रुसी तेल कम्पनीका मालिकको ‘झ्यालबाट खसेर’ मृत्यु

तस्बिर स्रोत, Kremlin
रुसको विशाल तेल कम्पनी लूकओइलका अध्यक्ष राभिल म्यागानोभको मस्कोस्थित एक अस्पतालको झ्यालबाट खसेर ज्यान गएको विवरणहरूमा जनाइएको छ।
कम्पनीले उनको मृत्युको पुष्टि गरेको छ। उनी ६७ वर्षका थिए।
म्यागानोभको 'गम्भीर बिमारीपश्चात्' निधन भएको उक्त कम्पनीले जनाएको छ।
रुसी सञ्चारमाध्यमहरूका अनुसार मस्कोस्थित सेन्ट्रल क्लिनिकल अस्पतालमा उनको उपचार भइरहेको थियो र उनको चोटपटकका कारण मृत्यु भएको छ।
झ्यालबाट खसे कि हाम फाले?
रुसमा चर्चित व्यापारीहरूको रहस्यमय परिस्थितिमा मृत्यु भएका शृङ्खलाबद्ध घटनामा म्यागानोभको मृत्यु पछिल्लो घटना हो।
अनुसन्धान अधिकारीहरूले उनको मृत्युको कारणबारे जान्ने प्रयास भइरहेको बताएका छन्।
समाचारसंस्था तासका अनुसार बिहीवार बिहान अस्पतालको छैटौँ तल्लाको झ्यालबाट उनी खसेका थिए। पछि उक्त समाचारसंस्थाले उनले आत्महत्या गरेको उल्लेख गर्यो।
रुसले युक्रेन अतिक्रमण गरेलगत्तै लूकओइलको सञ्चालक समितिले द्वन्द्व सकेसम्म चाँडो अन्त्य गर्न आह्वान गरेको थियो। उसले पीडितहरूप्रति सहानुभूति पनि प्रकट गरेको थियो।
कम्पनीका अर्बपति अध्यक्ष भ्यागिट आलेकपेरोभले एप्रिलमा ब्रिटेनले उनीविरुद्ध आर्थिक प्रतिबन्ध लगाइदिएपछि राजीनामा दिएका थिए।
शृङ्खलाबद्ध रहस्यमय मृत्यु
पछिल्ला महिनाहरूमा रुसका कैयौँ अग्रणी ऊर्जा व्यापारीहरूको अस्वाभाविक परिस्थितिमा ज्यान गएको छ।
- नोभाटेकका पूर्वव्यवस्थापक सेर्गेइ प्रोटो सेन्या, उनकी पत्नी र छोरीको शव एप्रिल महिनामा एउटा स्पेनी भिलामा फेला परेको थियो।
- ग्याजप्रोम ब्याङ्कका पूर्वउपाध्यक्ष भ्लादिस्लाभ अभायभको शव पनि उनकी पत्नी र छोरीसँगै एप्रिलमै मस्कोस्थित उनीहरूको घरमा फेला परेको थियो।
- मे महिनामा लूकओइलका पूर्वप्रमुख अलेक्सान्डर सुबोटिनको हृदयाघातका कारण ज्यान गएको थियो।
लूकओइल रुसको सबभन्दा ठूलो निजी कम्पनी हो।
म्यागानोभको क्षमताकै कारण कम्पनी विश्वकै ठूला ऊर्जा कम्पनीमध्ये एक बन्न पुगेको कम्पनीले जनाएको छ।
उनले उक्त निजी तेल कम्पनीमा सन् १९९३ देखि काम गरेका हुन्।
दुई वर्षअघि उनी त्यसका अध्यक्ष नियुक्त भए। तीन वर्ष अघि उनलाई राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिष्ठित पुरस्कार दिएका थिए।
मस्को सहरको पश्चिम भागमा रहेको अस्पतालमा उनको उपचार भइरहेको थियो।
रुसका राजनीतिक तथा व्यापारिक क्षेत्रका कुलीन वर्गका मानिसहरू त्यहाँ उपचार गराउने गर्छन्।
सोभियत नेता मिखाइल गोर्बाचोफको पनि त्यही अस्पतालमा केही दिनअगाडि निधन भएको हो।
बिहीवार बिहान गोर्बाचोफको कफिनमा फूल चढाउन पुटिन त्यहाँ पुगेका थिए।
यो पनि पढ्नुहोस्









