इजरेल-गाजा हिंसाः तनाव चर्किँदा फैलिएका भ्रामक दाबीको तथ्य जाँच

तस्बिर स्रोत, Getty Images
- Author, बीबीसी मनिटरिङ
- Role, इसेन्शल मिडिया इन्साइट
इजरेल र गाजास्थित प्यालेस्टाइनी विद्रोहीहरूबीच अहिले युद्धविराम छ।
दुई पक्षबीच तनाव चुलिँदै गएका बेला भ्रामक तथा मिथ्या दाबीयुक्त सामग्रीहरू अनलाइन माध्यममा उल्लेख्य मात्रामा प्रेषित भएका थिए।
सामाजिक सञ्जालमा गम्भीर बहस सुरु गराइदिने दुवै पक्षबाट आएका गलत सूचनाका उदाहरणबारे बीबीसी मनिटरिङले अनुसन्धान गरेका थियो।
रकेट प्रहारको भिडिओ सिरियाको हो, गाजाको होइन

तस्बिर स्रोत, YOUTUBE
इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका प्रवक्ताले ट्विटरमा एउटा भिडिओ शेअर गरेका थिए जसमा हमासले "भिडभाड भएको स्थानबाट" इजरेलमा रकेट प्रहार गरेको देखिएको दाबी गरिएको थियो।
"दुई सय ५० वटाभन्दा बढी रकेटमध्ये एकतिहाइ गाजामा झरेका छन् जसबाट प्यालेस्टिनीहरूलाई मृत्यु भएको छ," ओफिर जेन्डल्मनले ट्वीटमा दाबी गरिएको थियो।
तर त्यो भिडिओ पुरानो हो र यसमा देखिएको दृश्य गाजाको नभएर सिरियाको हो।
सन् २०१८ मा देरा सहरमा सिरियाली सरकारले विद्रोही समूहविरुद्ध गरेको कारबाहीका बेला यो भिडिओ खिचिएको थियो।
ट्विटरले उक्त ट्वीटलाई "मनिप्यूलेटिड" अर्थात् "परिवर्तित" सामग्रीको सङ्ज्ञा दिएको छ र उसले तथ्य जाँचका लिङ्कहरू पनि समावेश गरेको छ। यसबाट उक्त भिडिओ सिरियाली युद्धको रहेको पुष्टि हुन्छ।
आलोचना भएपछि जेन्डल्मनले ट्वीट मेटेका थिए।
भ्रामक ट्वीट इजरेली सेनाको हैन
केही ट्विटर प्रयोगकर्ताहरूले इजरेल डिफेन्स फोर्सेजको (आईडीएफ) ट्विटर खाताबाट गरिएको पोस्ट भन्दै साझा गरेको स्क्रीनशटमा लेखिएको छ: "हामी मार्न मन पराउँछौँ" र "भर्खरै केही बालबालिकामाथि बम प्रहार गर्यौँ"।
ती स्क्रीनशटहरू नक्कली हुन्। निःशुल्क उपलब्ध हुने अनलाइन टूलको सहायता लिएर त्यस्तो सामग्री बनाउन सकिन्छ।
आईडीएफले आफ्नो आधिकारिक ट्विटर खाता वा कहीँ कतै त्यस्तो भनेको छैन।
त्यस्तो भ्रामक सामग्री प्रेषित गर्ने ट्विटर खाता प्यालेस्टाइनको पक्षमा र इजरेलको विपक्षमा भएको देखिन्छ।
भिडिओमा देखिएको 'अन्तिम संस्कार' गाजाको हैन

