इजरेल-गाजा: प्यालेस्टाइनी लडाकु समूहबीच युद्धविराम, शान्तिको आशा बढ्यो

गाजा

तस्बिर स्रोत, ANADOLU AGENCY VIA GETTY

तीन दिनसम्म चलेको हिंसापछि इजरेल र प्यालेस्टाइन विद्रोही समूहबीच युद्धविराम भएको छ। उक्त हिंसामा कम्तीमा ४४ जनाको मृत्यु भएको थियो।

प्यालेस्टाइन इस्लामिक जिहादका लडाकुले युद्धविराम मध्यरातबाट लागु भएको बताएका छन्। इजरेली प्रधानमन्त्री याइर लापिडले पनि युद्धविराम गरिएको पुष्टि गरे।

युद्धरत पक्षबीच इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा युद्धविराम भएको हो। सन् २०२१ मा ११ दिनसम्म चलेको द्वन्द्वपछि अहिले भएको हिंसा सबैभन्दा ठूलो हो।

युद्धविराम हुनुअघि इजरेली सेनाले गाजास्थित इस्लामिक जिहादलाई लक्ष्य गरेर आक्रमण गरेको थियो। लगत्तै गाजाबाट रकेटहरू प्रहार भएका तर तिनलाई निष्क्रिय बनाइएको इजरेली सञ्चारमाध्यमहरूले जनाएका छन्।

त्यसपछि थप आक्रमणहरू नभएको र युद्धविरामको अवस्था रहेको बताइएको छ।

इजरेली सेनाले गाजा स्ट्रिपमा रहेका विद्रोही समूहले दिएको चेतावनीको प्रतिक्रियामा आक्रमण गरेको जनाएको छ।

इजरेलनियन्त्रित वेस्ट ब्याङ्क क्षेत्रबाट प्यालेस्टाइन इस्लामिक जिहादका वरिष्ठ सदस्य पक्राउ गरिएपछि तनाव चुलिएको थियो।

बालबालिका पनि हताहत

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार हिंसामा आइतवारसम्म मारिने ४३ जनामध्ये १५ जना बालबालिका छन्।

गाजाको स्वास्थ्य मन्त्रालयले "इजरेली आक्रमण"का कारण प्यालेस्टाइनीहरू मारिएको र ३०० जनाभन्दा बढी घाइते भएको उल्लेख गरेको छ।

गत वर्षको मे महिनापछि आइतवार गाजाबाट प्रहार गरिएका रकेटहरू जेरुसलेमसम्म पुगेका थिए।

प्यालेस्टाइनमा खुशीयाली

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, युद्धविराम घोषणा भएपछि प्यालेस्टाइनमा मानिसहरूले खुसी मनाएका छन्।

रफा सहरमा इजरेलले गरेको आक्रमणमा प्यालेस्टाइन इस्लामिक जिहादका दोस्रो प्रमुख नेता मारिएका थिए।

मृत्यु भएका मानिसको अन्तिम संस्कारमा आइतवार ठूलो भिड जम्मा भएको थियो। गाजाको समर्थनमा प्रदर्शनहरू समेत भएका छन्।

गाजामा मानवीय सङ्कट आउन सक्ने चिन्ताबीच दुई पक्षबीच युद्धविरामको सहमति भएको हो। स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूमा जेनरेटर सञ्चालन गर्न चाहिने इन्धन थप दुई दिनसम्म मात्रै पुग्ने बताएका थिए।

इस्लामिक जिहादका प्रवक्ताले आफ्ना मानिसमाथि इजरेली आक्रमण रोक्न इजिप्टले लिएको पहलको प्रशंसा गरेका छन्।

इजरेलले युद्धविराम उल्लङ्घन भए "कडा प्रतिवाद गर्ने अधिकार" आफूसँग रहेको चेतावनी दिएको छ।

इस्लामिक जिहादले प्रहार गरेका रकेट दुर्घटनावश खस्दा गाजामा बालबालिका हताहत हुनेगरी भएका केही घटना भएको इजरेलको दाबी छ। तर बीबीसीले त्यसको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।

इजरेलले सोमवार राति इस्लामिक जिहादका प्रमुख भनिएका बसिम सादीलाई पक्राउ गरेपछि तनाव बढेको थियो। उनी पक्राउ परेको जेनिन क्षेत्रबाट इजरेलमाथि पछिल्लो समय दुई पटक आक्रमण भएको थियो।

इजरेली अरब र प्यालेस्टाइनहरूबाट गरिएका आक्रमणमा १७ जना इजरेली र दुई जना युक्रेनी नागरिकको मृत्यु भएको थियो।

के हो इस्लामिक जिहाद

इस्लामिक जिहाद गाजामा सक्रिय सबैभन्दा बलियो विद्रोही समूह हो। इरानले समर्थन गरेको यो समूहको मुख्यालय भने सिरियाको राजधानी दमस्कसमा छ।

यो समूह इजरेलमाथि भएका रकेट प्रहार र गोलीकाण्डमा संलग्न भएको ठानिन्छ।

सन् २०१९ मा इजरेलले आफ्नो देशमाथि आक्रमणको योजना बनाइरहेको भन्दै यो समूहका कमान्डर मारिदिएको थियो। लगत्तै फैलिएको हिंसामा ३४ प्यालेस्टाइनीको मृत्यु भएको थियो।

इजरेलले अहिलेको द्वन्द्वमा मारिनेमा २५ जना प्यालेस्टाइनी विद्रोही लडाकु रहेको र तीमध्ये कतिपय रकेट प्रहार गर्ने तयारीमा रहेको दाबी गरेको छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, इजरेल-गाजा हिंसाः टीभीको प्रत्यक्ष प्रसारणमा एउटा भवन यसरी ध्वस्त भएको देखियो