मान्छेको परेला जत्रो ब्याक्टेरिया जुन नाङ्गै आँखाले देख्न सकिन्छ

    • Author, जोनाथन एमोस
    • Role, विज्ञान संवाददाता

ब्याक्टेरिया हेर्न सूक्ष्मदर्शक यन्त्र चाहिन्छ हैन त? थायोमार्गरिटा म्याग्निफिका नामक ब्याक्टेरिया हेर्न भने त्यस्तो यन्त्र चाहिँदैन।

यो विशाल कोष नाङ्गो आँखाले हेर्दा पनि स्पष्ट रूपमा देखिन्छ। यसको आकृति मान्छेको परेलाजस्तै र आकार पनि त्यत्रै हुन्छ।

यसलाई अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो ब्याक्टिरिअम मानिएको छ। यो जीवाणु फ्रेन्च क्यारिबीअनमा म्यान्ग्रोभ वनस्पतिबाट झरेर कुहिन थालेका पातमा फेला परेको थियो।

यो जीवाणु हानिकारक छैन र यसले मानिसलाई कुनै रोग लगाउँदैन। बरु यसको आकार अद्भुत छ।

"यी ब्याक्टेरिया अधिकांश जीवाणुभन्दा झन्डै ५,००० गुना ठूला छन्। अनि तुलना गर्दा यो हामी मानवका लागि सगरमाथा जत्रो अर्को मानिस भेट्नु जस्तै हो," अमेरिकास्थित लरेन्स बर्कली न्याश्नल ल्याबअन्तर्गत रहेको जोइन्ट जीनोम इन्स्टिट्यूटमा कार्यरत वैज्ञानिक जाँ-मारी भोलान्ड भन्छन्।

एक सेन्टिमिटर लामो टी. म्याग्निफिका पृथ्वीमा पाइने सबैभन्दा ठूलो एककोषीय जीव भने हैन।

कोलेर्पा ट्याक्सिफोला नामक एल्गा सम्भवतः सबैभन्दा ठूलो एककोषीय जीव हो। त्यो १० सेन्टिमिटरजति लामो हुन्छ।

केही जटिल प्रकारका जीवहरू हेर्न पनि आकार बढेको देखिने विशेष उपकरणको सहायता चाहिने भएको परिप्रेक्ष्यमा यो ब्याक्टिरिअम निकै रोचक छ। साना कीरा र भुसुना सम्झनुहोस् त!

टी. म्याग्निफिका पहिलो पटक सन् २००९ मा लेसर एन्टिलीजको ग्वाडलूपमा फेला परेको थियो। तर सुरुमा यसलाई खासै वास्ता गरिएन। तर अहिले डा. भोलान्ड र उनका सहकर्मीले यसबारे विस्तारमा अध्ययन गर्न थाले।

उनीहरूले गरेको एउटा अनुसन्धान उक्त कोषको आन्तरिक संरचनाबारे थियो। सामान्यतया ब्याक्टेरियाको डीएनए प्रायः साइटोप्लाज्ममा तरल पदार्थमा तैरिएको हुन्छ र साइटोप्लाज्म कोषमा भरिएको हुन्छ।

तर टी. म्याग्निफिकाको आनुवंशिक पदार्थ छुट्टै कक्षहरूमा हुन्छ। अनुसन्धानकर्ताहरूले त्यस्तो कक्षलाई 'पेपिन' भनेका छन्। फ्रेन्च भाषामा त्यसको अर्थ फलको बीज भन्ने हुन्छ।

यो अहिलेसम्मको ठूलो रहस्योद्घाटन हो। किनभने तथाकथित उन्नत 'यूकार्योटिक' कोषमा मात्र झिल्लीले ढाकेको कक्षमा डीएनए बस्ने मान्यता थियो। मानव, अरू पशुपक्षी र वनस्पतिका कोषहरू त्यो वर्गमा पर्छन्।

