चीन-ताइवान: अमेरिकी सभामुख भ्रमणपछि सुरु सैन्य अभ्यास पूरा भएको चीनको भनाइ

सैन्य अभ्यास

तस्बिर स्रोत, Getty Images

अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणको प्रतिक्रिया स्वरूप सुरु गरिएको करिब एक साता लामो सैन्य अभ्यास पूरा भएको चीनले जनाएको छ।

चीनको सेनाले स्वशासित ताइवान वरपरको क्षेत्रमा गस्ती जारी रहने जनाउँदै यसअघिको हवाई र सामुद्रिक कारबाही सफल भएको बताएको छ।

ताइवानलाई आफ्नो छुट्टिएको प्रान्त रहेको र कुनै समय बल प्रयोग गरेर मूल भूमिमै समायोजित गर्न सकिने ठान्दै आएको चीन उक्त टापुमा भएको पलोसीको छोटो भ्रमणले आक्रोशित भएको थियो।

ताइवानले आक्रमणको पूर्वतयारी स्वरूप सैन्य अभ्यास गरेको आरोप चीनमाथि लगाएको छ।

ताइवान सरकारले चिनियाँ सार्वभौमसत्ताको दाबीलाई अस्वीकार गर्दै आएको छ र यो क्षेत्र चिनियाँ मूल भूमिभन्दा फरक रहेको ठान्दै आएको छ। बेइजिङ भने यो टापुलाई अन्तर्राष्ट्रिय स्तरमा एक्लाउन चाहन्छ।

अमेरिकी सभामुख पलोसी सन् १९९० को दशक यता ताइवान भ्रमण गर्ने सबैभन्दा उच्च अमेरिकी अधिकारी हुन्।

चीनको चेतावनी बेवास्ता गर्दै उनी गत साता ताइवान भ्रमणमा निस्किएपछि दुई देशबीच तनाव बढेको थियो।

अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमण

तस्बिर स्रोत, Getty Images

उग्र प्रतिक्रिया जनाएको चीनले चार दिनसम्म गोलाबारीको अभ्यास, पनडुब्बी प्रतिरोधी आक्रमण गर्नुका साथै समुद्री आक्रमणको अभ्यास गरेको थियो।

चीनको पिपल्स लिबरेशन आर्मीले एक वक्तव्य जारी गर्दै चीन र ताइवानबीचको समुद्री क्षेत्रमा "नियमित युद्ध तयारी गस्तीहरू" गरिने जनाएको छ।

ताइवानको रक्षा मन्त्रालयले ३६ वटा चिनियाँ सैन्य विमान र १० वटा पानीजहाज चीन र ताइवानबीच रहेको साँघुरो सामुद्रिक मार्गमा अझै पनि परिचालित रहेको बुधवार जनाएको छ।

ताइवान

बुधवार चीनको ताइवान मामिला कार्यालयले उक्त टापु चीनमा गाभ्न बल प्रयोग हुनसक्ने कुरा अस्वीकार गरेको थिएन।

"हामी पृथकतावादी तत्त्वहरूलाई उक्साउने वा बाहिरी शक्तिहरूले हाम्रो रातो सीमा पार गर्ने कामको प्रतिक्रियामा कठोर कदम चाल्न बाध्य हुनेछौँ," ताइवानबारे २० वर्षयता पहिलो पटक सार्वजनिक गरिएको चिनियाँ श्वेतपत्रमा भनिएको छ।

चिनियाँ नीतिबारेको यो कागजातले ताइवान फिर्ता लिइएको अवस्थामा त्यहाँ सेना र प्रशासन नपठाउने विगतको प्रतिज्ञा उल्टाएको छ।

बेइजिङले यो टापुलाई यसअघि वाचा गरिएजस्तो स्वायत्तता नदिने नियत राखेको यसले सङ्केत गरेको छ।

हालै गरिएका सर्वेक्षणहरूमा बहुमत जनताले ताइवानमा प्रजातन्त्र, स्वतन्त्र सञ्चारमाध्यम चाहेको र कम्युनिस्ट शासन रहेको चीनसँगको कुनै पनि प्रकारको एकीकरण नचाहेको बताएका थिए।

ताइवान

चीन-ताइवान सम्बन्ध

  • किन चीन र ताइवानबीच राम्रो सम्बन्ध छैन? सन् १९४० को दशकको गृहयुद्धमा चीन र ताइवान अलग भएका थिए। तर चीनले ताइवानलाई आफूसँग छुट्टिएको एक प्रान्त भएको र आवश्यक परे शक्ति प्रयोग गरेर भए पनि गाभ्नुपर्ने बताउँदै आएको छ।
  • ताइवानमा कस्तो शासन छ? ताइवानको आफ्नो संविधान, प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित नेता र कुल तीन लाख सैनिक छन्।
  • के ताइवानले छुट्टै राष्ट्रको मान्यता पाएको छ? ताइवानलाई थोरै देशले मात्रै मान्यता दिएका छन्। धेरैले चिनियाँ सरकारलाई मान्यता दिएका छन्। अमेरिकाको ताइवानसँग आधिकारिक दौत्य सम्बन्ध राखेको छैन तर उक्त टापु राष्ट्रलाई आफ्नो रक्षा गर्न साधन प्रदान गर्ने कानुन पारित गरेको छ।
ताइवान