तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सहरमा खुला ठाउँ: 'सास फेर्ने ठाउँ पनि नहोला जस्तो भइसक्यो'
- Author, स्वेच्छा राउत
- Role, बीबीसी न्यूज नेपाली
लामो समयको विदेश बसाइँपछि नेपाल फर्किएका अविनाश प्रधानलाई काठमाण्डू उपत्यकामा घरैघर देख्दा अत्यास लाग्यो।
यहाँ आएपछि आफूलाई सधैँ खुला र हरियाली ठाउँको अभाव खट्किएको प्रधान सुनाउँछन्।
उनले विदेशमा ठूलाठूला सहरहरूमा समेत हरिया पार्कहरू देखेका थिए। निःशुल्क पस्न पाइने ती खुला ठाउँहरूमा समय व्यतीत गर्दा, कसैसँग भेट्दा, धनीदेखि गरिबसम्म सबै वर्गका मानिसहरूको तौरतरिका नियाल्दा आफूलाई आनन्द महसुस हुने उनी सुनाउँछन्।
तर नेपालमा त्यस्तो अवस्था थिएन। सानेपाको नीरभवनस्थित आफ्नै घरनजिक रहेको खुला ठाउँमा हरियाली होइन, फोहोरको डङ्गुर देखे। सार्वजनिक जग्गाको त्यो अवस्था टुलुटुलु हेरेर बस्न सकेनन्। टोल वरपरका केही मानिसहरूसँग मिलेर योजना बनाए: त्यस रिक्त स्थानलाई हरियाली पार्कमा परिणत गर्ने।
कोरोनाभाइरसको महामारी सुरु हुनुभन्दा एक महिनाअगाडि उनीहरूको समूह प्रस्ताव बोकेर ललितपुर महानगरपालिका वडा नं ३ को कार्यालय पुग्यो।
"वडाले राम्रो प्रतिक्रिया पनि दिएन र हामीसँग सहकार्य गर्न पनि तयार भएन," उनले सुनाए।
"वडाले पनि त्यस ठाउँलाई पार्क नै बनाउने कुरा रहेछ। तर कसरी र कस्तो बनाउने भन्नेमा हाम्रो मत बाझियो।"
स्थानीय समूह चाहन्थ्यो: आफ्नो ठाउँमा बन्ने पार्क हरित, संरचनारहित र हरेकको पहुँच हुने गरी खुला रहोस्।
वडाको योजना थियो: पार्कलाई वरपर फलामले बार्ने। एउटा भवनजस्तो बनाएर चिया पसल राख्न भाडामा दिने। जो भाडामा बस्छ, पार्क रेखदेखको जिम्मेवारी उसैलाई दिने।
दुवै पक्ष एकअर्काको योजनामा सहमत हुन गाह्रो भयो।
"सबैका लागि खुला हुनुले उचित प्रयोग हुन्छ भन्ने हाम्रो कुरा थियो। सबै कुरा व्यावसायिक हिसाबबाट सोच्नु पर्दैन भन्ने विषयमा सिर्जनात्मक विवाद भइरह्यो," प्रधानले भने।
करिब एक वर्षसम्म पटकपटकको वादविवाद, चरणबद्ध छलफल र स्थानीयकै खर्चमा पार्क निर्माण बनाउनु पर्ने बताएपछि बल्ल सहमति भयो।
यद्यपि वडा कार्यालयले नै निर्माण खर्च स्वरूप केही रकम उपलब्ध गरायो। दिइएको बजेट अपुग भएपछि मात्र स्थानीयहरूले सङ्कलन गरेको रकम प्रयोग गरेको प्रधानले बताए।
त्यसपछि वर्षौँदेखि खाली ठाउँमा शान्तभवन पार्क बन्यो।
"मानिसहरू घाम तापिरहेको, बालबालिका खेलिरहेको परैबाट देखिन्छ। आफूले सोचेजस्तै पार्क बनेको र त्यसको प्रयोग भएकोमा खुसी लाग्छ," उनले सुनाए।
"डिजाइनले धेरै फरक पार्दो रहेछ। जति ताल्चा लगायो त्यति नै मानिसहरूलाई अपनत्व महसुस नहुने, फोहोर फाल्ने र बिगार्ने जस्तो हुँदो रहेछ।"
नियमित सरसफाइको व्यवस्थापन भइसकेको छैन तर पनि त्यहाँ खासै फोहोर नभएको प्रधान सुनाउँछन्।
"खुला छोडिदिँदा मानिसहरूले त्यस ठाउँलाई आफ्नो ठानेका छन्। यस्ता ठाउँ जनस्वास्थ्य र वातावरण दुवैको दृष्टिकोणबाट अझै धेरै आवश्यक छ," उनले भने।
प्रधानसँग मिल्दो मत राख्छन् आर्किटेक्ट तथा सहरी योजनाकार योगेश्वर पराजुली।
"खाली ठाउँ नराखी घरहरू मात्र बनाएर त कामै भएन। सास फेर्ने ठाउँ पनि नहोला जस्तो भइसक्यो," पराजुली भन्छन्।
बढ्दो भौतिक संरचना र खुला ठाउँहरू मासिँदै गएको अवस्थामा काठमाण्डू उपत्यकाभित्र आवश्यक खुला ठाउँ निर्माण र संरक्षण गर्न सकिने विषयमा केही जानकारहरू संशय व्यक्त गर्छन्।
काठमाण्डूमा खुला ठाउँ कति सम्भव?
