फोहोर व्यवस्थापन: एकीकृत विसर्जनले कसरी ल्यान्डफिल साइटको बोझ कम गर्छ

काठमाण्डू महानगरपालिकाले महानगरवासीलाई कुहिने र नकुहिने फोहोर छुट्ट्याउन आग्रह गरेको छ।

नगरपालिकाले जारी गरेको सूचनामा जैविक अर्थात् कुहिने र अजैविक अर्थात् नकुहिने फोहोर छुट्ट्याउने जिम्मेवारी फोहोर उत्पादन गर्नेहरूको नै भएको र महानगरपालिकाले ती सबैलाई फरक दिनमा बेग्लाबेग्लै सङ्कलन गर्ने जनाएको छ।

यद्यपि, कुन दिन कस्ता फोहोर सङ्कलन गर्ने र सङ्कलित फोहोर कहाँ लगेर व्यवस्थापन गर्नेबारे हालसम्म योजना नबनेको जानकारी महानगरपालिकाको वातावरण विभागकी प्रमुख सरिता राईले दिइन् ।

"दुई दिन कुहिने र एक दिन नकुहिने फोहोर सङ्कलन गर्ने। कुहिने फोहोर कम्पोस्ट गर्ने छलफल भइरहेको छ। कार्यविधि तयार हुन बाँकी छ," उनले बीबीसीसँग भनिन्।

सूचना जारी गरे पनि फोहोर सङ्कलन र व्यवस्थापनबारे प्रस्ट नहुनु मूल समस्या भएको जानकारहरू बताउँछन्। निर्देशन बमोजिम छुट्ट्याइएको फोहोर अन्ततः एकै ठाउँमा लगेर थुपार्नुपर्ने स्थिति आयो भने समस्या विकराल हुने बताउँछन् फोहोर व्यवस्थापन विज्ञ डा. ढुण्डिराज पाठक।

"मानिसहरूले केही दिन त छुट्ट्याएर राख्लान्। तर केही दिन फोहोर नउठ्दा दुर्गन्ध फैलन थाल्छ। त्यसपछि लगेर सबै फोहोरलाई एउटै डङ्गुरमा मिसाउँछन् र सम्बन्धित निकायले त्यही मिसिएको फोहोर सङ्कलन गर्नुपर्छ," उनले भने।

फोहोरबारे अस्पष्ट बुझाइ

फोहोर व्यवस्थापन सम्बन्धी निकायदेखि आम मानिससम्म फोहोर व्यवस्थापनबारे बुझाइ स्पष्ट नभएको डा. पाठकको धारणा छ। आफ्नो घर वा वरपर उत्पादित फोहोर आँखा अगाडि नरहनुलाई व्यवस्थापन भन्न नमिल्ने उनको तर्क छ।

"हामीकहाँ फोहोर व्यवस्थापन भएकै छैन। अहिलेसम्म एउटा ठाउँको समस्या अर्को ठाउँमा लगेर थुपार्ने काम मात्र भएको छ। त्यसरी जम्मा गर्दैमा समस्या समाधान हुँदैन," उनले आफ्नो मत राखे।

देशभरका ठूला सहरहरूमा फोहोर व्यवस्थापन चुनौतीको रूपमा खडा भएको जानकारहरू बताउँछन्। ती सबै ठाउँका मानिसहरूमा "फोहोर फाल्नुपर्छ तर मेरो नजिक होइन" भन्ने विचार विकास भएको पाठकको बुझाइ छ।

काठमाण्डू, पोखराजस्ता जनघनत्व बढी भएको शहरमा फोहोरले निम्त्याउन सक्ने सङ्कट व्यवस्थापन गर्नका निम्ति त्यहाँको फोहोर कम मानिस भएका ठाउँहरूमा लगिने परिपाटी विकास गरेको उनी बताउँछन्।

"मानिसहरूले सडक, पानी लगायतको परियोजना आफ्नो घर अगाडि नै होस् भन्ने चाहे जस्तै फोहोर पनि मेरो घर अगाडिबाट लग्नु भन्नेगरी योजना बनाउन आवश्यक छ। त्यसको लागि एकीकृत रूपमा फोहोर व्यवस्थापन गरिनु पर्छ," उनले सुझाए।

के हो एकीकृत फोहोर व्यवस्थापन?

