तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हिन्दू-मुस्लिम द्वन्द्व: धार्मिक समुदायविरुद्ध घृणा फैलाउने सङ्गीतको उदय
- Author, राघवेन्द्र राव
- Role, बीबीसी न्यूज, दिल्ली
छब्बीस वर्षीय सन्दीप चतुर्वेदी उत्तर प्रदेशको अयोध्या सहरस्थित एक अस्थायी स्टुडिओमा आफ्नो नयाँ गीत रेकर्ड गर्ने तयारी गर्दै छन्।
उनको गीत हिन्दूहरूले त्यहाँ पूजा गर्ने अधिकार दाबी गरेपछि विवादमा तानिएको एक मस्जिदको बारेमा हो। गीतमा अप्रत्यक्ष रूपमा मुस्लिम विरुद्धका शब्द परेका छन्। तर, चतुर्वेदी भने उक्त गीतले आफूलाई सङ्गीत क्षेत्रमा फर्काउन सक्ने बताउँछन्।
चतुर्वेदीका गीतहरू यूट्यूब र अन्य सामाजिक सञ्जालहरूमा मौलाउँदो साङ्गीतिक प्रवृत्तिका अंश हुन् जहाँ हिन्दू दक्षिणपन्थी समर्थकहरूले मुस्लिमहरू विरुद्ध घृणा व्यक्त गर्छन्।
त्यस्ता गीतहरूका शब्द अपमानजनक र धम्कीपूर्ण हुन्छन् जसमा हिन्दूहरूले शताब्दीदेखि मुस्लिमहरूबाट पीडा भोगेका र अब त्यो फिर्ता गर्ने समय आएको जनाइएको हुन्छ।
लेखक तथा राजनीतिक विश्लेषक नीलाञ्जन मुखोपाध्याय यस्ता गीतका गायकहरूले केही चर्चा र पैसा कमाउने बताउँछन्।
तर उनका लागि यो सङ्गीत होइन। "यो युद्धको नारा हो।यो युद्ध जित्नका लागि सङ्गीतको प्रयोग गरिएको जस्तो हो। यो सङ्गीतको दुरुपयोग हो र यस्तो वर्षौँदेखि भइरहेको छ।"
चतुर्वेदीले करिब एक दशकअघि भक्ति गायकको रूपमा आफ्नो साङ्गीतिक यात्रा सुरु गरे। तर, केही वर्षपछि "हिन्दू धर्म र राष्ट्रवाद"को बारेमा गीतहरू रचना गर्ने निर्णय गरे र उनको शैली परिवर्तन भयो। उनी आफ्नो छवि बदल्न चाहन्थे।
सन् २०१६ मा उनले उत्पादन गरेको एक साङ्गितिक भिडिओ दक्षिणपन्थी हिन्दू राष्ट्रवादीहरू माझ रातारात चर्चित भएपछि उनले खजाना भेटे झैँ महसुस गरे।
त्यस गीतका शब्दहरू पुनः यहाँ राख्नु धेरै उत्तेजक हुन सक्छ। तर गीतमा 'हिन्दू राष्ट्रवाद जागेको दिन मुस्लिम समुदायलाई के हुन्छ' भन्ने आशयको चेतावनी प्रस्ट छ।
हजारौँले उजुर गरेर उनको च्यानल निलम्बनमा पर्नुअघि त्यस गीत यूट्यूबमा लाखौँ पटक हेरिएको चतुर्वेदी बताउँछन्। उनले आफ्नो गीतलाई अनुपयुक्त सामग्रीको रूपमा रिपोर्ट गरिनुमा मुस्लिमहरूलाई दोषी ठहर्याउँछन्।
उनले "लाखौँ सब्सक्राइबरहरू" गुमाउनु पर्यो तर उनीयूट्यूबमार्फत कति आम्दानी गर्थे खुलाउन अस्वीकार गर्छन्।
उनले एउटा गीतको भिडिओ निर्माणका लागि करिब २०,००० भारतीय रुपैयाँ खर्च हुने बताए।
"मैले यूट्यूबबाट धेरै पैसा कमाइरहेको थिइनँ। ती गीतका कारण मैले राष्ट्रवादी-क्रान्तिकारी गायकको रूपमा पाएको पहिचान सबैभन्दा महत्त्वपूर्ण हो," उनले जोड दिए।
अहिले चतुर्वेदीले यूट्यूबमा नयाँ च्यानल खोलेका छन्। तर त्यहाँ उनले राखेका केही सामग्रीहरू उल्लेख्य रूपमा हेरिएका छैनन्। उसले आफ्नो पछिल्लो गीतमा त्यसो नहुने र हेर्नेको सङ्ख्या बढ्ने अपेक्षा गरेका छन्।
प्रायः सङ्गीतको माध्यमबाट मुस्लिमहरूलाई प्रहार गरेको आरोप लागेका चतुर्वेदी यसबारे क्षमाप्रार्थी छैनन्। "यदि मैले आफ्नै केही कुरा प्राप्त गर्न हात जोडेर याचना गरेँ भने तपाईँ सहमत हुनुहुन्छ? हुनुहुन्न नि है? त्यसैले हामी केही उत्तेजक हुनुपर्छ होइन र?"
