गोटाबय राजपक्षः देश छाडेर भागेका पूर्वराष्ट्रपति श्रीलङ्का फर्किए, सरकारलाई कस्तो चुनौती

गोटाबय

तस्बिर स्रोत, Getty Images

    • Author, अनबरसन इथिराजन
    • Role, बीबीसी न्यूज

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबय राजपक्ष स्वदेश फर्किएका छन्। 

गत जुलाई महिनामा आफूविरुद्ध आयोजित विरोधप्रदर्शन उत्कर्षमा पुगेपछि राष्ट्रपति पदमा आसीन हुँदै उनी भागेर विदेश गएका थिए। तर पछि उनले राजीनामा दिएका थिए।

अस्थायी भिसामा थाईल्यान्डमा बसिरहेका राजपक्ष सिङ्गापुर हुँदै घर फर्केका हुन्।

केही श्रीलङ्काली मन्त्रीहरूले उनलाई विमानस्थलमा भेटेको बताइएको छ। 

श्रीलङ्कालीहरूले उनको सरकारलाई श्रीलङ्काको इतिहासमा खा परेको सबैभन्दा खराब आर्थिक सङ्कटका लागि दोषी मानेका छन्।

देशको ढुकुटीमा वैदेशिक मुद्राको भण्डार रित्तिएकाले आयात हुन नसकेपछि श्रीलङ्कामा खाद्यान्न र इन्धनको ठूलो अभाव सिर्जना भएको थियो। 

गोटाबय राजपक्ष

तस्बिर स्रोत, BBC Sinhala

राजपक्ष कोलम्बोस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्किँदा उनलाई सुरक्षा दिइएको थियो

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, राजपक्ष कोलम्बोस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्किँदा उनलाई सुरक्षा दिइएको थियो

प्रदर्शनको प्रभाव

खाद्यान्न र इन्धनको मूल्य अचाक्ली वृद्धि भएपछि एप्रिलमा त्यहाँ प्रदर्शन सुरु भएको थियो। सबै क्षेत्र र समुदायका लाखौँ मानिसहरू धेरै हदसम्म शान्तिपूर्ण ढङ्गले भएका प्रदर्शनका लागि भेला भएका थिए। 

उनीहरूले राजपक्ष र प्रधानमन्त्री पदमा आसीन उनका दाजु महिन्दको राजीनामा माग गरेका थिए। 

मे महिनामा महिन्द राजपक्षले मे महिनामै पदबाट राजीनामा दिएका थिए। 

जुलाई महिनामा हजारौँ मानिसहरू गोटाबय राजपक्ष सरकारी निवासमा बलपूर्वक प्रवेश गरे। त्यसपछि राष्ट्रपति सैन्य विमानमा चढेर माल्दिभ्स पलायन भए।

माल्दिभ्सबाट सिङ्गापुर गएर उनले त्यहीँबाट राजीनामा दिए। 

राजपक्षको पलायन र पदत्यागले पुराना राजनीतिज्ञ रनिल विक्रमसिङ्घलाई राष्ट्रपति बन्ने अवसर दियो।

महिन्द राजपक्षले राजीनामा दिएपछि उनी प्रधानमन्त्री नियुक्त भएका थिए। राजपक्ष परिवारको निकटताका कारण प्रदर्शकारीहरूले उनलाई पनि रुचाएका थिएनन् र उनको राजीनामा माग गरिएको थियो।

यद्यपि राजपक्षले राजीनामा दिएपछि उनलाई संसद्ले राष्ट्रपति निर्वाचित गर्‍यो।

प्रदर्शन

तस्बिर स्रोत, Getty Images

राजपक्षको फिर्ती किन संवेदनशील विषय

राजपक्षको स्वदेशफिर्तीका नवगठित सरकारका लागि संवेदनशील विषय हो। सरकार थप विरोध नहोस् भन्ने चाहन्छ।

सरकारले अब राजपक्षको सुरक्षा पनि सुनिश्चित गर्नुपर्नेछ। 

"हामीले राजपक्षको फिर्तीको विरोध गरेका छैनौँ। हरेक श्रीलङ्काली नागरिक देश फर्किन सक्छन्," विरोध कार्यक्रमका एकजना शीर्ष अगुवा फादर जीवन्त पेइरिसले बीबीसीसँग भने।

