भारत: छात्रालाई हिजाब प्रतिबन्ध लगाइएको घटनाबारे बोलिन् मलाला युसुफजाई

तस्बिर स्रोत, Umesh Marpally
नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले विद्यालयको कक्षामा हिजाब लगाउन पाउने अधिकारका निम्ति लडिरहेका छ भारतीय विद्यार्थीहरूको समर्थनमा बोलेकी छन्।
कलेजले हिजाब लगाउन प्रतिबन्ध लगाएपछि ती किशोरीहरू कर्नाटक राज्यमा हप्तौँदेखि विरोध प्रदर्शन गरिरहेका छन्।
मलालाले घटना "डरलाग्दो" भएको बताइन्।
यस विषयले भारतमा धार्मिक तनाव बढ्दै गएको छ। जसका कारण झडपहरू समेत भइरहेको बताइएको छ। विद्यालयहरू तीन दिनका लागि बन्द भएका छन्।
यो विवाद भारतीय राष्ट्रिय सञ्चारमाध्यमहरूका शीर्षक बनेको छ र अहिले राज्यको उच्च अदालतमा पुगेको छ।
एक जना विद्यार्थीले अदालतमा दायर गरेको निवेदनमा हिजाब लगाउनु संविधानले सुनिश्चित गरेको धर्मको मौलिक अधिकार भएको तर्क गरिएको छ।
महिलाको शिक्षाको अधिकारको लागि बोलेका कारण पाकिस्तानमा तालिवानको आक्रमणबाट बाँचेकी मलालाले भारतका नेताहरूलाई "मुस्लिम महिलाहरूको सीमान्तकरण रोक्न"का लागि पहल गर्न आह्वान गरिन्।

तस्बिर स्रोत, Reuters
"केटीहरूलाई हिजाब लगाएर विद्यालय जान नदिनु डरलाग्दो छ," २४ वर्षीय मलालाले ट्वीट गरेकी छन्।
उनले त्यस प्रतिबन्धविरुद्ध महिलाहरूको आपत्ति कायम रहने बताएकी छिन्।
सरकारी उच्च माध्यमिक तह सरहको एक कलेज व्यवस्थापनले कक्षामा हिजाब लगाउने प्रतिबन्ध लगाएपछि किशोरीहरूले विरोध सुरु गरेका हुन्।
गत साता हिजाब लगाएका ती युवतीहरूको समूहका लागि कलेजको गेट बन्द गरिएको भिडिओ सार्वजनिक भएपछि मानिस आक्रोशित भएका थिए।
घटनाको प्रभाव कर्नाटक राज्यका अन्य कलेजहरूमा पनि फैलिएको छ।
तर हिन्दु कट्टरपन्थीहरू भने हिजाब प्रतिबन्धको समर्थनमा बोलेको पनि देखिएको छ।

तस्बिर स्रोत, Umesh Marpally
स्थानीय सञ्चारमाध्यमका अनुसार मङ्गलवार प्रतिबन्धको विरोधी र समर्थक पक्षबीच भएको झडपमा केही व्यक्ति घाइते भएका छन्।
राज्यका मुख्यमन्त्रीले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्देशन दिँदै "सबै विद्यार्थी, शिक्षक र विद्यालय वा कलेजका व्यवस्थापनका साथै कर्नाटकका जनतालाई शान्ति र सद्भाव कायम राख्न" अपिल गरेका छन्।
कलेजले विद्यार्थीहरूलाई कलेज परिसरमा हिजाब लगाए पनि कक्षाकोठाभित्र मात्र त्यसलाई हटाउन आग्रह गरेको बताएको छ।
किशोरीहरू भने आफ्नो कपाल छोप्न पनि अनुमति दिनुपर्ने बताउँछन्।
"केही पुरुष शिक्षकहरू छन्। हामीले उनीहरूको अगाडि कपाल छोप्नु पर्छ। त्यसैले हामी हिजाब लगाउँछौँ," एक विद्यार्थी अल्मास एएचले बीबीसी हिन्दीसँग भनेकी छन्।








