ उनले बाढीमा सबैथोक गुमाएका परिवारहरूलाई भेटेका थिए।

उनले पाकिस्तानलाई सहयोग गर्ने विश्वको जिम्मेवारीलाई भएको बताए। उनले धनी राष्ट्रहरूलाई पाकिस्तान जस्ता गरिब देशहरूलाई पीडाबाट बाहिर निस्कन मद्दत गर्न आग्रह गरे।

"हामीलाई यस्तो संसार चाहिन्छ जहाँ असमानता हटेपछि मात्र शान्ति र सुरक्षा सुनिश्चित हुन सक्छ," उनले भने।

उनले पाकिस्तानले भोगेको विध्वंसकारी बाढीलाई जलवायु परिवर्तनको परिणामका रूपमा व्याख्या गरे।

अधिकारीहरूले सिन्ध प्रान्तमा पानीको तह घट्न र मानिसहरूले त्यहाँ पुनः बस्न सुरु गर्न महिनौँ लाग्नसक्ने बताएका छन्। तर यहाँ मुना जस्ता धेरै मानिसहरूका लागि त्यो समय आउने छैन।

उनीलगायत केही मानिसहरूको सम्पूर्ण कुरा नष्ट भएको छ र पीडादायी रूपमा स्पष्ट के छ भने बाढी पीडितहरूलाई द्रुत रूपमा सहयता प्रदान हुने छैन।

पाकिस्तानका मानिसहरूले विश्वले उनीहरूको पीडा सुन्ने आशा राखेका छन् र क्षमता भएका देशहरूले उनीहरूलाई जीवन पुनर्निर्माण गर्न मद्दत गर्ने अपेक्षा गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपालमा डेङ्गी: 'एकदम ज्वरो आयो अनि आँखाको गेडी खस्ला जस्तो भयो'