"मानिसहरू सडकमा आउनुको कारण उनको सरकारमाथि लागेको भ्रष्टाचारको आरोप हो। हाम्रो उनीविरुद्ध कुनै व्यक्तिगत शत्रुता छैन।"

गोटाबय राजपक्ष र उनकी पत्नी थाईल्यान्डमा

तस्बिर स्रोत, BBC Sinhala

तस्बिरको क्याप्शन, थाईल्यान्डको विमानस्थलमा गोटाबय राजपक्ष र उनकी पत्नी (पछाडि)

अन्य प्रदर्शनकारीहरूले राजपक्ष पुनः राजनीति वा सरकारमा प्रवेश गर्ने जुन कुनै प्रयासको विरोध गर्ने बताएका छन्। 

"उनी फर्किएपछि उनले राष्ट्रपतिका रूपमा गरेका गल्तीका विरुद्ध हामीले कानुनी कदमहरू चाल्नुपर्छ। अनि उनका दाजु महिन्द राजपक्षविरुद्ध समेत मुद्दा हाल्नुपर्छ," अर्का अभियानकर्मी राजीव कान्तले बीबीसीलाई भने। 

श्रीलङ्कामा तेल भर्न लाम लागेका सवारीसाधनहरू

तस्बिर स्रोत, EPA-EFE/REX/SHUTTERSTOCK

गोटाबय राजपक्ष कहाँ बस्लान्

श्रीलङ्काली सञ्चारमाध्यमहरूका अनुसार सरकारले सेन्ट्रल कोलम्बोस्थित एउटा घरलाई गोटाबय राजपक्षको निवासका लागि छुट्ट्याएको छ।

तर उनी त्यहाँ सीधै गए वा कुनै सुरक्षित सैन्य शिविरमा बस्छन् भन्ने स्पष्ट छैन। 

रक्षा मन्त्रालयका एक प्रवक्ताले बीबीसीलाई बताएअनुसार राजपक्षलाई "पूर्वराष्ट्रपतिको हैसियतमा" सुरक्षा दिइनेछ।

विक्रमसिङ्घले राष्ट्रपति पद सम्हालेयता अधिकारवादी समूहहरूले सरकारले प्रदर्शनकारीमाथि कारबाही थालेको आरोप लगाएका छन्। 

पछिल्ला सातामा दर्जनौँ मानिसहरू पक्राउ परेका छन्। तर तीमध्ये धेरैजसो पछि जमानतमा रिहा भएका छन्।

प्रदर्शनको नेतृत्व गर्ने विद्यार्थी सङ्गठनका तीन नेताहरू आतङ्कवाद नियन्त्रणसम्बन्धी एउटा कानुनअन्तर्गत हिरासतमा छन्। 

भिडिओ क्याप्शन सुरु हुँदैछ, राष्ट्रपति भवन छिरेका प्रदर्शनकारीले यसरी पौडी खेले

प्रदर्शनकारीको धारणा

प्रदर्शनकारीहरूले राष्ट्रपति विक्रमसिङ्घसामु वैधता र जनसमर्थनको अभाव रहेको आरोप लगाएका छन्। राजपक्ष परिवारलाई संरक्षण गरेको आरोप समेत उनीमाथि लाग्ने गर्छ। 

सरकारले भने कानुन उल्लङ्घन गरेको ठानिएका मानिसमाथि मात्र कारबाहीका कदम चालिएको जनाएको छ। 

प्रदर्शनकारीहरूले कोलम्बोमा राष्ट्रपतिको सचिवालयअघि बनाएका शिविरलाई जुलाईको तेस्रो साता सुरक्षाकर्मीहरूले नष्ट गरेका थिए। 

गत महिना कोलम्बोको तटीय गल फेस क्षेत्रबाट प्रदर्शनकारीहरू हटेका थिए। 

पछिल्ला केही सातामा सरकारले पास दिएर इन्धन आपूर्तिलाई व्यवस्थित पारेको छ। त्यसअन्तर्गत क्यूआर कोडसहित दर्ता गरिएका गाडीहरूले मात्र पेट्रोल स्टेशनमा तेल किन्न पाउनेछन्। 

