तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अग्निपथ: भारतमा विवादित सैन्य भर्ती योजनाको विरोध जारी, विभिन्न राज्यमा हडताल
भारतमा नयाँ सैनिक भर्ती योजनाको विरोधमा दशौँ हजार जागिरका आकाङ्क्षीहरूले बन्दको आह्वान गरेका छन्। यसअघि उक्त योजनाको विरोधमा भएका प्रदर्शनहरू हिंसात्मक भएका थिए।
'भारतबन्द' को दिन सोमवार केही राज्यले इन्टरनेट सेवा अवरुद्ध गरिदिएका छन् भने रेल तथा बस सेवा पनि ठप्प भएको छ।
चारवर्षे निश्चित अवधिका लागि भर्ना लिनेगरी ल्याइएको अग्निपथ नामक योजना खारेज गरी पुरानै स्वरूपमा भर्ती गरिनुपर्ने माग प्रदर्शनकारीहरूको छ।
सेनामा भर्ना हुन चाहने युवाहरूले नयाँ योजनाले सुरक्षित जागिर खाने आफ्नो सपना भताभुङ्ग पारिदिएको बताएका छन्।
अहिले उनीहरू विभिन्न राज्यका सडकमा भेला भएर सवारीसाधनको आवतजावतमा अवरोध गर्ने र रेलमा आगजनी गर्ने जस्ता गतिविधि गरिरहेका छन्।
विपक्षीको समर्थन, सरकार योजनामा दृढ
कैयौँ विपक्षी राजनीतिक दलहरूले प्रदर्शनप्रति आफ्नो समर्थन जनाएका छन्।
तर सरकारले उक्त योजना खारेज गर्न अस्वीकार गरेको छ।
तर दिल्लीले प्रदर्शनकारीको आशङ्कालाई साम्य पार्ने प्रयास गरिरहेको जनाएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले सेनामा नयाँ भर्ती गर्नेगरी भएका परिवर्तनको घोषणा गरेपछि गत साता उत्तर भारतीय राज्यहरू उत्तरप्रदेश र बिहारमा प्रदर्शनहरू सुरु भएका थिए।
तर कैयौँ अन्य राज्यमा पनि विरोध चर्किएको छ।
हजारौँ युवाहरूले रेलका डिब्बामा आक्रमण गर्ने, टायर बाल्ने र सुरक्षाकर्मीसँग भिड्ने गरेका छन्।
शुक्रवार प्रहरीसँग झडप हुँदा दक्षिणी राज्य तेलङ्गानामा कम्तीमा एक व्यक्तिको मृत्यु हुनुका साथै कैयौँ अन्य घाइते भएका थिए।
सोमवारको बन्द अगाडि कैयौँ राज्यहरूले सावधानीस्वरूप ठूला जमघटमा प्रतिबन्ध लगाउने, विद्यालय बन्न गर्ने र केही जिल्लामा इन्टरनेट सेवा रोक्ने निर्णय गरेका थिए।
झारखण्ड राज्यमा विद्यालयको परीक्षा सारिएको छ। बिहारमा ३५० वटा रेलयात्रा रद्द गरिएको छ।
भविष्यको चिन्ता
प्रदर्शनकारीहरूका भनाइमा अस्थायी रूपमा सेना भर्ती गर्ने सरकारको योजनाले उनीहरूलाई निश्चित तलब र निवृत्तिभरणसहितको सेनाको आकर्षक जागिर खाने अवसरबाट वञ्चित गरिदिन सक्छ।
उनीहरूले सरकारलाई नयाँ योजना त्यागेर कम्तीमा दुई दशक कायम रहने र अन्त्यमा निवृत्तिभरण पाइने जागिर दिन माग गरेका छन्।
भारतका साना सहर र गाउँमा तन्नेरीहरू सैनिक बन्नका लागि वर्षौँ तयारी गर्छन्।
सेनाको जागिर भारतमा प्रतिष्ठा, नियमित आम्दानी र केहीका लागि गरिबीबाट निस्किने माध्यम बन्छ।
अग्निपथ नामको नयाँ योजनाले साढे १७ देखि २१ वर्षबीचका व्यक्तिहरूलाई लक्षित गरेको छ।
यो योजनाअनुसार छानिएका आवेदकहरूले चार वर्षका लागि सेनामा भर्ती हुन पाउनेछन्। तर त्यसपछि तीमध्ये २५ प्रतिशतले मात्र सेवा जारी राख्न पाउनेछन्।
महिनाको तालिम पाएपछि उनीहरूले बाँकी साढे तीन वर्ष काममा खटिनुपर्नेछ।
त्यस अवधिमा मासिक तलब ३० हजार भारतीय रुपैयाँबाट सुरु भएर थप सेवासुविधा जोडिँदै चारवर्षे सेवाको अन्त्यमा उनीहरूले ४० हजार भारतीय रुपैयाँसम्म पाउनेछन्।
किन ल्याइयो यस्तो योजना?
यस सुधार योजना सेनाको बढिरहेको तलब र निवृत्तिभरणमा खर्च घटाउने उद्देश्य राखेको छ। भारतीय सेनाको आधाजसो बजेट सैनिकको तलब र निवृत्तिभरणमा खर्च हुने गरेको छ।
नयाँ योजनाले सैन्य आधुनिकीकरणको काममा आर्थिक भार कम गर्ने ठानिएको छ।
सरकारले यसले सेनालाई युवामय बनाउने समेत बताएको छ।
प्रदर्शनकारीहरूलाई शान्त पार्ने प्रयासस्वरूप सङ्घीय सरकारले बिहीवार अबेर यो वर्षका लागि मात्र भनेर २३ वर्षसम्मले पनि यस कार्यक्रमअन्तर्गत रहेर आवेदन दिन पाउने जनाएको छ।
आइतवार गृह मन्त्रालयले चार वर्ष पूरा गर्नेहरूका लागि अर्धसैनिक बलहरू र सेनाको एक एकाइ आसाम राइफल्समा १० प्रतिशत आवेदन सुनिश्चित गरिने जनाएको छ।