तस्बिर स्रोत, TWITTER
इजरेलका केही सामाजिक सञ्जालमा धेरैले पच्छ्याएका र महत्त्वका साथ हेरिने व्यक्तिहरूले एउटा भिडिओ शेअर गरेका थिए जसमा इजरेली हवाई आक्रमणका क्रममा गाजामा मारिएको भनिएका एक व्यक्तिको अन्तिम संस्कारको दृश्य प्यालेस्टिनीहरूले विश्वव्यापी रूपमा सहानुभूति बटुल्न नाटक गरेको दाबी गरिएको थियो।
इजरेलको विदेश मन्त्रालयका एक सल्लाहकारले समेत शेअर गरेको उक्त भिडियोमा युवाहरूको एउटा समूहले शवपेटिका काँधमा बोकेको देखिन्छ।
साइरनको आवाज आउनासाथ उनीहरूले शवपेटिका जमिनमा बिसाएर भागेको देखिन्छ। पछि शवपेटिकाबाट उठेर एक व्यक्ति पनि भाग्छन्।
हामीले त्यही भिडिओ मार्च २०२० मा प्रकाशित भएको फेला पार्यौँ। त्यसमा त्यति बेलाका विवरणहरू पनि समाविष्ट छन्। तिनमा जोर्डनका केही युवाहरूले कोरोनाभाइरससम्बन्धी प्रतिबन्धात्मक व्यवस्थाहरू छल्नका लागि अन्तिम संस्कारमा सहभागी भए जस्तो गरेको सङ्केत गरिएको छ।
उक्त भिडिओ #Palywood [प्यालेस्टिनी हलीवुड] भनेर सयौँ पटक इजरेल समर्थक प्रयोगकर्ताहरूले सेअर गरेका छन्।
भिडिओमा देखिएको अल-अक्सा मस्जिद हैन

तस्बिर स्रोत, TWITTER
केही प्यालेस्टिनी प्रयोगकर्ताहरूले एउटा भिडिओ शेअर गरेका थिए जसमा पूर्वी जेरुसेलमस्थित अल-अक्सा मस्जिदमा आगो लागेको देखिएको उनीहरूले दाबी गरिएको थियो।
उनीहरूले इजरेलले "उक्त मस्जिदमा आगो लाग्न दिएको" आरोप लगाएका थिए।
उक्त भिडिओ साँचो हो तर विभिन्न स्थानबाट खिचिएका थप फुटेजले भने मस्जिदमा नभई नजिकैको रूखमा आगो लागेको स्पष्ट पार्छ। आगलागीको कारणबारे विवाद छ।
इजरेल प्रहरीले एउटा विज्ञप्तिमार्फत् प्यालेस्टिनीहरूले फ्याँकेको आगोका कारण उक्त घटना भएको दाबी गरेको थियो।

तस्बिर स्रोत, TWITTER/ARIEH KOVLER
तर प्यालेस्टिनीहरूले भने आगलागी इजरेली अधिकारीहरुले प्रहार गरेको स्टन ग्रिनेडबाट भएको दाबी गरेका छन्।
समाचारसंस्था रोएटर्सका अनुसार उक्त रूख मस्जिदभन्दा १० मिटर टाढा थियो।
आगलागी केही समयमा नियन्त्रणमा लिइएको थियो र त्यसले मस्जिदमा क्षति पुर्याएको थिएन।
पुरानो दृश्यमा गाजाको सडकमा देखिएको क्षेप्यास्त्र हैन

तस्बिर स्रोत, FACEBOOK/MIVZAK LIVE
व्यापक रूपमा सेअर गरिएको एउटा ट्विटमा प्यालेस्टिनी लडाकु समूह हमासले गाजाको सडकबाट ट्रकमा क्षेप्यास्त्र कतै लगिरहेको फुटेजले देखाएको दाबी गरिएको थियो।
उक्त भिडिओमा एक बच्चाले बोलेको पनि सुन्न सकिन्छ।
अमेरिकामा आधारित इजरेल समर्थक उक्त पोस्टमा दाबी गरिएको छ: "एक पटक फेरि हामीले हमासले यहुदीहरूलाई मार्नका लागि सर्वसाधारणलाई ढालका रूपमा प्रयोग गरेको देख्न सक्छौँ ...यो जानेर कि निर्दोष मानिसहरूलाई चोट पुग्न सक्ने हुँदा इजरेलले जबाफी कारबाही गर्दैन।"
तर हामीले त्यो भिडिओ सन् २०१८को नोभेम्बर २५ तारिखमा फेसबुकमा प्रेषित भएको पाएका छौँ।
उक्त भिडिओको क्याप्शनमा त्यो दृश्य इजरेलको एउटा सहरको रहेको उल्लेख छ।
भिडिओ पोस्ट गरेको ट्विटर खाताले पछि त्यसलाई हटाएको थियो र "गलत तथ्य" का लागि माफी पनि मागेको थियो।