कुनै पनि घरमा फोहोर उत्पादनदेखि अन्तिम विसर्जनसम्मको प्रक्रियालाई एकीकृत फोहोर व्यवस्थापनको रूपमा व्याख्या गरिन्छ। यो प्रक्रिया देश र त्यहाँ उपलब्ध स्रोत अनुरूप फरक फरक हुन्छन्।

नेपालको हकमा भने सामान्यतया फोहोरलाई कुहिने र नकुहिने फोहोरको रूपमा व्यवस्थापन गरिने बताइन्छ।

विज्ञहरू कुहिने (प्राय चिसो र तुरुन्तै कुहिने फोहोर), नकुहिने (नभिजेका, प्लास्टिक, कागज) र प्रयोग गरेर तत्काल फालिने (स्यानिटरी प्याड, डाइपर) जस्ता फोहोरहरूलाई तीन किसिमले छुट्ट्याउन सुझाव दिन्छन्।

"स्वास्थ्य सुरक्षा र वातावरणीय पक्षबाट हेर्दा कम्तीमा तीन तरिकाले छुट्ट्याउनु उचित हुन्छ," डा. पाठकले भने।

छुट्ट्याएपछि के गर्ने त?

त्यसरी छुट्ट्याइएका फोहोरको भिन्नाभिन्नै ढङ्गले विसर्जन गरिनुपर्ने विज्ञहरू बताउँछन्।

महानगरपालिकाले फोहोर छुट्ट्याउन आग्रह गर्नुअघि त्यसलाई कसरी सङ्कलन र विसर्जन गर्ने भन्नेबारे नै सोच्नु पर्ने विज्ञ पाठक बताउँछन्। त्यसरी अलग्गै फोहोर उठाउँदा आर्थिक भार पनि बढ्ने हुँदा विसर्जन स्थलसम्म सकेसम्म कम फोहोर पुर्‍याउने गरी योजना बनाउनु पर्ने उनको कथन छ।

कुहिने फोहोरहरू कम्पोस्ट मल वा जैविक इन्धन उत्पादनमा प्रयोग हुने प्रबन्ध मिलाउनुपर्ने उनी बताउँछन्। "बायो ग्याँस नेपालमा सफल योजना हो। मानिसले गोबरको प्रयोग खाना पकाउनदेखि बत्ती बाल्नसम्म गरे। फोहोरको पनि त्यस्तै प्रयोग हुनसक्छ।"

त्यस्तै नकुहिने फोहोरबाट प्लास्टिक तथा कागजको पुनर्प्रयोगमा जोड दिनु पर्ने उनको राय छ।

यसअघि फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्ने संस्था, डोकोका सहसंस्थापक राघवेन्द्र महतोले बीबीसीसँग कागजपत्रलाई धुलो बनाएर पुनर्प्रयोग गर्ने उद्योगलाई दिन सकिने बताएका थिए।

उनका अनुसार विशेष उपकरणको प्रयोग गरी कागजहरूलाई धुलो बनाइन्छ। त्यसरी टुक्राएको कागजहरू उद्योगहरूले पुनः कागज नै बनाउन वा मूल्य थपगरी अन्य सामग्री बनाउन प्रयोग गरिन्छ।

जुन फोहोर प्रशोधन वा पुनर्प्रयोग गर्न सकिँदैन तिनलाई मात्र ल्यान्डफिल साइटहरूमा लगिनुपर्ने विज्ञहरू सुझाउँछन्।