आर्किटेक्ट अरुणदेव पन्त सरकारले सरकारी स्वामित्वका जग्गाहरू प्रयोग गरेर खुला ठाउँ कायम राख्न सक्ने बताउँछन्।
तर प्राय सार्वजनिक र पर्ती जग्गाहरूको प्रयोग व्यवसाय केन्द्रित भएको बताउँछन्।
"सार्वजनिक र पर्ती जग्गाको प्रयोगमा हरित पार्कहरू बनाउने विकल्प छन्। तर ती सबै मन्त्रालय, सरकारी निकाय वा संस्थाहरूको नियन्त्रणमा छन्। ती भाडा उठाउने हिसाबले प्रयोग भएका छन्," पन्तले भने।
"ठूलाठूला व्यावसायिक भवनहरू त निजी क्षेत्रले जग्गा किनेर र संरचना बनाएर सञ्चालन गर्नुपर्छ। सरकारले भाडामै दिन्छ भने पनि ८० प्रतिशत हरित खुला ठाउँ छोडी बाँकी २० प्रतिशत दिनु पर्ने हो।"
धेरै देशहरूमा जनसङ्ख्या र क्षेत्रफलको आधारमा खुला ठाउँ छोड्नु पर्ने मापदण्ड भए पनि नेपालमा त्यसो नभएकाले समस्या निम्तिएको उनको ठहर छ।
प्रति एक हजार व्यक्ति बराबर सीमित प्रतिशत खुला ठाउँ राख्नु पर्ने योजना बन्ने हो भने काठमाण्डू उपत्यकाजस्ता सहरहरूमा खुला ठाउँ वा हरियाली चौरहरूको अभाव घट्ने उनी बताउँछन्।
"सरकारले संयुक्त आवास क्षेत्रका निम्ति मात्र खुला ठाउँ छोड्नु पर्ने नियम लगाएको छ। नेपालमा बनेका कुल घरहरूमध्ये करिब पाँच प्रतिशत मात्र निजी आवास अन्तर्गतका छन्," उनले भने।
"ती सीमित योजनामा लगाइएको नियम देखाएर हामीले खुला क्षेत्र छोड्न आह्वान गरेका छौँ भन्न मिल्दैन। बाँकी ९५ प्रतिशतलाई हेर्नु पर्यो। उनीहरूका लागि खेल्ने, बस्ने, व्यायाम गर्ने ठाउँ खोइ? समस्या सम्बोधन गर्नु पर्यो।"
उनले जनसङ्ख्या र क्षेत्रफलको आधारमा खुला ठाउँ राख्ने मापदण्ड बनाउनु पर्ने र पार्कलगायत अन्य हरित चौर निर्माणका लागि सरकारी स्वामित्वमा रहेको जग्गाको प्रयोगमै जोड दिए।
'पार्क खुला भएन'
उनले केही स्थानीय तहले बनाएका पार्कहरू पनि खुला नराखिएको गुनासो उनले राखे।
"भारतको नयाँ दिल्ली जस्तो उच्च जनसङ्ख्या भएको ठाउँमा समेत हरेक टोलमा साना वा ठूला पार्क छन्। हाम्रोमा त आठ आनामा बनेको पार्कमा पनि द्वार, मण्डप र पाटी बनाइदिएर भलिबल खेल्ने ठाउँ बन्द गरिन्छ।"
"यस्ता योजना जनताका लागि होइन ठेकेदारको लागि आएजस्तो भएको छ," उनले भने।
सरकार साथै आम मानिसले पनि आवासीय क्षेत्रमा खुला ठाउँ, हरित पार्कहरूको महत्त्व बुझ्न र त्यसको विकासका निम्ति जनस्तरबाट सहयोग पुर्याउनु पर्ने केही स्थानीय अधिकारीको राय छ।
खुला चौर र सुविधासम्पन्न संरचना?
