श्रीलङ्का: रनिल विक्रमसिङ्घ राष्ट्रपति निर्वाचित

तस्बिर स्रोत, Getty Images
- Author, फ्रान्सिस माओ र अनबरसन इथिराजन
- Role, बीबीसी न्यूज
श्रीलङ्कामा सांसदहरूले प्रधानमन्त्री रनिल विक्रमसिङ्घलाई आममानिसमाझ रहेको उनको अलोकप्रियताबीच देशको नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेका छन्।
विक्रमसिङ्घसामु टाट पल्टिएको देशलाई सहज अवस्थासम्म पुर्याउने र महिनौँको विरोध प्रदर्शनपछि बिग्रिएको सार्वजनिक सुव्यवस्था पुनर्स्थापित गर्ने जिम्मेवारी छ।
उनले बुधवार संसद्मा भएको मतदानमा प्रमुख प्रतिपक्षी दलले समर्थन गरेका डल्लस अलाहपेरुमलाई पराजित गरेका हुन्।
गोटाबय राजपक्षको सरकारबाट राजीनामा दिएका अलाहपेरुम श्रीलङ्काको सत्तारूढ दलका वरिष्ठ सांसद पनि हुन्।
गत साता तत्कालीन राष्ट्रपति गोटाबय राजपक्ष देश छाडेर भागेका थिए।
हजारौँ प्रदर्शनकारी राष्ट्रपति निवास तथा अन्य सरकारी कार्यालयहरूमा बलजफती छिरेर राजपक्षको राजीनामा माग गरेपछि उनी माल्दिभ्स हुँदै सिङ्गापुर पुगेका थिए।
प्रदर्शनकारीहरूले गत मे महिनामा प्रधानमन्त्री नियुक्त भएका विक्रमसिङ्घको समेत राजीनामा माग गरेका थिए।

प्रदर्शनकारीहरूले उनको निजी निवासमा आगजनी गर्दै उनको सरकारी निवास कब्जा गरेका थिए।
यद्यपि विक्रमसिङ्घले त्यस्ता मागलाई बेवास्ता गर्दै आएका थिए।
राजपक्षले देश छाडेपछि उनले स्वत: कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गर्दै आएका थिए।
बुधवारको जितको अर्थ उनले सन् २०२४ को नोभेम्बरसम्म बाँकी राष्ट्रपतीय कार्यकाल सम्हाल्नेछन्।
राष्ट्रपतिमा कसरी निर्वाचित भए?

तस्बिर स्रोत, Reuters
मतदानपछि संसदमा बोल्दै ७३ वर्षीय विक्रमसिङ्घले देश 'निकै कठिन अवस्थामा' रहेको भन्दै आफ्ना राजनीतिक प्रतिस्पर्धीहरूलाई समेत आफ्नो सरकारसँग देशको हितका लागि काम गर्न आग्रह गरे।
उनको आर्थिक क्षेत्रको अनुभवका कारण भन्दै श्रीलङ्काको सत्तारूढ दल पोदुजन पेरुमुन पार्टीका बहुमत सांसदले समेत विक्रमसिङ्घलाई सघाएका थिए।
राजपक्षहरूले नेतृत्व गरेको पोदुजन पेरुमुन पार्टी गत निर्वाचनमा विजयी भएको थियो।
६ पटक प्रधानमन्त्री भइसकेका उनी यसअघि दुईपटक राष्ट्रपतीय प्रतिस्पर्धामा सहभागी भएका थिए।
विक्रमसिङ्घले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग देश धराशायी हुनबाट जोगाउन आर्थिक सहायताका लागि संवाद पुन: सुरु गर्न चाहेका छन्।
त्यस्ता संवादमा उनी यसअघि देखी नै सहभागी छन्।

श्रीलङ्काबारे जान्नुपर्ने केही कुरा
- टापु राष्ट्रः दक्षिण भारतनजिकै रहेको श्रीलङ्का सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो। त्यहाँको जनसङ्ख्या २.२ करोड छ। तीनवटा जातीय समुदाय - सिन्हाला, तमिल र मुस्लिम - ले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन्
- राष्ट्रपतिको शक्ति: श्रीलङ्काका राष्ट्रपति राज्य, सरकार र सेनाको शीर्ष व्यक्ति हुन्। तर उनले संसद्मा सत्तारूढ दलको नेतृत्व गर्ने प्रधानमन्त्रीसँग धेरै कार्यकारी जिम्मेवारी बाँडफाँट गर्नुपर्छ
- शासनमा एउटै परिवारः राजपक्ष परिवारले श्रीलङ्कामा वर्षौँदेखि शासन गरेको थियो। लामो समय चलेको रक्तपातपूर्ण गृहयुद्धमा तमिल पृथक्तावादीहरू सन् २००९ मा पराजित भएपछि महिन्द राजपक्ष बहुसङ्ख्यक सिन्हालीहरूबीच नायक भए। त्यतिबेला रक्षामन्त्री रहेका उनका भाइ गोटाबय राजपक्षले देश छोडेर भागेपछि राजीनामा दिएका छन्
- आर्थिक सङ्कटले आक्रोशः अहिले श्रीलङ्काली जनताहरू आक्रोशित छन्। त्यहाँ उपभोग्य सामग्रीको सहज आपूर्ति हुन नसकेकाले महँगी चुलिएको छ अनि खानेकुरा, औषधि र इन्धनको अभाव भएको छ। लोडशेडिङ बढेपछि आक्रोशित मानिसहरूले राजपक्ष परिवार र उनीहरूले नेतृत्व गरेको सरकारलाई दोष लगाउँदै सडकमा प्रदर्शन गरिरहेका छन्