ल्यान्डफिल साइटको समस्या

हाल काठमाण्डू, पोखराजस्ता सहरी क्षेत्रको फोहोर थुपारिने ठाउँ वरपरका स्थानीयवासीले ल्यान्डफिल साइट हटाउनु पर्ने माग गरिरहेका छन्।

लामो विवादपछि सिसडोल बन्चरेडाँडा-कुँडुले ल्यान्डफिल साइट छेउछाउका जनप्रतिनिधि र काठमाण्डू महानगरपालिकाबीच १८ बुँदे सहमति भएपछि फोहोर फाल्न अनुमति दिइयो।

पोखरा महानगरपालिकाले फोहोर विसर्जन गर्दै आएको महानगरकै वडा नं १४ स्थित बच्छीबडुँवाका स्थानीयबासीहरूले पनि त्यहाँबाट उक्त डम्पिङ साइट हटाउन आग्रह गरिरहेको बताउँछन् महानगरका सूचना अधिकारी भरतराज पौडेल।

हाल महानगरले वडा नं ३३ मा ल्यान्डफिल साइट बनाउने प्रस्ताव अघि सारेको छ।

"तर फोहोरको नाम सुन्नासाथ स्थानीय बासिन्दाहरूले विरोध जनाउँछन्। यस पटक डम्पिङ साइट होइन व्यवस्थित ल्यान्डफिल साइट निर्माण गर्ने योजना छ। ठाउँ टुङ्गो लागेपछि सम्भाव्यता अध्ययन गर्छौँ।"

यद्यपि, जति ठूलो ल्यान्डफिल साइट बनाए पनि फोहोर पृथकीकरण नगरी लगेर फाले ती स्थान केही वर्षमै भरिने जानकारहरू बताउँछन्।

फोहोर थुप्रिएर आउने गन्ध र बग्ने लीचटले मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्ने विज्ञहरूको दाबी छ। त्यस्तै फोहोर लग्ने सवारी साधनहरूका कारण ट्राफिक अस्तव्यस्तता, बाटो भासिने, दुर्घटना हुनेजस्ता समस्याहरू देखिने गुनासो स्थानीयबासीहरूको छ।

बञ्चरेडाँडाको क्षमता कति?

बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिलका आयोजना प्रमुख रवीन्द्र बोहराका अनुसार काठमाण्डूमा दैनिक १२ सय पाउन्ड फोहोर उत्पादन हुन्छ। तीमध्ये कुहिने फोहोरको कम्पोस्ट बनाउने र कागज वा प्लास्टिकजन्य फोहोरलाई प्रशोधन र पुनः प्रयोग गर्ने हो भने ती सबै फोहोर साइटमा लग्न नपर्ने उनको धारणा छ।

काठमाण्डूको ३० देखि ४० प्रतिशत मात्र फोहोर बञ्चरेडाँडामा पुर्‍याउने हो भने त्यस क्षेत्रले आगामी ४० देखि ५० वर्ष धान्ने बताइन्छ।

"पचास वर्षसम्मको लागि डिजाइन गरिएको हो। तर फोहोर वर्गीकरण गरेर नलगेको अवस्थामा २० देखि २५ वर्षमै भरिने देखिन्छ," बोहराले भने।

त्यस क्षेत्र र मानव बस्तीको परिधि ३०० मिटर छ।

'बफर' क्षेत्र जति टाढा भएपनि फोहोरलाई खुला आकाशमा राख्ने र सबै फोहोर एकै ठाउँ मिसाउने हो भने वातावरण र दृश्य प्रदूषणसँगै लीचटका कारण पानीको स्रोत समेत प्रदूषित हुने चेतावनी विज्ञहरू दिन्छन्।

"प्रदूषण हावामार्फत् फैलने र लीचट बगेर पानीसम्म पुग्छन्। त्यस्ता समस्या सम्बोधन गर्नका निम्ति पूर्वाधार विकासमै जोड दिनु पर्‍यो," डा. पाठकले भने।