तर केही पेट्रोल पम्पहरूमा अझै उच्च माग देखिनेगरी गाडीका पङ्क्ति देखिन्छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, श्रीलङ्कामा औषधि अभाव, स्वास्थ्यसेवा पनि धराशायी हुने डर बढ्दो

आर्थिक सङ्कटको अवस्था

खाद्यसामग्री पसलमा उपलब्ध भए पनि मूल्य निकै बढेको छ। महँगी झन्डै ६५ प्रतिशतले बढेको छ। 

यस साताको सुरुमा श्रीलङ्का सरकार अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफसँग २.९ अर्ब अमेरिकी डलर ऋणका लागि एउटा प्रारम्भिक सहमतिमा पुगेको थियो। 

तर उक्त सहमति कैयौँ अवस्थासँग निर्भर रहनेछ, जस्तै- आर्थिक सुधारहरू र श्रीलङ्काको ५१ अर्ब डलर ऋणभारबारे त्यसका दातासँगका नयाँ संरचनागत सम्बन्धहरू। 

सरकारले आम्दानी बढाउनका लागि केही सार्वजनिक क्षेत्रका सम्पत्तिलाई निजीकरण गर्ने विषयमा जनतालाई आश्वस्त पार्न समेत चुनौती खेपिरहेको छ। 

मजदुर सङ्गठनहरूले निजीकरणले रोजगारी गुम्ने अवस्थामा त्यस कदमको जोडदार विरोध गर्न सक्छन्। 

श्रीलङ्काका विपक्षी नेताहरूले अहिलेको शान्त अवस्था रहेको भ्रम छरिएको बताउँछन्। 

उनीहरूका अनुसार यदि इन्धन र खाद्यान्न आपूर्ति पुनः अवरोध भएमा आगामी दिनमा थप विरोधको सम्भावनालाई नकार्न सकिँदैन। 

रेखा

श्रीलङ्का: जान्नुपर्ने केही कुरा

  • टापु राष्ट्रः दक्षिण भारतनजिकै रहेको श्रीलङ्का सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो। त्यहाँको जनसङ्ख्या २.२ करोड छ। तीनवटा जातीय समुदाय - सिन्हाला, तमिल र मुस्लिम - ले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन्
  • राष्ट्रपतिको शक्ति: श्रीलङ्काका राष्ट्रपति राज्य, सरकार र सेनाको शीर्ष व्यक्ति हुन्। तर उनले संसद्‌मा सत्तारूढ दलको नेतृत्व गर्ने प्रधानमन्त्रीसँग धेरै कार्यकारी जिम्मेवारी बाँडफाँट गर्नुपर्छ
  • आर्थिक सङ्कटले आक्रोशः आर्थिक सङ्कटका कारण श्रीलङ्काली जनतामा चरम आक्रोश उत्पन्न भएको छ। त्यहाँ उपभोग्य सामग्रीको सहज आपूर्ति हुन नसकेकाले महँगी चुलिएको छ अनि खानेकुरा, औषधि र इन्धनको अभाव छ। लोडशेडिङ बढेपछि आक्रोशित मानिसहरूले राजपक्ष परिवार र उनीहरूले नेतृत्व गरेको सरकारलाई दोष लगाउँदै सडकमा प्रदर्शन गरेका थिए
  • शासनमा एउटै परिवारः राजपक्ष परिवारले श्रीलङ्कामा वर्षौँदेखि शासन गरेको थियो। लामो समय चलेको रक्तपातपूर्ण गृहयुद्धमा तमिल पृथक्तावादीहरू सन् २००९ मा पराजित भएपछि महिन्द राजपक्ष बहुसङ्ख्यक सिन्हालीहरूबीच नायक भए। त्यतिबेला रक्षामन्त्री रहेका उनका भाइ गोटाबय राजपक्ष पछि राष्ट्रपति बने। तर आन्दोलन चर्किएपछि उनी देश छोड्न बाध्य भए र उनले राजीनामा दिए। अहिले उनीहरूसँग निकट सम्बन्ध भएको मानिने रनिल विक्रमसिङ्घ राष्ट्रपति छन्
रेखा