काठमाण्डूबाट शङ्खमुल पुल पारी पुगेसँगै सुरु हुने शङ्खमुल आवास क्षेत्रमा एक रोपनी १० आना क्षेत्रफलको खुला चौर छ। उक्त चौरका लागि आवास क्षेत्र बनाउन जग्गा एकीकृत गर्दा त्यहाँका हरेक मानिसले केही क्षेत्रफल योगदान गरेका हुन्।
त्यस जग्गामा हरियो दुबो रोपिएको छ। एउटा कुनामा घामपानी छल्नका लागि बस्ने ठाउँ निर्माणाधीन छ। मानिसहरू त्यहाँ बिहानबेलुका हिँडडुल गर्न निस्कन्छन्। बालबालिका निर्धक्क खेल्न आउँछन्। वृद्धवृद्धा टहलिन्छन्।
स्थानीय स्वयम्भू शाक्यका अनुसार आफ्नो क्षेत्रमा हरियाली कायम राख्न, व्यायाम वा खेलकुदजस्ता गतिविधि गर्न र भूकम्पजस्तो आपत्कालीन अवस्थामा आश्रय स्थल बनाउने उद्देश्यले त्यो क्षेत्र छुटाइएको हो।
"वरपर बस्ने बासिन्दाको हितको लागि खुला ठाउँ राख्ने हो। भूकम्प र महामारीले यस्तो ठाउँको महत्त्व बुझायो। तर यही खाली ठाउँ अहिले स्थानीयहरूबीच विवादको विषय बनेको छ," उनले भने।
खुला ठाउँ राख्ने नराख्ने विवाद
उनका अनुसार हाल त्यही खुला क्षेत्रमा सामुदायिक मुटुरोग अस्पताल बनाउने कुराले विवाद चर्किएको हो।
मणिडोल टोल सुधार समितिको नेतृत्वमा प्रस्तावित 'अस्पताल कि आवासीय क्षेत्रमा खुला ठाउँ' भन्ने विषयको पक्ष र विपक्षमा स्थानीय बासीहरू विभाजित भएका हुन्।
"अस्पताल रिङरोडभरि जत्ति पनि छन्। नभएको त खाली ठाउँ हो। त्यो पनि अतिक्रमण गर्ने कुरा हुँदै छ," ६८ वर्षीय स्वयम्भूले गुनासो गरे।
टोलभित्रै 'खुला ठाउँ संरक्षण समूह' सङ्गठित भएका छन्। उनीहरू वातावरण, स्वास्थ्य र सामाजिक विकासको दृष्टिकोणबाट त्यस खाली चौरलाई खाली नै छोड्नु पर्छ भन्ने कुराको पैरवी गरिरहेका छन्।
"सहर कङ्क्रिटको भइसक्यो। हालसम्म हाम्रो टोलमा बालबालिका खेल्ने, बिहानबेलुका हिँड्न निस्कने ठाउँ छ। हरियाली देखिन्छ। यो पनि नरहे स्वच्छ हावा खान कहाँ निस्कने?" समूहकी संयोजक श्वेता शाक्य प्रश्न गर्छिन्।
पहिले फोहोर, निर्माण सामग्री थुपारिएको र घाँसका बोटहरू झाँगिएको त्यस चौरलाई स्थानीय बासिन्दाहरू मिलेर सफा गरी बत्ती जडान गरेको, बस्ने ठाउँ बनाएको र बार लगाई रङ्गरोगन गरेको सुनाइन्।
"यहाँको खाली ठाउँ बगैँचा, खेलकुद गर्ने ठाउँ वा घाम ताप्ने ठाउँ मात्र होइन। आफ्नै लागि त हो नि भनेर साँचेकाहरूको भावनासँग जोडिएको ठाउँ हो," उनले भनिन्।
मणिडोल टोल विकास समितिका उपाध्यक्ष दीपेश तन्डुकार भने आवास क्षेत्रका केही मानिसहरूकै सहमतिमा अस्पताल निर्माणको काम अघि बढेको बताउँछन्।
"केही वर्षअघि नै नेपाल हार्ट फाउन्डेसन र रोटरी क्लबसँगको समन्वयनमा अस्पताल बनाउने सम्झौता भएको हो। अहिले त्यही काम अगाडि बढाउन खोज्दा केही स्थानीयले खुला ठाउँ मास्न नपाइने बताउनु भएको छ," तन्डुकारले भने।