दिल्ली, दादरीस्थित निर्माता उपेन्द्र राना पनि उस्तै प्रकृतिका सङ्गीत निर्माण गर्छन्।
उनको लक्ष्य इतिहासलाई "सच्याउनु" हो र उनका गीतहरूले हिन्दू योद्धाहरूका गाथा गाउँछन्। तिनमा मुस्लिम शासकहरूलाई खलनायकको रूपमा चित्रण गरिएको छ।
विद्यालयमा सिकाइने इतिहासबारे उनले भने, "थुप्रै यथार्थहरू लुकाइएका छन् र हामीमाथि झुटा आरोपहरू थुपारिएका छन्।"
यूट्यूबमा अपलोड गरिने भिडिओबाट आफूलाई निरन्तर आम्दानी हुने राना बताउँछन्।
"हामी भारतमा विदेशी मुद्रा भित्र्याउँदै छौँ। यूट्यूबले डलरमा भुक्तानी गर्छ," उनले भित्तामा हिन्दू योद्धाको रूपमा चिनिएका व्यक्तिहरूको तस्बिरहरूसँगै झुन्ड्याइएको यूट्यूब सिल्भर प्ले बटन देखाउँदै भने।
जबदेखि रानाले भक्ति गान र रोमाञ्चक गीतहरूको साटो "ऐतिहासिक" गाथा भएका गीतहरू रचना गर्न थाले तबदेखि उनी निकै चर्चित भएका छन्। उनको यूट्यूब च्यानल करिब ४००,००० पटक सब्सक्राइब भएको छ र उनका धेरै गीतहरू लाखौँ पटक हेरिएका छन्।
म्युजिक भिडियो बनाउन ८,००० भारतीय रुपैयाँ मात्र खर्च हुने उनी बताउँछन्। भिडियो रेकर्ड गर्न र सम्पादन गर्न उनका आफ्नै उपकरणहरू र छायाकार, सम्पादकसहितको समूह छ।
अल्पसङ्ख्यकहरू विरुद्ध सङ्गीतमार्फत् प्रहार गर्ने प्रवृत्तिले विगतमा घटेका घटनाहरू सम्झाउने मुखोपाध्याय बताउँछन्। उनले सन् १९८९ मा अयोध्यामा दक्षिणपन्थी विश्व हिन्दू परिषद् (भीएसपी) द्वारा आयोजित विवादास्पद शिलान्यास सम्झिए जसका कारण हिन्दू मुसलमान द्वन्द्व भड्किँदै जाँदा सन् १९९२ मा बाबरी मस्जिद ध्वस्त भएको थियो।
"उक्त घटनाअघि अडिओ क्यासेटको लोकप्रियता भर्खरै सुरु भएको थियो। ती क्यासेटहरूमा धार्मिक गीतहरू र रामको जन्मभूमिको विवादलाई लिएर केही उत्तेजक नाराहरू समाविष्ट थिए। (हिन्दूहरू अयोध्यालाई रामको जन्मभूमि ठान्छन्)। यी क्यासेटहरू मानिसहरू परिचालिन गर्न र्यालीमा पनि बजाइन्थ्यो।"
तीन दशकपछि अवस्था झन् बिग्रिएको छ।
"भारतमा बस्न मन छ भने बन्दे मातरम् भन्न र औकातमा रहन सिक" वा "हिन्दूहरूलाई कमजोर आँक्नु शत्रुको गल्ती हो" जस्ता गीतहरू कुन समुदायप्रति लक्षित छ भन्ने कुरा छर्लङ्गै छ।
यी गीतहरूले पनि दक्षिणपन्थी सङ्गठनहरूलाई आफ्ना कार्यकर्ताहरूलाई "परिचालन" गर्न मद्दत पुर्याएको छ।
"युवापुस्ताले यस्ता गीतहरू रुचाउँछन् किनकि यसले उनीहरूको जोस र मनोबल बढाउँछ," दक्षिणपन्थी हिन्दू दल समूहकी नेता पिङ्की चौधरीले भने। उनले त्यस्ता गीतहरूले युवाहरूमा सचेतना जगाउने तर्क गरे।
"मलाई यस्तो गीत सुन्नासाथ अचानक शक्तिशाली भएको महसुस हुन्छ। कुनै समय हामी बलवान भएको र अहिले फेरि त्यही समयमा पुगेको आभास हुन्छ," विजय यादवले भने।
भारत राष्ट्रिय ललितकला एकेडेमीमा अध्ययनरत २३ वर्षीय चित्रकार यादवले आफूलाई यस्ता खालको सङ्गीत मन पर्ने बताए।
यादवले भनेजस्तै "क्षणभरमै शक्तिशाली" हुने अभिव्यक्तिले सायद गत अप्रिलमा भएको हिंस्रक दङ्गातर्फ सङ्केत गरेको हुन सक्छ जहाँ कैयौँ राज्यका हिन्दू पर्वहरूमा हिन्दू- मुस्लिमबीच झडप भएको थियो।
ती झडपहरूमा अपमानजनक सङ्गीतहरू चर्को आवाजमा बजाइएको थियो। त्यतिबेला मुस्लिम बाहुल्य बस्तीमा हिन्दूहरूले र्याली गरेका थिए।
त्यस्ता केही घटनाक्रमका बेला सन् २०१६ को चतुर्वेदीका गीतलगायत अन्य अपमानजनक गीतहरू बजाइएको थियो जसले हिंसा भड्काउन भूमिका खेल्यो।
चतुर्वेदी आफू विरुद्धका आरोपहरूको खण्डन गर्छन्।
"म त मेरो सङ्गीतमार्फत् सचेतना फैलाउन मात्र चाहन्छु। केही पनि प्रेमले प्राप्त हुँदैन। जे हाम्रो हो त्यसकालागि लड्नु पर्छ, खोस्नु पर्छ।"