भारत: उत्तर प्रदेश राज्यमा मुस्लिम नेताको घर भत्काइयो, प्रतिशोध लिएको भाजपा सरकारमाथि आरोप

भारतको उत्तर प्रदेश राज्यमा धार्मिक प्रदर्शनले हिंसात्मक रूप लिएपछि त्यसमा सहभागी केही मुस्लिम नेताहरूको घर प्रशासनले भत्काइदिएको छ।

सत्तारूढ भारतीय जनता पार्टीका दुई पूर्वनेताहरूले इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदबारे अपमानजनक टिप्पणी गरेपछि भारतमा मुस्लिम समुदाय आन्दोलित भएको छ।

कतिपय राज्यहरूमा प्रदर्शनले हिंसात्मक रूप लिँदा प्रदर्शनकारीहरूले तोडफोड पनि गरेका छन्।

प्रदर्शनका क्रममा नेपालको सीमावर्ती राज्य उत्तर प्रदेशमा ३०० जना पक्राउ परेका छन्।

कसको घर भत्काइयो?

स्थानीय प्रशासनले सप्ताहान्ततिर मुस्लिमहरूका तीनवटा घर भत्काएको छ।

भत्काइएका घरहरू गैरकानुनी रूपमा बनाइएको दाबी गरिए पनि घरधनीहरूले त्यसको खण्डन गरेका छन्।

घर भत्काउने कदमको विपक्षी दलका नेताहरूले विरोध गरेका छन्।

उनीहरूले मुख्यमन्त्री योगी आदित्यनाथ नेतृत्वको सरकारले अल्पसङ्ख्यक मुस्लिम समुदायलाई तारो बनाएको आरोप लगाएका छन्।

आलोचकहरू सन् २०१४ मा हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टी सरकारमा आएपछि देशमा धार्मिक विभाजन तीव्र भएको बताउँछन्।

विगत केही वर्षयता घृणा फैलाउने र अपमानजनक अभिव्यक्ति र मुस्लिम समुदायमाथिको आक्रमणमा व्यापक वृद्धि भएको छ।

मुख्यमन्त्री आदित्यनाथका सञ्चार सल्लाहकार मृत्युञ्जय कुमारको एउटा ट्वीटले मानिसहरूमा आक्रोश पैदा गरेको छ। उनले बुल्डोजरले एउटा भवन भत्काउँदै गरेको तस्बिर ट्वीट गर्दै भनेका छन्ः "अनियन्त्रित तत्त्वहरूले याद गर, हरेक शुक्रवारपछि शनिवार आउँछ।"

भत्काइएकामध्ये दुईवटा घर शुक्रवारको प्रार्थनापछि ढुङ्गा प्रहारमा संलग्न भएको आरोप लागेका व्यक्तिको भएको बताइएको छ।

तेस्रो घर चाहिँ राजनीतिज्ञ जावेद अहमदको भएको बताइएको छ जसलाई प्रदर्शनको योजनाकार भएको आरोप छ।

प्रशासनको आफ्नै दाबी

अहमदकी छोरी आफ्रीन फतिमा प्रसिद्ध मुस्लिम अधिकार अभियानकर्मी हुन्। उनी विवादास्पद नागरिकतासम्बन्धी कानुनको विरोधमा सहभागी भएकी थिइन्।

अलाहाबाद उच्च अदालतका एक पूर्वन्यायाधीशले द इन्डियन एक्सप्रेस अखबारलाई अहमदको घर भत्काउने कार्य "पूर्ण रूपमा गैरकानुनी" भएको बताएका छन्।

"उक्त घरको निर्माण नै गैरकानुनी भएको मान्ने हो भने पनि घरका निवासी हिरासतमा रहेको समयमा आइतवार उक्त घर भत्काउन अनुमति मिल्दैन र करोडौँ भारतीयहरू यस्तै घरमा बस्ने गरेका छन्," पूर्वप्रधान न्यायाधीश गोविन्द माथुरले भने।

घर भत्काउने कार्यमा संलग्न प्रयागराज डेभलपमन्ट अथोरिटीका एक अधिकारीले यसअघि मे महिनामै कार्यालयमा हाजिर हुन सूचना जारी गरिएको बताएका छन्।

तर फातिमाले यसको खण्डन गर्दै शनिवार घरमा सूचना टाँस गरिएपछि मात्रै आफूहरूलाई जानकारी भएको दाबी गरेकी छन्।

कानुन व्यवसायीहरूको एउटा समूहले घर भत्काउने कार्य कानुनविपरीत भएको भन्दै उच्च अदालतमा निवेदन दिएका छन्।

"आरोपित वा उनकी श्रीमतीले गैरकानुनी निर्माणको पत्र यसअघि बुझेका थिएनन्," पत्रमा भनिएको छ।

भारतमा नौलो होइन

जातीय दङ्गापछि प्रदर्शनमा आरोपितहरूको घर भत्काएर प्रतिशोध लिएको आरोप उत्तर प्रदेश वा भाजपाले नेतृत्व गरेका प्रदेशहरूमा नौलो भने होइन।

विज्ञहरूले स्वीकृति दिने विधिबारे प्रश्न उठाएका छन्।

"तिमीले एउटा समुदायका मानिसहरूलाई असमानतापूर्वक र प्रक्रिया पूरा नगरी दण्ड दिइरहेका छौ। यो गैरकानुनी मात्र होइन, यसले भयानक दृष्टान्त पनि स्थापित गर्छ," एक वरिष्ठ वकिल असहर वार्सीले एप्रिलमा बीबीसीसँग भनेका थिए।

भाजपाका पूर्वनेताहरूको टिप्पणीपछि सुरु भएको विवाद अझै सेलाउने सङ्केत देखिएको छैन।

विवाद के थियो

भाजपाकी प्रवक्ता नूपुर शर्माले दुई साताअघि एक टेलिभिजन बहसका क्रममा पैगम्बर मोहम्मदबारे विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उनको भिडिओ भाइरल भएपछि कतैकतै विरोधप्रदर्शन भएको थियो।

तर भाजपाकै दिल्ली सञ्चार एकाइका प्रमुख नवीन कुमार जिन्दलले यस विषयमा थप उत्तेजना फैलाउने सामग्री ट्वीट गरे।

त्यसपछि यो विषयले विश्वव्यापी रूप लियो र एक दर्जनभन्दा बढी इस्लामिक देशहरूले उक्त टिप्पणीको निन्दा गरेपछि भारतलाई कूटनीतिक अप्ठ्यारो पर्‍यो।

भाजपाले शर्मालाई पार्टीबाट निलम्बन र जिन्दललाई पार्टीबाट निष्कासन गरेको छ। आफूलाई दुर्व्यवहार र धम्की आएको बताएपछि शर्मा र उनको परिवारलाई दिल्ली प्रहरीले सुरक्षा दिएको छ।

तर भाजपाका धेरै कार्यकर्ता र समर्थथकले उनीप्रति अनलाइन माध्यमबाट सहानुभूति व्यक्त गरेका छन्।

उनको भनाइपछि सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि उनकै पार्टीका सहकर्मीहरूले शर्माको समर्थनमा ट्वीट गरेका छन्।

शर्माको पुत्ला बनाएर टाउको काटेको भिडिओ पोस्ट गरेका कश्मीरका एक यूट्यूबरलाई प्रहरीले पक्राउ गरेको छ।

प्रदर्शनमा चलाइएको गोली लागेर झारखण्डमा दुई जनाको मृत्यु भएको छ।