यस विषयमा थप छलफल गरिरहेको र हरेकको मतको समीक्षा गरी समस्या सुल्झाउन जोड दिइरहेको बताए।
आर्किटेक्ट पन्त भने यस विषयमा खुला चौरको पैरवी गरिरहेकाहरूको पक्षमा धारणा राख्छन्।
उनले भने,"खाली ठाउँ खाली नै हो। त्यसमा मन्दिर, अस्पताल, पाटी र द्वारलगायत संरचना बनाउने होइन। अस्पताल बनाउनका लागि फरक जग्गा लिनु पर्यो।"
यस्ता समस्या हल गर्न खुला ठाउँसम्बन्धी मापदण्ड नै तय हुनु पर्ने उनी बताउँछन्।
स्थानीय तहको पहल
काठमाण्डू महानगरपालिकाले आफ्नो क्षेत्रका अतिक्रमित सार्वजनिक जग्गाको पहिचान गरी त्यसको संरक्षण, खुला क्षेत्र विकास र हरियाली प्रवर्द्धन गर्ने कार्यमा जोड दिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए।
"सार्वजनिक जग्गाहरूलाई नगरपालिकाको अधीनमा ल्याएर फरक फरक किसिमका पार्कहरू बनाएका छौँ। यस कार्यका लागि हरेक वडा कार्यालयले समन्वयन गर्यो," उनले बताए।
डङ्गोलका अनुसार हरेक वडामा क्षेत्रफलका अनुसार साना ठूला गरी १० देखि १५ वटा पार्क निर्माण योजना रहेको उनले बताए।
त्यस्तै केहीमा सामान्य बगैँचा, बालबालिका केन्द्रित चौर, ज्येष्ठ नागरिक केन्द्रित चौर, खेलकुदका लागि खाली ठाउँ तय गरिएको उनको दाबी छ।
"आम मानिस सन्तुष्ट छन्। खुला स्थान व्यवस्थापन र संरक्षणमा उनीहरूको पनि साथ र सहयोग छ," उनले भने।
ललितपुर महानगरपालिकाले चाहिँ निर्माण भइरहेका पार्कहरूलाई संरचनारहित हरित परियोजनामा बढी जोड दिइरहेको प्रवक्ता राजु महर्जन बताउँछन्।
"खुला ठाउँलाई खुला राख्ने भनेरै उद्यान बनाइरहेका हौँ। सार्वजनिक जग्गाको सदुपयोग गरेका छौँ र जनस्तरबाट त्यसको प्रयोग भएको छ," महर्जनले भने।
यद्यपि काठमाण्डू र ललितपुरमा बनेका पार्कहरू उदाहरणीय नभएको आफूलाई सामाजिक अभ्यास कलाकार भनेर चिनाउने मिलन राई बताउँछन्।
उनले वातावरण संरक्षणका लागि पैरवी गर्दै आएका छन् र विभिन्न ठाउँहरूमा उद्यान निर्माणमा जुटेका छन्।
"वातावरण, खुला ठाउँहरू र पार्कहरूप्रति हाम्रो दृष्टिकोण र मानसिकता परिवर्तन गर्नु नै चुनौतीपूर्ण छ। यस समस्यालाई सम्बोधन नगरी हामीले दिगो र मानिस तथा अन्य प्राणीलाई लाभ हुने पार्कहरू विकास गर्न सक्दैनौँ," उनले भने।
कठोर प्रणाली र साँघुरो मानसिकतामा काम गर्नु पर्ने बाध्यतालाई उनले समस्याको कारणका रूपमा व्याख्या गरे।
"यो प्रणाली सधैँ यस्तै हुनुपर्छ भन्ने छैन। हामीले सामाजिक यथास्थितिलाई चुनौती दिनु छ र अहिलेभन्दा राम्रो साझा भविष्यको परिकल्पना गर्नु छ।"