आसाम: मुस्लिम समुदायका मानिसले 'बाढी युद्ध' सुरु गरेको मिथ्या आरोप

सिल्चर सहर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, उत्तर-पूर्वी राज्य आसामको सिल्चरमा बाढीले डुबान निम्त्याएको थियो
    • Author, मेधावी अरोरा र मार्को सिल्भा
    • Role, बीबीसी मिथ्या सूचना युनिट

भारतको उत्तरी प्रदेश आसाममा विनाशकारी बाढी आउनुमा स्थानीय मुस्लिम समुदायका मानिसहरू जिम्मेवार रहेको आरोप अनलाइनमा फैलिन थाल्यो। के त्यस्तो आरोपमा कुनै सत्यता थियो? आरोपितमध्येका एक व्यक्तिले आफ्नो कथा बीबीसीलाई भनेका छन्।

गत जुलाई ३ मा प्रहरीले एकाबिहानै ढोका ढकढक्याएपछि नाजिर हुसेन लस्कर अलमल्ल परे।

उनी वर्षौँदेखि आसाममा निर्माण मजदुरका रूपमा काम गर्दै आएका थिए। उनले राज्यले बाढी नियन्त्रणका लागि बनाएका धेरै संरचनामा पनि काम गरेका छन्।

तर त्यस दिन प्रहरीले उनलाई "सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको" आरोपमा पक्राउ गर्‍यो। उनीमाथि स्थानीय समुदायको सुरक्षाका लागि बनाइएको बाँध भत्काएको आरोप लगाइएको थियो।

"मैले सरकारी बाँध निर्माणमा काम गरेर १६ वर्ष बिताएको छु," लस्कर भन्छन्। "भत्काउने काम किन गरूँला र?"

लस्कर २० दिन हिरासतमा बसेपछि धरौटीमा छुटे। उनीमाथि लागेको आरोपबारे कुनै पनि प्रमाण भेटिएन। तर सामाजिक सञ्जालमा उनीमाथि आक्रोश व्यक्त हुने क्रम चलिरह्यो।

'आक्रमण हुन सक्ने डर'

गत मे र जुन महिनामा आएका दुईवटा बाढीमा आसाममा १९२ जनाको ज्यान गयो। प्रत्येक वर्ष बाढीको समस्यामा पर्ने गरेको यो राज्यमा यो पटक मनसुन अगाडि आयो र साधारणभन्दा धेरै पानी पर्‍यो।

तर केही सामाजिक सञ्जालका प्रयोगकर्ताहरूका लागि यहाँ भयानक खेल चलिरहेको थियो।

उनीहरूले कुनै प्रमाणबिना बाढी मानवसिर्जित भएको दाबी गरे। मुस्लिमहरूको एउटा समूहमाथि उनीहरूले बाढी रोक्न बनाइएका संरचना भत्काएर हिन्दूबहुल छिमेकी सहर सिल्चरमा नियोजित डुबान गराएको आरोप लगाए।

यस्तै आरोपपछि लस्कर र अन्य तीन मुस्लिम पुरुष पक्राउ परेका थिए। उनीहरूमाथि "बाढी जिहाद (गैरमुस्लिमविरुद्ध युद्ध)" सुरु गरेको आरोपमा सामाजिक सञ्जालबाट आक्रमण सुरु भयो।

'बाढी युद्ध'को झुटा आरोप लगाइएको ट्विट

तस्बिर स्रोत, Twitter

यस्ता पोस्टहरू सामाजिक सञ्जालमा हजारौँ पटक शेअर भए। शेअर गर्नेहरूमा प्रसिद्ध व्यक्तिहरूदेखि भेरिफाइड प्रयोगकर्ताहरू पनि थिए। कतिपय स्थानीय सञ्चारमाध्यमले त यस्तै दाबीमा आधारित भएर समाचार पनि बनाए।

थुनामै रहेको समयमा एक टेलिभिजन च्यानलमा "बाढी जिहाद" भन्दै उनको नाम उल्लेख गरेको थाहा पाएपछि मात्रै लस्करले आफूमाथि लागेको आरोप कति गम्भीर रहेछ भन्ने थाहा पाए।

"मलाई निकै डर लाग्यो। त्यो रात सुत्न पनि सकिनँ। अरू कैदीहरूले पनि यसबारे कुरा गरिरहेका थिए। मलाई आक्रमणमा पर्न सक्ने डर लाग्यो।"

'बाढी जिहाद' को दाबी पछाडिको वास्तविकता

आसाममा बाढी नियन्त्रणका लागि सन् १९५० यता बाँधहरूको निर्माणले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। यो राज्यमा ४,००० किलोमिटर बाँध निर्माण भइसकेको छ। तर धेरै ठाउँमा बाँध भत्किने जोखिममा रहेको बताइन्छ।