टी. म्याग्निफिका म्यान्ग्रोभ वनस्पतिका जरामा भएको माटोमा कुहिएको पदार्थमा आश्रित हुन्छ। अनि यो जीवाणुमा निकै धेरै डीएनए हुन्छ। यसको जीनोममा भएका "बेस" अर्थात् आधारभूत तत्त्व गन्ने हो भने तिनको कुल सङ्ख्या १.२ करोडजति पुग्छ। प्रत्येक कोषमा जीनोमका ५० लाखवटा प्रतिकृति हुन सक्छन्।

"जीनोमको आकार १.२ करोड बेस मानेर त्यसलाई जीनोमको प्रतिकृतिको सङ्ख्याले (५० लाखले) गुना गर्ने हो भने डीएनएको ६,००० गिगा अर्थात् अर्बवटा बेस हुन्छन्। तुलना गर्ने हो भने मान्छेको डिप्लोइड जीनोममा झन्डै ६ गिगा (अर्थात् छ अर्बवटा) बेस हुन्छन्।"

"यसको अर्थ थायोमार्गरिटामा मानवकोषको तुलनामा निकै धेरै मात्रामा डीएनए हुन्छ," लरेन्स बर्कलीसँग आबद्ध अर्की वैज्ञानिक डा. टान्या वोएकेले भनिन्।

ती डीएनएमा उक्त जीव किन ठूलो आकारको भयो भन्ने रहस्य लुकेको उनले बताइन्। आकार वृद्धिका लागि जिम्मेवार केही जीनहरू दोहोरिएका छन् र विभाजनका लागि जिम्मेवार केही जीन अनुपस्थित भए जस्तो देखिन्छ।

टी. म्याग्निफिका कीमोसिन्थेटिक ब्याक्टिरिअम हो। आफ्ना लागि चाहिने ऊर्जाका लागि यसले यसले गन्धक अर्थात् सल्फरयुक्त यौगिक अक्सिकरण गरेर चिनी बनाउँछ।

म्यान्ग्रोभ हुने दलदलमा प्राङ्गारिक पदार्थ कुहिँदा सल्फरयुक्त यौगिकहरू बन्छन्। यो सबै हुनका लागि आधारका रूपमा ठोस पदार्थ चाहिन्छ।

"मैले ती सिपीको खोलमा, पात र हाँगामा, ग्लास र प्लास्टिकका बोलतमा वा डोरीमा टाँसिएको देखेको छ," यूनिभर्सिटी अफ एन्टिलीजमा कार्यरत सूक्ष्मजीववैज्ञानिक प्रा. ओलिभिअर ग्रोसले भने।

"सल्फाइडसँग सम्पर्कमा आउन तिनलाई कुनै कडा सतह चाहिन्छ अनि अक्सिजन र कार्बन डाईअक्साइड पाउनका लागि तिनले समुद्रको पानीको सम्पर्कमा आउनुपर्छ।"

"मैले सर्वाधिक मात्रामा थायोमार्गरिटा चाहिँ दुर्भाग्यवश प्लास्टिकको झोलामा फेला पारेको छु," उनले भने।

केही साताअघि यो जीवाणुबारे साइन्स म्यागजीनमा एउटा शोधपत्र प्रकाशित भएको छ। अनुसन्धानकर्ताहरू उक्त जीवबारे थप अध्ययन हुनुपर्ने बताउँछन्।

"यो परियोजनाले सूक्ष्मजीवको अनन्वेषित विविधताबारे हाम्रो आँखा उघारिदिएको छ। हामी अहिले सतह कोट्याइरहेका छौँ, कस्ताकस्ता कुरा अझै पत्ता लाग्न बाँकी छन् भन्ने कसलाई थाहा छ र?" अमेरिकास्थित मिन्लो पार्कको लबोरटरी फर रिसर्च इन कम्प्लेक्स सिस्टम्समा कार्यरत डा. शैलेश दातेले भने।

यो पनि हेर्नुहोस्