उत्तरपूर्वी भारतबाट बाङ्ग्लादेशतिर बग्ने बराक नदीको एउटा बाँध मे २३ मा भत्कियो।

बाँध मुस्लिम बाहुल्य रहेको बेठुकान्डी क्षेत्रमा भत्किएको थियो र हिन्दहरूको धेरै बसोबास रहेको सिल्चरमा ठूलो बाढी आउनुमा भत्किएको बाँध पनि एउटा कारण थियो।

"बाँध कटान पनि बाढीको एउटा कारण थियो," सिल्चरका प्रहरी उपरीक्षक रमनदीप कौरले भनिन्। "तर सहरमा बाढी त्यहाँबाट मात्रै पसेको चाहिँ होइन।"

यही घटनाकै कारण प्रहरीले लस्कर र अन्य तीनजना मुस्लिम पुरुषलाई पक्राउ गरेको बीबीसीले थाहा पाएको छ। केही समयपछि यही आरोपमा पाँचौँ व्यक्ति पनि पक्राउ परे तर उनीहरूको संलग्नताबारे कुनै प्रमाण फेला परेन।

"बाँधको मर्मतसम्भार नहुँदा यस्ता धेरै कटानहरू हुने गरेका छन्," मुम्बईस्थित जमशेदजी टाटा स्कूल अफ डिजास्टर स्टडीजका उपप्राध्यापक निर्मल्य चौधरी भन्छन्।

"त्यसमध्ये केही मानिसहरूकै कारण पनि हुन्छन्। कतिपय यस्ता उदाहरणहरू पनि छन् जहाँ मानिसहरूले आफ्नो क्षेत्रमा पानी नपसोस् भनेर जानाजान बाँध खोलेर पानी जान दिएका पनि छन्।"

आसामको नक्सा

यो कुरामा सिल्चर प्रहरी पनि सहमत छ। प्रहरी अधिकारी कौर भन्छिन्ः 'बाढी जिहाद' भन्ने केही छैन।

"अघिल्ला वर्षहरूमा प्रशासनले नै कतिपय स्थानमा बाँध खोल्ने गरेको थियो। यो वर्ष त्यस्तो गरिएको थिएन र कतिपय मानिसहरूले आफैँ गरे।"

प्राध्यापक चौधरी यो व्यवस्थापकीय समस्या भएको बताउँछन्।

'मुस्लिम भएकै कारण आरोप'

गुगल ट्रेन्ड्सका अनुसार "फ्लड जिहाद" को खोजी पाँच वर्षयताकै सबैभन्दा धेरै भएको छ। यसका पछाडि सामाजिक सञ्जालमा फैलिएका दाबी थिए।

तर भारतमा मुस्लिमविरोधी आशङ्कामूलक धारणा मूलधारमा फैलिएको यो पहिलो घटना भने होइन।

कोरोनाभाइरस महामारीको समयमा पनि भारतीय मुसलमानहरूलाई जानीजानी कोभिड-१९ फैलाएको मिथ्या आरोप लगाइएको थियो। त्यसलाई कतिपय भारतीय सञ्चारमाध्यमले "कोरोना जिहाद" नाम दिएका थिए।

डुङ्गा तरेर बाढीबाट जोगिँदै

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, बाढी प्रभावित गाउँका मानिसहरु डुङ्गाको सहायताले सुरक्षित स्थानमा जाने गरेका छन्

कट्टरपन्थी हिन्दू नेता नरेन्द्र मोदीको भारतीय जनता पार्टी सत्तामा आएपछि सन् २०१४ यता भारतमा मुस्लिमलक्षित हिंसा, गालीगलौज र भ्रामक सूचना फैलाउने क्रम बढेको आलोचकहरू बताउँछन्।

तर उक्त दलले यस्तो आरोपको खण्डन गर्दै आएको छ।

आसाममा हिरासतबाट रिहा भए पनि लस्कर त्रासमा बाँचिरहेका छन्।

"म र मेरो परिवार अझै घरबाट बाहिर निस्किन डराउँछौँ। मेरा बच्चाहरू विद्यालय जान सकिरहेका छैनन्। घरबाट बाहिर जानैपर्‍यो भने पनि अनुहार नचिनियोस् भनेर म हेल्मेट लगाउँछु। मलाई आक्रोशित भिडले मार्छ भन्ने डर लाग्छ," उनले भने।

"म मुस्लिम भएकै कारण बाढी जिहादको आरोप ममाथि लगाइयो। यो असत्य हो। जसले यो फैलाइरहेका छन् उनीहरूले बेठिक गरिरहेका छन्।"

(दिलीप कुमार शर्माको सहयोगमा)